मानवीय संबेदनालाई हराउँदै सामाजिक संजाल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मानवीय संबेदनालाई हराउँदै सामाजिक संजाल


नमुना कार्की

२८ असार २०७६, शनिबार


सामाजिक सञ्जालबाट अनभिज्ञ रहने हामी सायद कमै छौ होला आजको समयमा । विभिन्न सञ्जाल मध्ये फेसबुक, युट्युब निकै लोकप्रिय रहेको छ हामी नेपालीहरू माझ । बच्चादेखि बुढासम्मले निकै सक्रियता देखाउछ्न सामाजिक सञ्जालमा । प्रविधिसँग परिचित हुनु एकदम राम्रो कुरा हो । फेसबुक, युट्युबले विश्वका मानिसलाई एकापसमा चिनाउने तथा नजिक बनाउनुका साथै समाजमा लुकेर रहेका विभिन्न विकृति विसङ्गतिहरूलाई सबै सामु उजागर गरेर सम्पूर्ण नागरिकहरूलाई सचेत बनाउने कार्य पनि गरेको छ तर हरेको कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको हुन्छ भने झैँ सामाजिक सञ्जालको पनि नकारात्मक पक्ष धेरै छन्। सामाजिक सञ्जालको दुरुपयोग भन्दा अति उत्तम हुने कुरामा सायदै दुई मत छैन होला । आजभोलि सामाजिक सञ्जालले मानवीय संवेदनालाई हराउँदै गएको छ । आफू र आफ्नाहरू माझ रम्न छोडेर मानिसहरू हर समय सामाजिक सञ्जालमै व्यस्त हुन थालेका छन् । घर अफिस बाटो यतिसम्म कि टोइलेट जाँदासम्म पनि मानिसले आफूलाई यसबाट टाढा राख्न सकेका छैनन् । मानिसहरू वास्तविक जीवनको रमझमबाट पर पर हुँदै फेसबुक जस्तो काल्पनिक दुनियाँसँग नजिकिँदै छन् । दुनियाँ जोड्ने सामाजिक सञ्जालले आजकल धेरैको घर तोड्ने गरेको छ भने पारिवारिक माया मोह र सम्बन्धलाई कमजोर बनाउँदै गएको छ । बाहिरबाट हेर्दा सबै एउटइ छानाको भएपनी एकै परिवार भित्र सबैको छुट्टै छुट्टै सन्सार भएको छ । मानिसहरू सामाजिक सञ्जालमा यतिसम्म लिप्त भएका छन् कि उनीहरूलाई अरूको त परै जावोस आफ्नोसम्म प्रवाह हुन छोडेको छ । बस् कतिखेर कसरी हुन्छ सामाजिक सञ्जालमै तल्लीन हुने ध्याउन्न हुन थालेको छ।

आजकल घरमा कोही पाहुनाको आगमन भयो भने हालखबर भन्दा पहिले यहाँ वाइफाइको पासवर्ड छ कि छैन भनेर सोध्ने गरिन्छ । वाइफाइ र फेसबुक भएपछि पाहुना आएको हो कि कुनै शोकशभामा भेला भएको हो छुट्टाउन नै गाह्रो हुन्छ । तर हिँड्ने बेला लिइएको तस्बिर जब सामाजिक सञ्जालमा देखिन्छ तब चैँ प्रस्ट हुन्छ आफ्नोमा कोही पाहुना आएको रहेछन् भन्ने । मानिसलाई फेसबुकमा तस्बिर देखाउने हतारो यतिसम्म हुन्छ कि कोही मानिस दुर्घटनामा परेर चिच्याउदै गरेको छ भने त्यहाँ उसको करुण पुकार सुनेर सहयोग गर्नेभन्दा उसको कारुणिक तस्बिर लिने हातहरू अगाडि आइरहेको हुन्छ । यस्तो लाग्छ तेहा कुनै फिल्मको सुटिङग चलिरहेको छ । कोही मानिसको मृत्यु भयो भने लासको फोटो मिलाई मिलाई खिचेर रिप लेख्दै आफ्नो फेसबुकमा पोस्ट गर्ने गर्ने गर्दछन् । मृतकको आफन्तले देखे उनीहरूको हृदयमा कस्तो चोट पुग्छ भन्ने पटक्कै हेक्का राख्दैनन् । कोही मानिस बिरामी भेट्न आए भने उनीहरूलाई बिरामी को हालत जे जस्तो भएपनी एउटा सेल्फी लिनकै हतारो हुन्छ । बुवाआमाको खबरसम्म नसोध्ने छोराछोरीले आमाबुवाको तस्बिर फेसबुकमा पोस्ट गरिरहेका हुन्छन् । त्यो पनि विशेषगरि आमाबुवाको मुख हेर्ने दिनमा ।

मानिसमा रहेको मानवीय संवेदना यतिसम्म हराउँदै गएको छ कि आफूले नदेखेको व्यक्तिसँग च्याटमा बोलेको भरमा मान्छे नाङ्गो हुन तयार हुन्छन् । कतिपय युवायुवतीहरू सामाजिक सञ्जालको माध्यमबाट झुटो विवाह बन्धनमा बाँधिएका छन् भने कतिपय हत्या तथा मानसिक हिंसाको सिकार भएका छन् । सामाजिक सञ्जालले मानिसको सोच्ने शक्तिमा यतिसम्म ह्रास ल्याएको छ कि आजकल मान्छेहरू सबै सामु भाइरल हुने चाहमा विभिन्न झुटो नाटकहरू गर्नसम्म पछि परेका छैनन् । सामाजिक सञ्जालले मानवतालाई बिस्तारै हराउँदै लगेको छ । मानिसहरू मानवताको सबै सीमाहरू पार गर्दै पुरै व्यावसायिक बन्न थालेका छन् । मानिस भएर अर्को मानिसको भावना, संवेदना, दुख पिडाको व्यापार गरिरहेका छन् ।

सामाजिक सञ्जालमा लिप्त भएर कतिपय आमालाई आफ्नो बच्चा स्याहार्ने फुर्सद छैन त कतिपय बुवालाई आफ्नो परिवारलाई दिने समय छैन । जसको कारण कतिपय छोराछोरीहरू विभिन्न कुलतमा पनि लाग्ने गरेको छन् । कतिसँग  आफ्नो पढाईलाई दिने समय छैन त कतिसँग आफ्नो आफन्त र साथीभाइलाई दिने समय छैन । सामाजिक सञ्जालको अधिक प्रयोगले आजकल मानिसहरू आफ्नाहरूसँग अपरिचित अनि पराई माझ लोकप्रिय बन्दै गइरहेका छन्।सामाजिक सञ्जालको माध्यमबाट आजकल कतिपय निर्दोष व्यक्तिको चरित्र हत्या पनि हुने गरेको छ । मानिसहरू स्पष्ट कुरा नै नबुझी फेसबुक र युट्युबमा कोही व्यक्तिको बारेमा बोल्छन् अनि उसको बारेमा गलत धारण बनाउछ्न ।अलिकति पनि सोच्दैनन् कि त्यो पीडित व्यक्तिमा कस्तो असर गर्ला उसको सामाजिक इज्जत प्रतिष्ठामा कस्तो दाग लाग्ला भन्ने । सामाजिक सञ्जालमा घन्टौ कुरा गर्ने सक्ने मानिस प्रत्यक्ष भेटमा भने एक शब्द उच्चारण गर्न पनि गाह्रो मान्ने हुन्छन् । यसरी सामाजिक सञ्जालको खराब सञ्जालमा मान्छे धेरै हदसम्म कैद भैसकेको छ । चाहेर पनि त्यो बन्धनलाई मान्छेले सजिलैसँग तोड्न सक्दैनन् होला ।

सामाजिक सञ्जालको प्रयोग गर्नु पर्छ तर साथसाथै यसको अत्यधिक प्रयोग बाट हाम्रो जीवन मा पर्न जाने असरबारे पनि सचेत हुन जरुरी छ । आफ्नो मानवीय संवेदना नै ह्रास हुनेगरि लिप्त हुनुहुँदैन । सामाजिक सञ्जालको दुरुपयोगले समाजमा हत्याहिंसा,बलात्कार जस्ता जघन्य अपराधको जन्म दिन्छ भन्ने कुरा बिर्सनुहुँदैन । सामाजिक सञ्जालको माध्यमबाट सदैव सकारात्मक कुराहरू सिक्ने तर्फ अभिप्रेरित हुनुपर्दछ । काल्पनिकता भन्दा वास्तविकतालाई अँगालेर हिँड्न सकेमा नै जीवनले सार्थकता पाउँदछ भन्ने कुरा कहिले बिर्सनु हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस