मे दिवस र नेपाली श्रमिकको अवस्था « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मे दिवस र नेपाली श्रमिकको अवस्था


धिरेन्द्र प्रसाद शर्मा

१८ बैशाख २०७६, बुधबार


मे दिवस

विषय प्रवेश
आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो आज । ८ घण्टा काम गर्ने ८ घण्टा आराम गर्ने समय तोकिनु पर्दछ भन्ने माग गर्दै १८८६ मा अमेरिकाको सिकागोमा काम गर्ने मजदुरहरूले सुरु गरेको आन्दोलनको दिनको सम्झनामा विश्वको मजदुरहरूले अन्तर्राष्ट्रिय मे दिवस मनाउँदै आइरहेका छन् । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ । विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदाता लाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा वि सं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । सबै प्रकारका श्रमिकको हक अधिकार सुरक्षित गरिनु यस दिवसको मूल उद्देश्य हो ।

आफ्नो रगत, पसिना र श्रम बेचेर मेहनतको कमाई खाने श्रमिकको महान् पर्वको रूपमा रहेको श्रमिक दिवस श्रमिकको हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरका श्रमिकलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने र सम्पूर्ण श्रमिकहहरुको एकता, वीरता र सङ्घर्षको प्रतीक हो । पुँजीपति वर्गद्वारा मजदुरलाई मेसिन झै चौबिसै घण्टा काममा लगाउने र अत्यन्त न्यून पारिश्रमिक दिई अमानवीय व्यवहार गर्ने परिपाटीका विरुद्ध सङ्गठित भएको ट्रेड युनियन आन्दोलनले मे दिवसको सान्दर्भिकतालाई लामो सङ्घर्ष, बलिदान र गौरवपूर्ण इतिहासले सुसज्जित तुल्लाएको छ ।

सन्दर्भ श्रमिकको
नेपालको संविधानअनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर हुन् । श्रमिकहरू राष्ट्र निर्माणका धरोहर हुन् । देशको आर्थिक विकासका मेरुदण्ड हुन् । भूमण्डलीकरण, उदारीकरण, निजीकरण, औधोगिकरण र बजारीकरणको तीव्र प्रतिस्पर्धामा भएको विश्वमा आज मजदुरविना मालिक र मालिक विना मजदुरको अस्तित्व रहँदैन भन्ने कुरालाई मालिक र मजदुरले बुझिसकेका छन् । श्रमिक मजदुरको दायरा आज धेरै फराकिलो भइसकेको छ । पारिश्रमिक लिई रोजगारदताको लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जो सुकै नाम दिई काममा लगाएको व्यक्ति मजदुरको दायरामा पर्ने कुरालाई विभिन्न कानुनी दस्ताबेजमा उल्लेख गरिएको पाइन्छ ।

कारखानामा काम गर्ने मजदुर हुन् वा चिया बगानमा काम गर्ने मजदुर हुन् वा विदेशको भूमिमा रगत र पसिना बगाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउने मजदुर हुन् अथवा सत्य तथ्य घटना उजागर गरी समाज परिवर्तनलाई गति दिने श्रमजीवी पत्रकार हुन् वा सार्वजनिक प्रशासन सञ्चालन गर्ने कर्मचारीतन्त्र नै किन नहुन् सबैको योगदान मजदुर आन्दोलनको रूपमा अतुलनीय छ भन्ने कुरामा नेपालको राजनीतिको बागडोर सह्मालेका नेतृत्वगणले बुझ्न जरुरी छ ।

वि.सं २००३ सालमा मजदुरहरूले विराटनगरको जुट मिलबाट सुरु गरेको मजदुर आन्दोलनले अन्ततः १०४ बर्से जहानीया राणाशासनलाई घुँडा टेकायो । २००७ सालको प्रजातन्त्र स्थापनापछि पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दा होस् या दश बर्से सशस्त्र जनयुद्ध वा २०६२/०६३ को जनआन्दोलन गर्दा होस् नेपालका सबै राजनीतिक परिवर्तनहरूमा नेपाली श्रमिकहरूले गरेको योगदान कम महत्त्वपूर्ण र औचित्यपूर्ण कदापि छैन ।

नीतिगत पाटो
नेपालमा २०४६ सालपछि मात्र आफ्नो उचाइ लिएको ट्रेड युनियन आन्दोलनले २०७२ को संविधानको धारा ३४ मा श्रमको हकलाई मौलिक हकको रूपमा स्थापित गरेपछि कानुनी रूपमा श्रमिकका आवाजहरू थप व्यवस्थित भएको देखिन्छ । उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई संविधानले ग्यारेन्टी गरेको छ । प्रत्येक श्रमिकलाई श्रम अभ्यासको हक हुने र ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुने तथा सामूहिक सौदावाजी गर्न पाउने व्यवस्थालाई संविधानले आत्मसात् गरेको छ । श्रमिकका हक, हित र सुविधालाई व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्न र श्रम शोषणका सबै अवशेषको अन्त्य गर्न श्रम ऐन, २०७४ जारी गरी लागू समेत गरिएको छ ।

श्रमिकको व्यावसायिक तथा पेसागत हक हितलाई संरक्षण र संवर्धन गर्न ट्रेड ऐन, २०४९ लागू गरिएको छ । निजामती सेवा ऐन २०४९ ले पनि ट्रेड युनियनको अधिकारलाई कानुनी रूपमा थप संस्थागत गरेको छ । कर्मचारीहरूको पेसागत हक हित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन खडा गरिएको छ । आइएलओ महासन्धिलाई नेपालले अनुमोदन गरेको छ । संस्थागत रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रबन्ध गरिएको छ ।

नेपालमा श्रमिकको विद्यमान अवस्था
प्रत्येक वर्ष मे १ मा मजदुर दिवस मनाई रहँदा मजदुरको पेसागत हक हित र उनीहरूको जीवनस्तर उँभो बनाउने निश्चित योजना प्रस्तुत गर्नुको साटो मजदुर दिवसलाई राजनीति गर्ने प्रयोगशालाको रूपमा उपयोग गर्दा दलपिच्छे मजदुर सङ्गठन खुल्ने र ट्रेड युनियनहरूमा भित्रिएको अवसरवाद र संरक्षणवादी सोच र प्रवृत्तिले श्रमिकको वास्तविक एजेन्डा सही ढङ्गले उठ्न सकिरहेको छैन । वास्तविक श्रमिकको अवस्था आज पनि दयनीय छ । आफ्नो व्यक्तिगत स्वार्थ र हितलाई पूरा गर्न ट्रेड युनियनलाई भर्‍याङ बनाउने र आफ्नो स्वार्थ पूरा भएपछि आन्दोलनलाई कमजोर बनाउने तथा पुँजीपति वर्गसँग आफ्नो व्यक्तिगत स्वार्थ अनुकूल सम्झौता गर्दा एकातिर ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको छ भने अर्कोतिर श्रमिकहरू वास्तविक रूपमा असुरक्षित र निरीह बनिरहेका छन् ।

सडकमा दिनभर खाली खुट्टामा भारी बोक्ने भरियाको जीवनस्तर आज पनि उस्तै छ । होटेल र रेष्टुराहरुमा भाडा सफा गरेर जीविकोपार्जन गरिरहेका मजदुरहरूका जीवन उस्तै छ । चिया बगानमा काम गर्ने मजदुरको अवस्था उस्तै दयनीय छ । देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने वर्ग जो मुलुकमा पर्याप्त रोजगारीका अवसर नहुँदा खाडी मुलुकमा कष्टपूर्ण, अपहेलित र असुरक्षित काम गर्न बाध्य छ त्यसले श्रमिक दिवसबाट केही पाउन सकिरहेको छैन । समाज र राष्ट्रको अग्रगामी परिवर्तनको लागि विभिन्न असुरक्षाका बाबजुद कलम चलाउने श्रमजीवी पत्रकारले आज पनि विज्ञापन र शुभकामनाबाट उठेको धेर थोर रकमले पत्रकारिताको नेतृत्व सह्माल्न बाध्य भएका छन् । सङ्घीयतासँगै समायोजनका नाममा कर्मचारीले न्यूनतम रूपमा प्राप्त गर्ने सम्पूर्ण अधिकारहरू कुण्ठित गरी विभेदपूर्ण र असामान्य ढङ्गले निजामती श्रमिकहरूलाई घोक्रेठ्याक लगाएर काम गराउन बाध्य बनाइएको छ । अनुमानयोग्य सेवा सुविधा र अवसरको सुनिश्चितता विना श्रम गराउन बाध्य बनाइएको छ । निजामती कर्मचारीहरूबिच विभेद सिर्जना गरिएको छ । श्रमिक कर्मचारीहरूले पाउने सेवा सुविधा र वृत्ति विकासको अवसर तथा सुरक्षामा असमानता र अदूरदर्शिताको सिद्धान्त लागू गरिएको छ । यी सबै पक्षको अध्ययन गर्दा नेपालको ट्रेड युनियन आन्दोलन राजनीतिक र नीतिगत रूपमा सफल भए पनि आर्थिक, सामाजिक र नैतिक रूपमा सफल हुन सकेको देखिँदैन ।

अबको बाटो
श्रमिकको एकता नै विजयको पहिलो सुरुवात हो । अबको श्रमिक आन्दोलन एकल ट्रेड युनियन आन्दोलनको रूपमा अगाडि बढ्नु पर्ने देखिन्छ । सबै प्रकारका श्रमिकहरूको जीवनस्तरलाई माथि उठाउने र उनीहरूको सुख, शान्ति र समृद्धि हुने तथा देशको आर्थिक तथा सामाजिक क्रान्ति गर्ने दिशामा दृढ सङ्कल्पका साथ ट्रेड युनियन आन्दोलनलाई मर्यादित बनाउनु सम्पूर्ण ट्रेड युनियनकर्मीको उत्तरदायित्व हो । ट्रेड युनियन आन्दोलन साझा एजेन्डा र आन्दोलनमा केन्द्रित हुनु पर्छ । कुनै सीमित अवसर र स्वार्थका लागि गरिने आन्दोलन श्रमिकका लागि नभएर बुर्जुवाहरूकै लागि फलदायिक बनिरहेका दृष्टान्तहरू प्रशस्त रही आएका छन् ।

सबै समान हुने र सबैको अधिकार सुनिश्चित हुने सुन्दर बगैँचाको रूपमा चिनिँदै आएको लोकतान्त्रिक गणतन्त्रात्मक शासन सञ्चालन भएको देशमा श्रमिकले आफ्नो रगत र पसिना बेचेर श्रम गर्दा अनुकूल श्रम वातावरण, भेदभाव रहित कार्य व्यवहार एवम् पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सुनिश्चित हुन सक्ने अवस्था सिर्जना गरोस् । सङ्घीयता र समायोजनका नाममा सबै प्रकारका श्रमिकहरूलाई विभेद नगरियोस् । संविधानले प्रदत्त गरेको श्रमसम्बन्धी मौलिक हकको पूर्ण प्रत्याभूत गराइयोस् । भाषणका बदलामा मजदुरको पक्षमा काममा गरियोस् । मजदुर दिवस अर्थपूर्ण र मजदूरमैत्री बनोस् । सबै प्रकारका श्रमिकहरूलाई मजदुर दिवसको शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस