जलवायु परिवर्तन बजेट « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

जलवायु परिवर्तन बजेट


भुवन ज्ञावाली

२८ श्रावण २०७६, मंगलबार


विषय प्रवेशः

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रिया भित्र पर्ने गतिविधि हो। दीर्घकालमा हुने वर्षा, तापक्रम, वायु, आद्रता र वायुमण्डलीय चापमा हुने अनपेक्षित तथा प्रतिकुल परिवर्तन नै जलवायु परिवर्तन हो ।

  • विश्वव्यापी तापक्रम वृद्धि अर्थात् उष्णीकरण (ग्लोबल वार्मिङ) ले जलवायुको विद्यमान ढाँचामा अस्वभाविक परिवर्तन ल्याएको छ ।
  • वायुमण्डलमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ ।
  • जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो।जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न।

जलवायु परिवर्तन बजेटः

जलवायु परिवर्तनको असर न्यूनीकरण र प्रभावलाई कम गर्नका लागि जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरुको समन्वयात्मक ढंगले प्रभावकारी रुपमा कार्यान्वयन गर्न वित्तीय लगानी र वित्तीय रणनीतिक संरचनाको विकास गर्नु जरुरी हुन्छ । उक्त जलवायु परिवर्तनको असरलाई असर न्यूनीकरण र प्रभावलाई कम गर्नका लागि छुट्याईएको बजेटलाई जलवायु परिवर्तन बजेट भनिन्छ ।

  • जसले लगानीको सुनिश्चितता कायम गर्नुका साथै विभिन्न स्रोतबाट प्राप्त रकमको लगानीलाई पारदर्शी बनाउन सघाउ पुर्‍याओस्।
  • नेपालमा जलवायु परिवर्तन र त्यसका चुनौतीहरु देखा पर्न थालेको र यसबाट जलस्रोत, कृषि तथा खाद्यान्न, वन तथा जैविक विविधता, भौतिक पूर्वाधार, जनस्वास्थ्य र पर्यटन लगायत जीविकोपार्जनका संसाधनहरु अत्यधिक मात्रामा प्रभावित हुंदै गइरहेकोले जलवायु परिवर्तनको विषय महत्वपूर्ण र चिन्ताको विषय बनेको छ।
  • जलवायु परिवर्तनको असरले पारेको समस्याको सामना गर्न तयार गरिएको जलवायु परिवर्तन नीति, २०६७ ले जलवायु परिवर्तनको प्रतिकुल प्रभाव न्यूनीकरण गर्दै जलवायु अनुकुलित हुँदैुं, न्यून कार्वन उन्मुख सामाजिक आर्थिक विकास पथलाई अवलम्बन गर्दै जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्रमा भएको प्रतिवद्बता अनुरुप सहयोग तथा सहकार्यको प्रवर्द्बन गरी जीवनस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ।
  • जलवायु परिवर्तनका असर र प्रभावको न्युनिकरण र अनुकुलनको आवश्यकता समेतलाई दृष्टिगत गरी जलवायु परिवर्तन नीति, २०६७ मा भएको ब्यवस्था अनुसार राष्ट्रिय अनुकुलन कार्यक्रम (National Adaptation Program of Action, NAPA) लाई विकास एजेण्डाको रुपमा कार्यान्वयनमा ल्याउन र जलवायु परिवर्तन सम्बन्धी सबै प्रकारका स्थलगत कार्यक्रमहरु कार्यान्वयन गर्दा यस क्षेत्रको कूल बजेटको न्यूनतम ८०  प्रतिशत भन्दा बढी रकम स्थानीय स्तरमा पुग्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्नु पर्ने हुन्छ। यसका लागि स्थानीय निकायलाई जाने अनुदान रकमबाट जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमका लागि समेत निश्चित रकम छुट्याई कार्यक्रम संचालन गर्ने ब्यवस्था मिलाउनु जरुरी छ।
  • लगानीको वित्तीय रणनीतिक संरचना निर्माण गर्ने सन्दर्भमा जलवायु परिवर्तनका क्षेत्रमा हाल भइराखेका सार्वजनिक खर्च र संस्थागत पुनरावलोकन (Climate Public Expenditure and Institutional Review-CPEIR) ले केही मार्गदर्शन गर्न सक्ने भएकोले विकास बजेटमा जलवायु परिवर्तन बजेट कोड प्रयोग गर्ने गरिएको छ ।
  • आर्थिक वर्ष २०७०/७१ देखि जलवायु परिवर्तन बजेट कोड कार्यान्वयनमा ल्याइएको छ।
  • जलवायु परिवर्तन बजेटलाई प्रत्यक्ष लाभ, अप्रत्यक्ष लाभ र तटस्थ गरी तीन भागमा रकम छुट्याउने गरिन्छ ।

आर्थिक वर्ष २०७६/७७  को जलवायु परिवर्तन बजेट अनुसार गरिएको वित्तीय व्यवस्थाः

क्र.सं.जलवायु परिवर्तन बजेटरकम (लाखमा)प्रतिशत
1.प्रत्यक्ष लाभ६९८४२१५.२१
2.अप्रत्यक्ष लाभ३८४०३७५२५.०५
3.तटस्थ१०६९०८७५६९.७४

 जलवायु परिवर्तन बजेट कोडको आवश्यकता

जलवायु परिवर्तन सम्बन्धी कार्यको समन्वय वन तथा वातावरण मन्त्रालयले गरिरहेको भएतापनि अन्य सरकारी निकाय तथा गैर सरकारी निकायहरुबाट पनि जलवायु परिवर्तनसंग प्रत्यक्ष सम्बन्ध भएका जलवायु अनुकुलन वा न्यूनिकरणका कार्यक्रमहरु संचालन हुँदै आएका छन्। यसको आवश्यकतालाई देहाय वमोजिम उल्लेख गर्न सकिन्छः

  • जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्रमा भएको प्रतिवद्बता अनुरुप सहयोग तथा सहकार्यको प्रवर्द्बन गरी जीवनस्तरमा सुधार ल्याउन, र कार्यान्वयन गराउन,
  • अनुसन्धान वा विकास निर्माण जस्ता अन्य शीर्षक अन्तर्गतका विकास कार्य भित्र जलवायु परिवर्तनलाई सम्बोधन गरी गरिएका कार्यमा भएको लगानी बारेको एकीकृत जानकारी उपलव्ध गराउन,
  • जलवायु परिवर्तनको क्षेत्रमा के कति लगानी भएको छ र के कति लगानीको आवश्यक छ भन्ने यकिन गर्न,
  • बजेटमा जलवायु परिवर्तनका कार्यक्रमहरु स्पष्ट नदेखिँदा जलवायु परिवर्तनका क्षेत्रमा भएका लगानीको अनुगमनमा कठिनाई हुने कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न
  • आगामी बर्षहरुमा जलवायु परिवर्तनका क्षेत्रमा लगानीको सुनिश्चितता गर्दै योजना तर्जुमा गर्न,
  • जलवायु परिवर्तनले विकासका सबै क्षेत्रलाई असर गर्ने र ती असरहरु एक आपसमा सम्बन्धित र आधारित समेत हुने भएकोले जलवायु परिवर्तनको प्रभावको सामना गर्न समुदाय लगायत संस्थाहरुको अनुकुलन क्षमता अभिवृद्धि गर्न
  • जलवायु परिवर्तन र विकासका ती क्षेत्र वीचका सम्बन्धका बारेमा सूचना र जानकारी बढाउँदै लैजान,
  • कुन कुन निकायका कुन कुन कार्यक्रम जलवायु परिवर्तनमा केन्द्रित छन् वा आगामी दिनमा जलवायु परिवर्तनमा कसरी केन्द्रित हुदै जानेछन् भन्ने बारे जानकारी उपलव्ध गराउन,
  • अनुकुलन क्षमता अभिबृद्धिका साथै लगानी समन्वयमा समेत सघाउ पुर्‍याउन,
  • जलवायु परिवर्तन र वातावरणका कार्यक्रमका बीच रहेको भिन्नता यकिन गरी जलवायु परिवर्तनमा मात्र भएको खर्च छुट्याउने आधारको विकास गर्न,

माथि उल्लेखित आवश्यकताहरुले जलवायु परिवर्तन बजेट कोड को प्रयोग गर्नु मनासिव हुने भएको र उक्त कोडको प्रयोगले जलवायु परिवर्तन सम्बन्धि कार्यमा भएको लगानीको अनुगमन तथा प्रभावकारी कार्यान्वयनमा समेत सहयोग पुग्ने भएकोले जलवायु परिवर्तन बजेट कोडको प्रयोग आवश्यक देखिन्छ।

जलवायु परिवर्तन बजेट निर्माण गर्दा त्यससँग सम्बन्धित कार्यक्रमहरु:

जलवायु परिवर्तनसँग सम्वन्धीत कार्यक्रमहरु जसले जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनको लागि मद्दत गर्दछ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

  • प्राकृतिक सम्पदाको दिगो व्यवस्थापन गर्ने तथा हरियाली अभिवृद्धि गर्ने कार्यक्रम,
  • भू-उपयोग योजना तथा जलवायु परिवर्तनको असरलाई थेग्न सक्ने (Resilient) भौतिक पूर्वाधारको विकास कार्यक्रम,
  • जलवायु परिवर्तनको कारणबाट मानव स्वास्थ्यमा देखा पर्ने नकारात्मक प्रभावलाई रोकथाम तथा नियन्त्रण गर्ने कार्यक्रम,
  • जलवायु परिवर्तनको कारणबाट खतरामा परेका जीव (Endangered Species) र जैविक विविधताको संरक्षण कार्यक्रम,
  • हरित गृह ग्यांसको उत्सर्जन कम गर्ने गरी गरिएको फोहरमैला व्यवस्थापन गर्ने कार्यक्रम,
  • ऊर्जा , सिंचाई र स्वच्छ खानेपानीका लागि जलस्रोतको दिगो उपयोग गर्ने कार्यक्रम,
  • खाद्य स्वच्छता (Safety) तथा सुरक्षा (Security) सँग सम्बन्धित कार्यक्रम,
  • जलवायु परिवर्तनका कारण उत्पन्न विपद जोखिमलाई न्यून गर्ने कार्यक्रम,
  • हरित गृह ग्याँसको उत्सर्जन कम गर्ने तथा न्यून कार्वन उत्सर्जन गर्ने ऊर्जाको प्रयोग गर्नका लागि पुनर्नविकरणीय एवं वैकल्पिक ऊर्जाको उत्पादन, प्रयोग तथा यस सम्बन्धी प्रविधिको विकास गर्ने कार्यक्रम,
  • जलवायु परिवर्तनसँग सम्बन्धित सूचना, शिक्षा, सञ्चार, अनुसन्धान तथा विकास एवं तथ्याङ्क संकलन गर्ने कार्यक्रम,
  • जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति, कानून एवं कार्य योजना तयार गर्ने कार्यक्रम,

जलवायु परिवर्तन बजेट कोड निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरुः

प्रस्तावित बजेटमा जलवायु परिवर्तन बजेट कोड प्रयोग गर्दा निम्न बमोजिम गर्नुपर्नेछ ।

  •  जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरुलाई मात्र जलवायु परिवर्तन बजेट कोडिङ गर्ने,
  •   प्रत्येक तहका सराकार तथा सरोकारवाला मन्त्रालय/विभाग/कार्यालयहरुले आ-आफ्नो प्रस्तावित वार्षिक कार्यक्रमको प्रत्येक कार्यक्रम जलवायु परिवर्तनसँग सम्बन्धित भए नभएको उल्लेख गर्ने (“छ” वा “छैन” लेख्ने)
  • वार्षिक कार्यक्रम/आयोजनाहरुको बजेट प्राथमिकता तथा रणनीतिक स्तम्भ संकेत फाराममा लैङ्गिक संकेत पछि जलवायु परिवर्तन संकेत महल थप्ने र प्रत्येक कार्यक्रमको लागि जलवायु परिवर्तन संकेत लेख्ने,

निश्कर्षः

जलवायु परिवर्तन हालको विश्वव्यापी समस्या हो । यो कुनै एक देशको सीमा भित्र मात्र सिमित छैन । जलवायु परिवर्तनको असरले पारेको समस्याको सामना गर्न तयार गरिएको जलवायु परिवर्तन नीति, नियम, कार्यक्रमहरुले जलवायु परिवर्तनको प्रतिकुल प्रभाव न्यूनीकरण गर्दै जलवायु अनुकुलित हुन आवश्यक छ । न्यून कार्वन उन्मुख सामाजिक, आर्थिक विकास पथलाई अवलम्बन गर्दै जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्रमा भएको प्रतिवद्बता अनुरुप सहयोग तथा सहकार्यको प्रवर्द्बन गरी जीवनस्तरमा सुधार ल्याउनु पर्दछ । जलवायु परिवर्तन वर्तमानलाई मात्र होइन हामी सवैको भविष्यको पनि भविष्यसंग जोडीएको हुनाले प्रभावकारी विश्वव्यापी सहकार्यको जरुरत देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस