कर्मचारी समायोजन र चिकित्सकको सकस - प्रशासन प्रशासन
prasaLogo
७ फाल्गुन २०७५, मंगलवार

कर्मचारी समायोजन र चिकित्सकको सकस


प्रकाशित मिति : 19 February, 2019 3:00 pm

कर्मचारी समायोजन

विगत तीन चार महिनादेखि कर्मचारी माझ अत्यधिक छलफल र चासोको विषय रहेको छ कर्मचारीहरूको समायोजन । संघ, प्रदेश तथा स्थानीय गरी जम्मा तीन तहमा फागुन ३ सम्म गरिसक्ने लक्ष्य लिएर काम भइरहेको भनिएको समायोजनले कर्मचारीहरूमा नै अन्योल तथा निराशा ल्याएको अवस्था छ । एकातिर संघीय निजामती सेवाको बिधेयक प्रस्तावित मात्र छ भने अर्कोतिर प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन आइ नसकेको अवस्थामा कर्मचारीहरू संघ, प्रदेश वा स्थानीयमा कुन र किन रोज्ने भन्ने कुरामा स्पष्ट हुन सकेका छैनन् ।

यस्तै अन्यालता र अस्पष्टताका बिच समायोजन हुँदै गरेका कर्मचारीहरूमध्ये औधी मार तथा अन्यायमा परेका छन् स्वास्थ्य सेवाका खासगरी चिकित्सकहरू । अझ आठौँ, नवौँ र दशौँ तह का चिकित्सकहरू । हाल नेपाल सरकारका ६६६ जना आठौँ तह अर्थात् मेडिकल अधिकृत(एम बि बि एस) डाक्टरहरू छन् । सरकारले ती मध्येका १७८ जनालाई संघ अन्तर्गत र त्यसपछिका बाकी ४८८ जनालाई प्रदेश तथा स्थानीयमा समायोजन गर्दै छ। यसरी स्थानीयमा समायोजन भई जाने डाक्टरको प्रदेश तथा संघमा आउने बढुवाको साँघुरो बाटो भए पनि सरुवाको बाटो भने बन्द गरिएको छ ।

तलब भत्ता खासै आकर्षक नहुँदा पनि एम बि बि एस डाक्टर लोक सेवाको जागिरप्रति राम्रै आकर्षण रहँदै आएको छ । कारण के भने हालसम्म दुर्गम मा २ तथा सुगम मा ३ वर्ष सेवा गरे पछि उच्च शिक्षा(एम डी र एम यस) का लागि अध्ययन बिदा सजिलै पाइन्थ्यो र अध्ययन सके पश्चात् त्यही अनुसारको काम गर्न मिल्ने अस्पतालमा पद स्थापना हुन्थ्यो । तर अहिलेको प्रस्तावित संघीय निजामती सेवा विधेयकमा अध्ययन बिदाको के कस्तो प्रावधान रहेको भनी केही उल्लेख नभएको र प्रदेश तथा स्थानीय सेवा ऐन आई नसकेको अवस्थामा डाक्टरहरू सो अध्ययन बिदा पाउने नपाउने भन्नेबारे आश्वस्त हुन सकेका छैनन् । हुन त प्रदेश तथा स्थानीय सेवा ऐनको मार्ग निर्देशकको काम संघीय निजामती सेवा ऐन ले नै गर्ने भनिएको भएता पनि अहिले को प्रस्तावित संघीय निजामती सेवा विधेयक मै यसबारे कुनै उल्लेख नभएकोले भोलिका दिनमा के कस्तो हुने हो भनेर अन्योल ल्याएको छ ।

अध्ययन बिदा पाउने सुनिश्चित भए पनि समस्या रहन्छ । समस्या अध्यन बिदा मात्रको हैन । स्थानीयमा समायोजन भई जाने डाक्टर हरूलाई प्राथमिक स्वस्थ केन्द्रमा खटाइने छ । प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत(आठौँ तह)को दरबन्दी हुन्छ । मानौँ केही गरी पहिला जस्तै दुर्गम मा २ तथा सुगम मा ३ वर्ष सेवा गरे पछि अध्ययन बिदा पाइहाले पनि अध्ययन सके पश्चात् तहाँ खटाइएका डाक्टर मेडिकल अधिकृत(आठौँ तह) को दरबन्दी तत्त् प्रा स्वा के मै कायम रहने भएकोले शैक्षिक योग्यता विशेषज्ञ(एम डि र एम एस) को रहेता पनि निजले प्रा स्व के मै मेडिकल अधिकृतकै हैसियतमा काम गर्नु पर्ने हुन्छ।

विशेषज्ञ सेवा यौटा टिम वर्क हो । कुनै विशेषज्ञ सेवा प्रदान गर्नका लागि एक जना मात्रले हुँदैन । त्यसमाथि अझ भौतिक पूर्वाधार, ल्याब जाँच, उपकरण अनि अन्य जनशक्तिको पनि उतिकै आवश्यकता हुन्छ । उदाहरणका लागि कोही आठौँ तहका मेडिकल अधिकृत डाक्टरले रेडियोलोजी वा एनिस्थेसियोलोजी वा त्यस्तै अन्य कुनै विषय एमडी गरेर आए पश्चात् तिनले आफूले पढेको विषयगत सेवा दिन यौटा प्रा स्वा के मा आवश्यक जनशक्तिदेखि पूर्वाधारसम्म केही पनि नहुने हुँदा चाहेर पनि आफ्नो विशेषज्ञता अनुसारको सेवा दिन असमर्थ हुन्छ ।

बुझ्न गाह्रो छैन नि । भगवान् कोइराला जति सुकै राम्रो कार्डियो-सर्जन भए पनि उहाँलाई जुम्ला या सिराहाको कुनै प्रा स्वा के मा राखिदियो भने उहाँले त्यहाँ आफ्नो विशेषज्ञता अनुसारको सेवा के दिनु होला ? आफै सोच्नुस् । अझ  चिकित्सा क्षेत्र भनेको त निरन्तर अध्ययनशील भई राख्नु पर्ने तथा उपचारका नयाँ नयाँ प्रविधिबारे आफूलाई अपडेट गराई राख्नु पर्ने विशिष्ट किसिमको विधा भएको हुनाले पनि यौटा विशेषज्ञ चिकित्सकलाई यौटा स्थानीय निकायको प्रा स्वा के मा सीमित राखिदिनु बुद्धिसम्मत हैन । त्यस्तो अवस्थामा पनि त्यही आफ्नो दरबन्दी रहेको स्थानीय निकाय अन्तर्गतको प्रा स्वा के मा काम गर्नु पर्दा यसले चिकित्सकको सिप र ज्ञानमा ह्रास आउने तथा उनको वृत्ति-विकासमा समेत प्रतिकुल असर पर्ने हुँदा चिकित्सकलाई स्थानीयमा समायोजन गर्नु समस्या नै हो ।

स्थानीय तथा प्रदेशमा समायोजन भएर जानु भएका डाक्टरहरूलाई एम डी र एम एस गरे पश्चात् सङ्घमा सरुवा गरिदिए हुन्थ्यो तर गर्नै नमिल्ने गरी समायोजन ऐन ल्याएर समस्या भएको छ । स्थानीय तथा प्रदेशमा समायोजन भई गएको कर्मचारीहरू सरुवा भएर सङ्घ(विशेषज्ञ चिकित्सकको दरबन्दी हुने भएर)  आउने बाटो नै यस समायोजन ऐनले बन्द गरिदिएको छ । स्थानीय तथा प्रदेशमा समायोजन भएर गएका कर्मचारीहरू एक प्रदेश भित्रका एक स्थानीय तहबाट अर्को स्थानीय तहमा मात्र सरुवा हुन सक्नेछन् । यसले कुनै समाधान भने दिँदैन । केवल ठाउँ मात्र फरक हुने हो, संथाको स्तर उही प्रा स्वा के नै हो ।

अहिले स्थानीय र प्रदेश मा समायोजन गरी पठाउन लागिएको मेडिकल अधिकृत(आठौँ तह) को सङ्ख्या ४८८ छ । नवौँ तहमा त्यतिकै सङ्ख्या मै पदपूर्तिका लागि आवेदन खुल्दैन । अनि जे जति सङ्ख्यामा खुले पनि कुल सङ्ख्याको २० प्रतिशत मात्रमा खुल्ला प्रतियोगिता द्वारा पदपूर्ति गरिने व्यवस्था छ(प्रस्तावित सङ्घीय निजामती सेवा विधेयक को दफा ८ को उपदफा १० अनुसार) । यसरी एकातिर एक तह माथि (नवौँ तह) को दरबन्दी नै कम हुने अर्कोतिर पदपूर्ति का लागि आह्वान गरेको कुल सङ्ख्या को २० प्रतिशत मात्रमा बढुवाको लागि उम्मेदवार हुन् सकिने त्यो पनि खुल्ला मात्र मा , जसमा गैर सरकारी सेवाका तै समूहका आठौँ तहका मेडिकल अधिकृतसँग त्यै २० प्रतिशत सिटमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

यस्तो अवस्था मा एम डी र एम एस गरे पश्चात् पनि आफ्नो शैक्षिक योग्यता अनुसारको पद मा बढुवा हुन् निकै कुर्न पर्ने हुन् सक्छ र त्यसरी बढुवा भई बढुवा भएको पद अनुसारको दरबन्दी रहेको अस्पताल र सस्थामा नगइन्जेल त्यै प्राथमिक स्वस्थ केन्द्र मा बस्नु पर्ने बाध्यात्मक अवस्था रहने छ ।

त्यस्तै अन्तरसेवाबाट पदपूर्ति हुने पदका लागि योग्य उम्मेदवार हुन पनि प्रस्तावित सङ्घीय निजामती सेवा विधेयक अनुसार समायोजन भई स्थानीय तथा प्रदेशमा गएका कर्मचारीले त्यसरी खटिएका ठाउँमा आठौँ तहमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्ने (प्रस्तावित सङ्घीय निजामती सेवा विधेयक को दफा ८ को उपदफा ५ मा) व्यवस्था रहेको छ । अर्थात् अहिले स्थानीय तथा प्रदेशमा समायोजन भई जाने आठौँ तहका डाक्टरले २-३ वर्ष त्यसरी त्यस निकायमा सेवा दिई ३ वर्ष एम डी र एम एसको अध्यन पश्चात् पनि कम्तीमा थप दुई वर्ष त्यै प्रा स्वा के(जहाँ उनको शैक्षिक योग्यता र दक्षता अनुसारको दरबन्दी नै हुँदैन) मा काम नगरी अन्तर सेवाबाट पद पूर्ति गरिने पदका लागि उम्मेदवार हुन पाउने छैनन् ।

यसरी चिकित्सकहरूको व्यक्तिगत वृत्ति विकास त रोकिन्छ नै, न त उनले आफूले पढेको जानेको विधा र योग्यता अनुसार सेवा दिने प्लेटफर्म पाउँछन् न त आफूले सिकेको जानेको विधामा थप नयाँ र आधुनिक उपचार प्रणाली बारे आफूलाई उपडेट नै राख्न सक्छन् ।

यस्तो अवस्थामा निराश, कुण्ठित र दमित मानसिकतामा हरदम काम गर्नु पर्दा चिकित्सा सेवा जस्तो सम्वेदनशील सेवाको कर्मचारीको मनोदशा कस्तो हुने हो भनी अनुमान गर्दा नि डर लाग्दो दु:खद अवस्था एकातिर छ भने त्यस्तो तनाव मा रहेर सेवा दिनुपर्दा त्यसरी दिएको सेवाको गुणस्तरीयता प्रभावित नहुने भन्न सकिन्न । र, यसले सेवाग्राही पनि मर्का मा पर्ने छन् । त्यसैले सरकारले स्थानीय निकायमा एक थान डाक्टर मात्र दिएर त्यहाँका जनतालाई समेत न्याय गरेको ठहरिन्न ।

डाक्टरहरू सबै काठमाडौँ मै मात्र बस्ने भन्न खोजेको हैन । न त अहिले नै लोक सेवाका आठौँ तहका डाक्टर काठमाडौँमा थुप्रेका छन् न त् त्यसरी थुप्रिन चाहेका छन् । अझ भन्ने हो भने बरु लोक सेवाका डाक्टरहरू सकेसम्म दुर्गम जान  खोज्छन् र अहिले पनि सबै जसो दुर्गम मै रहेर अहोरात्र बिरामीको सेवा गरिरहेका छन् । अहिले समायोजनमा पनि डाक्टरले के मात्र चाहेका छन् भने खटाउन दुर्गम मै खटाइयोस् तर अध्ययन बिदा, बढुवा र सरुवाको व्यवस्था हालसम्म कायम रहे बमोजिमकै ऐनमा पनि उल्लेख गरियोस् ताकि माथि उल्लेख भए जस्तै वृत्ति विकासमा समस्या नआओस ।

चिकित्सा सेवा अत्यन्तै सम्वेदनशील, अध्ययनशील तथा विशिष्ट सेवा भएको हुनाले आवश्यकता अनुसार एक ठाउँबाट अर्को, एक प्रदेशबाट अर्को वा एक तहबाट अर्कोमा सरुवा आदि गरिराख्नु र भई राख्नुपर्ने हुनाले अहिले समायोजन गर्दा आठौँ तह भन्दा माथि सबै चिकित्सकलाई सङ्घ अन्तर्गत नै राखी सङ्घ, प्रदेश तथा स्थानीयको मातहतमा रहेको स्वस्थ संस्था मा खटाउन सकिन्छ । यसो गर्दा सरकारको सबै तहको स्वस्थ संस्थामा चिकित्सक पुर्‍याउने प्रतिबद्धता नि पुरा हुन्छ भने यसले त्यसरी खटिएका चिकित्सकहरूको वृत्ति विकासको बाटो पनि प्रशस्त गरिदिने छ । केही गरी सबै चिकित्सकलाई सङ्घ मै राख्न नसकिने अवस्थामा सङ्घमा रहेको दरबन्दी पुरा भई बाकि रहेकालाई स्वास्थ्य मन्त्रालयमा पुल-दरबन्दी सिर्जना गरी सोही अनुसार खटाउन नि सकिन्छ ।

अनेक कारणले दक्ष र उच्च शिक्षा प्राप्त जनशक्तिहरूको पलायन हुनेक्रम तीव्र रहेको र अझ मेडिकल शिक्षा पढेकाहरूका लागि अमेरिका, बेलायत लगायतका विकसित देशहरूमा आकर्षक जागिर रहेको जानकारीका बाबजुद पनि आफ्नै देशमा रही आफ्नै गाउँ समाजका जनताको सेवा गर्नु पर्छ भन्ने बोधका साथ निकै निराशजनक रहेको सरकारी तलब सुविधाको बाबजुद पनि यसरी सरकारी सेवालाई अङ्गालेका हामी चिकित्सकहरूलाई घोक्रेठ्याक लगाएर यौटा स्थानीयमा झन्डै झन्डै जीवनभर थन्काउने नीति लिनुभन्दा सरकारले हामी डाक्टरहरूको पनि सम्भावित कठिनाइलाई ध्यानमा राख्दै माथि सुझाए जस्तो गरी खटाइदा आम जनताले पनि गुणस्तरीय सेवा पाउन सक्छन् भने चिकित्सकहरू पनि यौटा जोस र जाँगरका साथ सधैँ झैँ बिरामीको सेवा मा सपर्पित रहन प्रेरित हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस