श्रावण ४ गते, २०७६

वैदेशिक रोजगारीले नेपालमा पारेको प्रभाव

विषय प्रवेशः
यो लेख एउटा प्रसङ्गबाट सुरु गरौँ । दसैँको समय भएकोले विभिन्न देशमा कर्मभूमि बनाएकाहरूको गाउँमा बाक्लो उपस्थिति रहेको थियो । गाउँ घर रमाइलो थियो । विदेश गएर आएकाहरू आफ्नो तलब नेपाली रुपैंयामा खारेर कुरा गर्दै थिए ।कसैले प्लेनको अनुभव पस्कँदै थिए त कोही कामको कुरा अनि कसैले साहुको कुरा । नेपाल सरकारको शाखा अधिकृतको परीक्षामा सफल भएपछि हर्षोल्लासको कार्यक्रम थियो ।बधाई दिने मान्छेहरूको आवागमन भइरहेको थियो । सोही क्रममा एक जना छिमेकीले प्रश्न गर्नुभयो ।“अब बाबुको तलब कति हुन्छ ?” त्यसै समयमा मैले जवाफ दिन नपाउँदै गाउँमै शिक्षण पेसा गरिरहनु भएको काकाले भन्नुभयो, तलब त उही त हो नि माविको शिक्षककै बराबर।

छिमेकीले ‍ओँठ लेप्राउँदै हुनुहुन्थ्यो । सायद उहाँले सोच्नु भएको रहेछ यसले अब तलब टन्न खान्छ भनेर । त्यसैमा त्यहाँ खुलदुलीको आभास सहितको एउटा बहस सुरु भयो । कसैले भन्दै थिए कसरी कर्मचारीहरूका त्यत्रा घर हुन्छन् त ? कसैले जवाफ गर्दै थिए “टेबल मुनिबाट आउँछ नि हजुर” । यो प्रसङ्ग उठेपछि मलाई मन अमिलो भएर आयो । हैन यो खुसीको दिनमा पनि किन यति साह्रो भनाई खानु परेको होला ? के केही कर्मचारीले गरेको दोष सबै कर्मचारीले बोक्नु पर्ने हो ? कोही कर्मचारीलाई भ्रष्ट्राचारीको संज्ञा दिँदै थिए त कोही आफ्ना विदेश गएका सन्ततिको तलबलाई लिएर दाँजी रहेका थिए । केही दिनको घर बसाई पछि म पनि आफ्नो कामको लागि काठमाडौँ आएँ ।

अर्को प्रसङ्गमा सामाजिक सञ्जालमा भेटेको एउटा तस्बिरको पनि कुरा गरौँ । सो तस्बिरमा एक जना व्यक्ति आफ्नो बुवालाई खुट्टा मुसारिरहेको हुन्छ । सोही समयमा बाबुले कोही अर्को व्यक्ति सँग भन्दै हुन्छन् । अरू त सबै विदेश तिर गइसके तर यही एउटा छोरा छ यसैले केही गर्न सकेन भन्दै गुनासो गरिरहेका हुन्छन् । छोरा निराश हुँदै बाबुको मुहार हेरिरहेको हुन्छ, सायद उ सोच्दै थियो होला आफ्नो देशमा बसेर बाबु आमाको हेरचाह गर्दै बस्न खोज्दा उनै बुबा आमाले राम्रो मान्दैनन् ।

चाडपर्वमा भोजभतेर गर्ने, लत्ताकपडा र गरगहना लगाउने प्रतिस्पर्धा नै चल्ने गरेको छ । पहिले पहिले खेत बारी, बस्तुभाउ कति छन् केटा केटीको पढाई के कति छ ? भनेर सोधपुछ गरेर बिहे हुने गर्थ्यो तर आजकल कुन देशको भिसा लागेको छ ? चाहे उमेरमा धेरै नै फरक किन नहोस् त्यस्तो सम्बन्ध छिटो जोडिने गर्छ । लामो समयसम्म नेपालमै रोजगारी गरेर पेन्सन पकाएर बसेकाहरू पनि विदेशमै भएका आफ्ना आफन्तजनको कुरा गर्दै आईफोन, आईप्याड र ल्यापटप पठाइदिने कुरा गरेर बस्ने गर्छन् । र, नयाँ पुस्तालाई पनि विदेशीन प्रेरित गरेको सुन्दा अनौठो लाग्छ । विदेशीएका छोराछोरीले उडेको केही दिनमा नै आफ्ना बाबु आमालाई कृषि पेसा छोड्नु, बसेरै खानुस् हामी पुर्याउँछौं भन्छन् । के केही काम नगरी घरमा बस भन्दैमा उनीहरूले आराम पाउँछन् अनि कुनै काम नभएपछि उनीहरूलाई समय बिताउन गाह्रो नपर्ला र ? छिमेकीलाई तिनै बाबुआमाले गएर हाम्रो छोरो वा छोरीले आरामले बसेर खानुस् भन्यो भन्छन् । जसले छिमेकीको सन्तान जसले केही मेहनत गर्दै थियो उसलाई पनि दबाब पर्न गई छोड्ने मानसिकता बनाउँछ ।

माथिका प्रसङ्ग जोड्नुको कारण के भने, यो समाज आजभोलि कति धेरै पैसामुखी भएको होला ? मलाई एक दिन छोराछोरी विदेश पठाएर बस्नु भएको छिमेकी अङ्कलले फोन गर्नुभयो । उहाँ हुनुहुन्थ्यो म घरमा गएको समयमा मक्ख पर्दै फलानो ठाउँमा यति आना घडेरी भन्दै खुब गफ छाँट्दै गर्ने व्यक्ति । नेपालमा जागिर गरेर बस्नेहरूलाई केही उपाय नलागेर बसेजस्तो गरी हेर्ने उहाँ बिरामी पर्नु भएछ र काठमाडौँ आउनु भएको रे ! अनि मैले समय मिलाएर भेट्न पुगेँ ।सन्चो विसन्चो सोधासोध भइसकेपछि बुझेँ, बिचरा उहाँले त उपचार गर्ने बेलामा सहरसम्म उपचार गर्न ल्याउने साथी पनि कोही भेट्नु भएनछ र एक्लै आउनु भएको रहेछ । पछि यसरी कुरा गर्नु भयो कि बाबु छोराहरूलाई बोलाउन हुन्थ्यो के गर्नु उता पिआर-सिआरको कुरा केके हुँदै छ रे ! बिदा मिलाउन पनि गाह्रो हुन्छ भन्छन् । के गर्नु बाबु पैसा मात्रै ठुलो कुरा रहेनछ । आफूलाई आवश्यकता पर्दा साथ दिने सन्तान नभएपछि । अनि मलाई भन्दै हुनुहुन्थ्यो तिमीले एक दुई दिन मलाई हस्पिटल तिर लाने ल्याउने गरिदिन्थ्यौ कि ? अङ्कलको भनाइमा यस्तो भाव देखिन्थ्यो कि हामी नेपालमा बस्नेहरू त कुनै महत्त्वपूर्ण काम गर्दैनौँ । अनि जति वेला भन्यो उति बेला समय उपलब्ध गराउन सक्छौँ भनेर । व्यस्तताको बाबजुद पनि मानवीय नाताले मैले उहाँलाई अस्पताल पुर्‍याएर उपचार गरी औषधि बोकाएर घर पठाएँ । यहाँ मैले भन्न खोजेको कुरा के भने पैसा मात्रै ठुलो कुरा होइन, जति उहाँले सोच्नुभएको थियो । र ,आम मानिसले पनि सोच्ने गर्छन् ।

एक जना आफन्त(जो सेवा निवृत्त भइसक्नु भएको थियो) ले भनेको कुरा सम्झना आयो । उहाँले भन्नुभएको थियो ‘बाबु, विदेश जानेहरू खेत (घडेरी)किन्ने कुरा गर्छन्, यता चामलको बोरा किन्ने कुरा हुन्छ, उनीहरू घर बनाउने कुरा गर्छन् यता कोठा भाडामा लिने कुरा हुन्छ । सबैले आफ्नो मात्र स्वार्थ हेर्नु भएन नि सबै विदेश गएर नेपालमा कसले गर्ने ? यहाँ छोडिएका वृद्ध बुबा आमालाई कसले उपचार गर्ने ? उनीहरूलाई वृद्धा भत्ता कसले पुर्‍याइदिने ? त्यसैले विदेश जानेहरूले कमाउने पैसा मात्र हो तर नेपालमा बस्ने हरूले थोरै कमाउने पैसा मात्र हो । धेरै चिज (मान, सम्मान, साथीभाइ, इष्टमित्र) नेपालमै रोजगारी गर्ने हरूले नै कमाउने गर्छन्, बाबु।

यति लेखिसक्दा यहाँनिर एउटा प्रश्न आउन सक्छ, के विदेश रहरले गएको हो र ? मैले पनि केवल विदेश जानु नराम्रो पनि भन्न खोजेको होइन । विदेश गएकै कारणले नै धेरै नेपालीका परिवारको पनि आर्थिक उन्नति भएको छ । र, विदेश गएकालाई पनि नकारात्मक तरिकाले हेर्न मिल्दैन । तर यहाँ स्वदेश मै बस्नेहरू केही गर्न नसकेर अनि विदेश जान नसकेर यहीँ बसेका हुन भनेर हेर्ने नजर चाहिँ परिवर्तन हुन जरुरी छ । अहिले अन्य देशमा गएर कमाएको सम्पत्तिको लोभ गरेर मात्र बसियो भने कतै भावी सन्ततिले पनि देशको अवस्था यस्तै देख्नु पर्ने त हैन ? कतै हाम्रा सन्तति पनि हातमा पासपोर्ट बोकेर कन्सल्टेन्सी र मेनपावरमा धाउनु पर्ने बाध्यता आउने त हैन ? अहिलेको पुस्तालाई पनि देश प्रतिको माया स्नेह बढाउनु जरुरी छ । त्यति नहुँदासम्म नेपालमै बस्ने र यहीँ केही गरी रोजगारी सिर्जना गर्ने खालका जनशक्तिलाई यहाँ अड्याउन सकिँदैन ।

नेपालबाट केही वर्ष अगाडिसम्म गाउँका दुई चार जना विदेश जाने चलन थियो । त्यसैले घरका नामकरण पनि फलानो लाहुरेको घर भनेर गरिन्थ्यो । तर यसको दर बढेर हाल दिनहुँ जसो करिब १५०० को हाराहारीमा नेपाल छोडेर जाने गरेको तथ्याङ्क आउने गरेका छन् । आजकल त प्लस टु सकिएपछि नै नेपालमा सम्भावना खोज्ने भन्दा विदेश तिर उड्ने तयारी गर्ने गरेका छन् । सरकारले पनि विभिन्न देशसँग श्रम सम्झौता गरेर कामदार पठाउन सहज बनाई रहेको छ ।कामदार विदेश पठाउँदा बेरोजगारी घट्दै गरिबी न्युनिकरणमा सहज हुन्छ । अहिलेको अवस्थामा विदेश बाध्यता र स्वयं सरकारलाई अर्थतन्त्र सबल बनाई राख्न पनि टेवा पुग्ने हुनाले तत्कालीन रूपमा सहयोग पुगिरहेको छ ।

वैदेशिक रोजगारीका सबल र दुर्बल पक्षहरू निम्नानुसार समेट्न सकिन्छ

वैदेशिक रोजगारीका सबल पक्ष
• गरिबीको दर न्युनिकरणमा टेवा पुग्ने गरेको छ,
• विप्रेषण भित्रिन गई राज्यलाई सहयोग पुगेको छ,
• बेरोजगारीको समस्या सम्बोधन गर्न राहत मिलेको छ,
• विदेशबाट पैसा आउने भएकोले नागरिकहरू शिक्षा र स्वास्थ्य प्रति सचेत हुने गरेका छन्,
• खरिद गर्ने क्षमता वृद्धि भएकाले व्यापारमा पनि वृद्धि भएको छ,
• सामाजिक कार्य, अशक्तहरूलाई सहयोग, विकास निर्माणका कार्यहरूमा प्रशस्तै सहयोग जुटाउन सहज हुने गरेको छ,
• सूचना प्रविधिको क्षेत्रमा विकास गर्नको लागि टेवा पुगेको छ । जस्तै मोबाइल र ल्यापटप जस्ता विद्युतीय सामाग्री विदेश बस्नेहरूमार्फत आउँदा धेरै नेपालीलाई सहजरुपमा प्राप्त भएको छ ।

वैदेशिक रोजगारीका दुर्बल पक्ष
• गाउँ बस्ती युवा शक्तिविहीन हुँदै गइरहेका छन्,
• कृषियोग्य भूमिहरू बाँझो बन्दै गइरहेका छन्,
• ज्येष्ठ नागरिकहरू निराश भएर जीवन बिताउँदै छन्,
• सक्षम युवा शक्ति विदेशिने गर्नाले दीर्घकालीन सोच सहितको सक्षम नेतृत्व चयन गर्न कठिन हुँदै गएको छ,
• राष्ट्रियता कमजोर हुने खतरा बढ्दै गइरहेको छ,
• नेपालमा बस्ने युवा शक्ति अस्थिर बन्दै गइरहेका छन्
• आयस्रोतमा धेरै फरक हुँदा देशमा रहनेहरूलाई महँगीले समस्या पारेको छ।

आगामी बाटो
सानै छँदादेखि सुन्ने गरेका गीतका भावहरूले भन्ने गर्थे, नेपाली किन विदेशिनु नेपालमै धेरै सम्भावना हरू छन् । तर हालसम्म पनि त्यो कम हुनुको सट्टा छन् बढ्दो क्रममा छ । हाल देशमा दुई तिहाइको बलियो सरकार छ । दीर्घकालीन रूपमा सरकारले विदेशिएकाहरुलाई स्वदेश फर्काउने लक्ष्यका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को सोचका साथ अगाडि बढाइरहेको छ । सामाजिक सुरक्षाको कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, कृषि आधुनिकिकरणका विभिन्न कार्यक्रमहरू, कृषक सम्मान गर्ने कार्यक्रमहरू पनि यसका लागि सहयोगी कार्यहरू हुन् । विदेशिने गरेको सङ्ख्यालाई न्युनिकरण गर्दै नेपालीलाई विदेशिनबाट रोक्नको लागि निम्न कार्यहरू गर्नु पर्ला:
• नेपालको सम्भावना भएको प्रमुख क्षेत्र कृषि भएकोले कृषि पेसा प्रतिको आकर्षण बढाउने, जस्तै: कृषि बिमा, आधुनिक कृषि प्रणाली, कृषकहरूका समाचार कभरेज बढी गरेर उदाहरणीय कृषकको बढी प्रचार प्रसार गर्ने,
• कृषकले उत्पादन गरेको कृषि उपज नष्ट हुन नदिन सित भण्डारहरू निर्माण, बाँझो रहेको जमिनको माटो परीक्षण गरी उपयुक्त बाली लगाउन कृषकलाई उत्पादन गर्न लगाइ सरकारकै माध्यमबाट खरिद गरेरै भए पनि बेचबिखन गर्ने,
• विप्रेषणलाई उत्पादन मूलक क्षेत्रमा लगानी गरेर भविष्यमा रोजगारी सिर्जना गर्ने गरी विकास गर्ने,
• विदेशिएकाहरुले पठाउने पैसालाई अनुत्पादक क्षेत्रमा प्रयोग हुने गरेको जस्तै गरगहना, महँगा मोबाइल, मदिरा लगायतको नियन्त्रण गरी कुनै निश्चित सीमा भन्दा माथिको गरगहना र सामान प्रयोग गर्न नपाउने व्यवस्था कडाइका साथ लागु गर्ने,
• किशोर किशोरीहरूलाई नेपालमा नै टिकाई राख्न विभिन्न सम्भावनाका क्षेत्रहरू पहिचान गरी सो तर्फ दिशानिर्देश गर्ने,
• कृषि, पर्यटन, जल, जडीबुटी आदि क्षेत्रहरू धेरै सम्भावना भएका क्षेत्रहरू भएकाले यसको अध्ययन गराउने शिक्षालयको व्यवस्था गरी सक्षम प्राविधिकहरू उत्पादन गरी कार्यक्षेत्रमा खटाउने,
• स्वरोजगार हुन चाहने युवा हरूलाई दर्ता प्रक्रिया, कर्जा प्रक्रियामा सहजता जस्ता कार्यक्रमहरू मार्फत टेवा पुर्‍याउने ।

निष्कर्ष
विदेश रहर होइन बाध्यता हो । पठाएको पैसाले नेपालमा बसेर रमाउन पाउनेहरूलाई यो प्रतिष्ठाको विषय बनेको होला, तर कुनै पनि देशमा पुग्नेहरू सन्तुष्ट भएको पाइँदैन । गाउँमा बसेर नास्ताको रूपमा खाने गरिएका भुटेका मकै, कोदोको रोटी, मकैको सातु, गाउँको प्राङ्गारिक तरकारी विस्थापित भएका छन् । रेमिट्यान्सबाट आएको पैसाले नास्ता चाउमिन, मः मः बन्न पुगेका छन् । तरकारीको रूपमा पनि चाउचाउ, आयातित मासु, छिमेकी देशबाट आयात हुने तरकारी प्रयोग हुन थालेका छन् । पर्याप्त अभ्यास बिना मान्छेहरू मधुमेह, रक्तचाप जस्ता रोगहरूबाट ग्रसित बन्न पुगेका छन् । सानै उमेरदेखि बच्चाहरू विद्युतीय सामाग्रीमा व्यस्त हुन गई सामाजिक रहन सहन भुल्न थालेका छन् । गाउँघर युवा शक्ति विहीन बन्दै गइरहेका छन् । यो समस्या दीर्घकालीन रूपमा रह्यो भने देशलाई अवश्य फाइदा हुने छैन । यसको छिटो भन्दा छिटो समाधान गरी युवा शक्तिलाई स्वदेशमा नै अड्याउन तर्फ पहल गर्नु अहिलेको आवश्यकता हो ।

(यो लेख केही आफ्नै भोगाई, केही साथीहरू मार्फत सुनेका र केही छरछिमेकमा देखेका आधारमा तयार गरिएको हो । त्यसैले यसभित्र गरिएका सम्बोधनका आधारमा कसैले नलिनु हुन अनुरोध गर्दछु ।)

चैत्र २९ गते, २०७५ - १०ः२६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg