स्थानीय कार्यपालिका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय कार्यपालिका


केदार खतिवडा

१८ जेष्ठ २०७६, शनिबार


सङ्घीय शासन प्रणालीमा स्थानीय तहको शासन व्यवस्था सञ्चालन गर्ने स्थानीय सरकार वा स्थानीय तहको कार्यकारिणी नै स्थानीय कार्यपालिका हो । स्थानीय कार्यपालिकाले स्थानीय तहको शासन व्यवस्थाको सञ्चालन, निर्देशन नियन्त्रण समन्वय र श्रोत परिचालनको कार्य गर्दछ । संविधान र सङ्घीय कानुनको अधीनमा रही स्थानीय कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम स्थानीय कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुन्छ ।

नेपालको संविधान २०७२ को भाग १७ मा स्थानीय कार्यपालिकाको व्यवस्था रहेको छ । यस अन्तर्गत धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकार संविधान र कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा रहने कुरा उल्लेख गरिएको छ । नेपालको संविधान २०७२ बमोजिम स्थानीय कार्यपालिकाको गठन देहाय बमोजिम हुने व्यवस्था रहेको छ ।

गाउँ कार्यपालिकामा

  • प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित एक जना गाउँ कार्यपालिका अध्यक्ष र एक जना उपाध्यक्ष रहने ।
  • प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष रहने ।
  • गाउँ सभाले आफू मध्येबाट निर्वाचन गरेका चार जना महिला सदस्य रहने ।
  • गाउँ सभाले निर्वाचित गरेका दुइजना दलित वा अल्पसँख्यक सदस्य रहने ।

नगर कार्यपालिकामा

  • प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित एक जना नगर कार्यपालिका प्रमुख र एक जना उपप्रमुख रहने ।
  • प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष रहने ।
  • नगर सभाका सदस्यले आफू मध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य रहने ।
  • नगर सभाले निर्वाचित गरेका तिन जना दलित वा अल्पसङ्ख्यक सदस्य रहने ।

यसै गरी संविधानमा जिल्लाभित्रको गाउँपालिका र नगरपालिकाबिचमा समन्वय गर्न जिल्ला सभा रहने र जिल्ला सभाले आफ्नो तर्फबाट गर्ने कार्यसम्पादन गर्न एक जना प्रमुख ,एक जना उपप्रमुख, कम्तीमा तिन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक सहित बढीमा नौ जना सदस्य भएको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कुरा उल्लेख गरिएको छ ।

स्थानीय कार्यपालिकाको काम कर्तव्य र अधिकार

नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय कार्यपालिका वा स्थानीय सरकारको मुख्य मुख्य काम कर्तव्य र अधिकारहरू देहाय बमोजिम छन् ।

  • स्थानीय सेवाको व्यवस्थापन
  • स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सञ्चालन
  • स्थानीय कर
  • नगर र गाउँ प्रहरी
  • आधारभूत तथा माध्यमिक शिक्षा र आधारभूत स्वास्थ्य र सरसफाइ
  • सहकारी संस्था
  • एफ.एम रेडियो सञ्चालन
  • स्थानीय तथ्याङ्क तथा अभिलेख
  • वातावरण संरक्षण र जैविक विविधता
  • घर, जग्गाधनी पुर्जा वितरण
  • बेरोजगारको तथ्याङ्क सङ्कलन
  • कृषि तथा पशुपालन
  • विपत् व्यवस्थापन
  • खानेपानि तथा साना जलविधुत आयोजना, वैकल्पिक ऊर्जा
  • ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन ।
  • न्यायिक समितिमार्फत न्याय सम्पादन

Tags :
प्रतिक्रिया दिनुहोस