वर्ड फ्लु रोग नियन्त्रणमा कसको भूमिका के ? « प्रशासन
prasaLogo
७ चैत्र २०७५, बिहीबार

वर्ड फ्लु रोग नियन्त्रणमा कसको भूमिका के ?


प्रकाशित मिति : 21 March, 2019 11:39 am

वर्ड फ्लु

नेपाल के कुरामा आत्मनिर्भर छ ? भनेर कसैले प्रश्न गर्छ भने त्यसको एक मात्र उत्तर हो कुखुराको मासु । नेपालमा अहिले करिब ८५ देखि ९० अर्ब बराबरको कुखुरामा लगानी रहेको अनुमान गरिएको छ । करिब एक लाख जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नेपाली बजारमा करिब ९६ अर्ब ७१ करोड बराबर कुखुराको मासु र अण्डाको वार्षिक उत्पादनको हुने गरेको छ । त्यसैले कुखुरा पालन व्यवसाय नेपालको ठुलो व्यावसायिक क्षेत्रका रूपमा विकास र विस्तार भइरहेको छ । यो विषयमा निजी क्षेत्रको ठुलो योगदान, लगानी र मेहनत रहेको छ । यति हुँदा हुँदै पनि केही वर्ष यता कुखुरामा लाग्ने विभिन्न खाले रोगहरू मध्ये वर्ड फ्लु रोगले कुखुरा व्यवसायलाई ठुलो असर गर्ने गरेको छ । जसका कारण व्यवसायीको हालसम्म अर्वौको क्षतिका साथसाथै केही समय हजारौँ नेपाली रोजगारविहीन स्थिति सृजना हुन जान्छ भने सरकारको क्षतिपूर्ति र रोग नियन्त्रणमा ठुलो धनराशि खर्च हुने गरेको छ । त्यसैले व्यवसायीमा पर्न जाने आर्थिक क्षति मात्र नभई जनस्वास्थ्यमा पनि यसले प्रभाव पार्ने भएकाले यो सङ्कटको अवस्थालाई न्युनिकरण तथा नियन्त्रण गर्न सरकार, व्यवसायी र पशुसेवाकर्मी मात्र होइन, सम्बन्धित सबै पक्षको सहयोग, समन्वय र सहकार्य आवश्यक देखिन्छ । नेपालको संविधान र अनुसूचीको विस्तृतिकरण अनुसार संघ, प्रदेश र स्थानीय तहको पशुपन्छी महामारी रोग नियन्त्रण सम्बन्धी अधिकार तथा वर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ ले दिएको कानुनी अधिकार, प्राविधिक मान्यता र मानवीय धर्मलाई आधार मानी विभिन्न सरोकारवालाहरूको वर्ड फ्लु रोग नियन्त्रण तथा रोकथाममा हुन सक्ने भूमिकालाई यसरी प्रस्तुत गरिएको छ ।

१. मन्त्रालय र मातहतका निकायहरू
वर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ मा रोगको पहिचान, निषेधित क्षेत्र घोषणा गर्नेदेखि नियन्त्रण तथा रोग मुक्त क्षेत्र घोषणा सम्मका कार्य गर्ने गराउने कानुनी व्यवस्था रहेको छ, जसका लागी आवश्यक कार्यविधि तथा मापदण्डहरू पनि रहेका छन् । यो कार्यकालागी पशु सेवा विभाग मातहतका निकायहरुमात्र नभै स्थानीय प्रशासन, सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह, पशुपन्छी व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, पेसागत संघसस्थाह सबैको सहकार्य, समन्वय र सहयोगलाई नितान्त आवश्यकता रहन्छ । सोही आदेशले सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पन्छी तथा पन्छीजन्य पदार्थहरू जफत गरी नष्ट गर्ने केही बाध्यकारी व्यवस्था गरेको छ । यो सङ्कटको घडीमा सरकारले रोगको निदान, संटग्रस्त क्षेत्र घोषणा, रोग नियन्त्रण, सघन सर्भिलेन्स तथा ४२ दिनसम्म सर्भिलेन्स गर्दा रोग नदेखिए रोग मुक्त धोषणा गरेर पन्छी पालन व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउन प्रतिबन्ध फुकुवा गर्नु पर्ने कार्य गर्नु पर्ने हुन्छ । यो अवस्थामा पशु सेवा विभाग र मातहतका निकायहरू अत्यधिक सक्रिय र रत्तीभर ढिला नगरी कानुनी व्यवस्था अनुरूप खटिनु पर्छ । सरकारी निकायले कानुन अनुरूप ढिलाइ नगरी एक्सनमा जानुपर्छ। हालसम्म देखिएका वर्ड फ्लु रोग समयमै सफलतापूर्वक छिटो नियन्त्रण गरेको उदाहरण पनि छ पशु सेवा सेवा विभाग सँग, अहिले पनि सबैको सहयोग, समन्वय र सहकार्य भयो भने छिट्टै नियन्त्रमा ल्याउन सकिन्छ ।

२. रोग निदान गर्ने प्रयोगशालाहरू
पशु सेवा विभाग अन्तर्गत प्रदेशस्तरका ल्याबहरूले रोगको शंका लागे वा सघन निदान परीक्षण विधिबाट रोगी देखिए सोको नमुना तत्काल छिटो माध्यामवाट नेपालको आधिकारिक प्रयोगशाला राष्ट्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाउँछ । उक्त नमुनालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त रोग नदिनाको मापदण्ड अनुरूप परीक्षण गर्नु पर्ने भएकोले केही समय (तीन दिनसम्म) लाग्ने हुन्छ । यो सङ्कटको वेलामा प्रयोगशालाहरूले अतिरिक्त समयमा पनि नमुना परीक्षण गरी दोहोर्यायर गरी तत्काल माथिल्लो निकायमा पेस पर्ने कानुनी व्यवस्था रहेको छ । त्यसपछि मन्त्रालय निर्णय गरेर मात्र तत्काल एक्सनमा जाने व्यवस्था रहेको छ । यो समयमा पशुपन्छीको व्यवस्थापन प्रविधिकराय अनुरूप गरिनु पर्दछ ।

३. पशुस्वास्थ्यकर्मिहरु र सम्बन्धित संघसंस्थाहरू
नेपालमा हाल करिब ११०० पशु चिकित्सकहरू ठुलो सङ्ख्यामा पशु स्वास्थ्य प्राविधिक र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरू र पशुपन्छी विकास र पशु अधिकारमा लागिरहेका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी तथा निजी संस्थाहरू रहेका छन् ।सबैले यो समयमा आफ्नो स्रोत, साधन, दक्षता र सिपको प्रयोग गरी रोग नियन्त्रण र सर्भिलेन्समा सरकारले सहयोग मागेको खण्डमा दिने गरी तयार अवस्थामा रहनु पर्दछ । रोगबाट बच्ने वा रोग फैलन नदिने विषयमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, लेख रचनाहरू प्रकाशन गर्ने, प्रभावित किसानहरूलाई सामान्ययिकरण गर्ने जस्ता कार्य गर्न जरुरी हुन्छन् ।

४. स्थानीय प्रशासन तथा सुरक्षाकर्मी
रोग देखी सङ्कटग्रस्त क्षेत्र घोषणा भैसकेको अवस्थामा सो स्थानमा हुने अनावश्यक आवतजावत र पशु तथा पशुजन्य पदार्थहरूको ओसारपसारलाई नियन्त्रण वा बन्देज लगाउने र पशुस्वास्थयकर्मिलाई पन्छी तथा पन्छीजन्य पदार्थ नियन्त्रण वा जफत गर्न सहयोग गर्नुपर्छ । यो अवस्थामा लुकीछिपी चोरी निकासी व्यापार हुने भएकाले तोकिएको क्षेत्रको सीमा नाकामा नियमित सुरक्षा सर्भिलेन्स गर्नु पर्ने हुन्छ ।

५. स्थानीय तह तथा प्रदेश सरकार
संविधानले पशुपन्छी महामारी रोग नियन्त्रणको कार्य संघ, प्रदेश र स्थानीय तहको साझा अधकारमा राखेकोले रोग नियन्त्रण गर्न सबै तहका सरकारको कानुनी र प्राविधिक हिसाबले उत्तिकै भूमिका हुन्छ । वर्ड फ्लु रोग नियन्त्रण आदेशले सङ्कट क्षेत्र घोषणा गर्ने संघीय मन्त्रालयलाई तोकेकोले बाँकी कार्य स्थानीय प्रशासन तथा तोकियका संघका कर्मचारीहरू सँगको सहयोग सहकार्यमा गर्नु पर्ने हुन्छ । आफ्नो क्षेत्रको नियमित नमुना सङ्कलन र निदानका लागी नजिकको प्रयोगशालामा नियमित परीक्षण गराउने तथा वर्ड फ्लु रोग नियन्त्रण र बचाउका विषयमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । मरेका वा मारिएका पन्छीलाई गाड्नको लागी उपयुक्त स्थान वा जग्गा उपलब्ध गराउनु पर्दछ । पहिलो पटक रोग देखा परेको समय देखि ४२ दिन सम्म सङ्कटग्रस्त क्षेत्रमा पन्छी पालन कार्यलाई प्रतिबन्धित गर्ने कार्यलाई लागु गर्नुका साथै रोग नियन्त्रणका अन्यकार्यमा कानुनले तोके बमोजिम गर्ने वा सहयोग लिने कार्य गर्नु पर्दछ । शङ्काको भरमा कुखुरा मार्ने, सावधानी नअपनाई रोग नियन्त्रणमा कर्मचारी खटाउने कार्यहरू गर्नु गराउनु हुँदैन । वर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ ले तोके अनुरूप कार्य गर्नु वा गराउनु पर्दछ।

६. पन्छी पालक व्यवसायीहरू :
रोग निदान, फैलावट र नियन्त्रणका सवैपक्षहरु पन्छी खोरबाट नै सुरु र अन्त्य हुने भएकाले पन्छी पालक व्यावसायीहरुले सरकारलाई गर्नु पर्ने सहयोग तथा दायित्वमा सत्य सूचना प्रदान र कानुनको निस्स्वार्थ पालना नै हुन आउछ । वर्ड फ्लु प्रमाणित भैसकैको पछि सो बाट भएको क्षतिको जिल्ला प्राविधिक समितिको सिफारिसमा प्रचलित वजारभाउको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने कानुनी व्यवस्था छ। वर्ड फ्लु देखिदा होस या नदेखिँदा व्यवसायीहरूले फार्मको जैविक सुरक्षामा कडाइ निगरानी सदैव राख्नु पर्ने हुन्छ । झन् यस्तो वेला फार्म भित्र कार्य गर्ने सीमित कामदारबाहेक कुनै पनि मान्छे संसर्गमा जान दिन हुँदैन । छाडा रुपमा पालिएको पन्छी वा कुखुराहरू छन् भने खोरमै राखेर नै दाना पानी दिने गर्नु पर्दछ । जति छिटो रोकको निदान भयो त्यति मात्रामा रोगको सङ्क्रमण र क्षति कम हुने भएकोले कुनै शङ्का लागेमा पशु चिकित्सकलाई देखाइ सल्लाह अनुरूप रोग निदानका लागी प्रयोगशालामा नमुना पठाउनु पर्दछ । शङ्का लागेको अवस्थामा पशु चिकित्सकहरूको सल्लाह अनुरूप पन्छी तथा दाना, शूली तथा खोरका सरसामानहरू बेचबिखन तथा ओसारपसार गर्ने कार्य गर्नु हुँदैन । रोग प्रमाणित भैसकेको अवस्थामा कुखुरा चल्ला दाना अण्डा नलुकाई सबै नष्ट गर्न दिनु व्यवसायको कर्तव्य हुन जान्छ । खोरमा मरेका पन्छीहरू, शूली, अण्डा, सोत्तर आदिलाई गहिरो खाल्डोमा गाड्नु वा पोलिदिने गर्नुपर्दछ । व्यवसायीले आफ्नो खोर सङ्क्रमण भैसकैको अवस्थामा अरूको खोर बचाउने तर्फ लाग्नुपर्छ । सरकारले सिफारिस गरेका खोप तथा ‌ओषधीहरुबाहेक प्रयोग गर्नु हुँदैन ।

७. राजनीतिक दल जनप्रतिनिधि तथा नागरिक समाज
यो सङ्कटको वेलामा केही वर्गका मानिसहरू रोग नियन्त्रणका कार्यहरूमा सामाजिक वृत्तमा भइरहेको अस्थिरताको फाइदा उठाउँदै अवरोध पुर्‍याउन खोज्ने, व्यवसायी वा किसानलाई भएको क्षतिको मनोभावको अप व्याख्या गर्न खोज्ने भएकाले यस्ता कार्य हुन नदिन र सामाजिक समस्यालाई सहजिकरण गर्न जनप्रतिनिधि राजनितिकदलका नेता र नागरिक समाजका अगुवाको महत्त्वपूर्ण भूमिका हुन्छ । सङ्कटको घडीलाई सकारात्मक सोचमा डोर्‍याउनु नै सम्भावित जोखिम वाट बचाउने ठुलो उपाय हुन जान्छ ।

८. सञ्चार माध्यम
वर्ड फ्लु किसान वा व्यवसायीको आर्थिक क्षति तथा मानिसको जनस्वास्थ्यमा असर पर्ने रोग हो । रोग देखा परेको अवस्थामा सञ्चार माध्यमले बोलेका कुराको असर गहिरो बस्ने भएकाले सकारात्मक सोच र समस्या समाधानका उपायमा सञ्चार माध्यमहरू बडी केन्द्रित हुनुपर्छ । यस्ता कुराको सूचना तथा समाचार सम्प्रेशण गर्दा धेरै भन्दा धेरै प्राविधिक तथ्य र विचारका आधारमा समाचार प्रवाह गर्नु पर्ने हुन जान्छ । यसो हुँदा यसले गर्ने जनस्वास्थ्य तथा आर्थिक असरका विषयमा श्रोता वा दर्शकहरूले जानकारी पाउने हुँदा सोही अनुसारले सामाजिक चिन्तन र मन्थन सकारात्मक निष्कर्ष निस्कन्छ, जोखिम न्यूनिकरण बचावटका उपाय सकारात्मक तरिका वाट नै खन्ने अभ्यास समुदायले थाल्दछ ।

९. छिमेकी तथा आफन्तहरू
विशेष गरेर रोगको सङ्क्रमण देखिएको वेला छिमेकीहरू सरकारको सिसी क्यामरा भएर बसिदिनु पर्ने हुन्छ । धेरै व्यवसायीले वर्ड फ्लु लागेको सूचना वा शङ्का पाएको अवस्थामा राती वा लुकिछिपी व्यापार गर्न सक्ने सम्भावना हुन्छ । यस्तो हुँदा रोगको सङ्क्रमण चोरी निकासी हुने बाटो भरि नै हुन सक्ने भएकाले यस वाट अन्य व्यवसायीलाई मात्र नभएर देश लाइ नै ठुलो क्षति हुनुका साथै जनस्वास्थ्यमा पनि असर पर्न जाने भएकाले यस्ता कुरामा छिमेकी तथा आफन्तले सम्झाउने र रोक लगाउने कार्यमा रोग नियन्त्रण टोलीलाई सहयोग र खबर गर्ने गर्नु पर्दछ ।रोग नियन्त्रणका लागी प्राविधिक टोली आउँदा कुखुरा मार्ने, चुना छर्ने तथा जिवनासक ओषधी छर्ने जस्ता कार्यमा हुन जाने अवरोधमा टाढै वाट अप्रत्यक्ष रूपमा सहयोग गर्नु पर्छ । सङ्घको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सङ्कटग्रस्त क्षेत्र घोषणाको फुकुवा नगर्न सम्म पन्छी तथा पन्छीजन्य पदार्थहरूको कारोबार वा पालन गर्नु हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस