डाबोस, इन्डस्ट्री फोर पोइन्ट जिरो र नेपाल - प्रशासन प्रशासन
prasaLogo
२ फाल्गुन २०७५, बिहीबार

डाबोस, इन्डस्ट्री फोर पोइन्ट जिरो र नेपाल


प्रकाशित मिति : 14 February, 2019 8:30 am

डाबोस

कतिपय घटना यस्ता हुन्छन्, प्याक्क मुख खोलेर बोल्दा आवेगपूर्ण हुने र नबोल्दा असह्यीय हुने हुन्छ । त्यस्तै एउटा समकालीन घटना महामहिम प्रधानमन्त्रीको जनवरी दोस्रो-तेस्रो सातातिर भएको डाबोस भ्रमणको विषयले द्विविधामा पा¥यो । मूलतः यहाँ पंक्तिकारले महामहिमको फोरममा सहभागिताको राजनीतिक, कूटनीतिक समीक्षा भन्दा फोरममा उठाइएको थिइन, नेपालको अवस्था र त्यसतर्फका केही प्राविधिक अवधारणाहरूको बारेमा समेट्ने प्रयास गरिएको छ ।

डाबोसः
झन्डै एघार हजार जति जनसङ्ख्या भएको युरोपको विकसित राष्ट्र स्वीट्जरल्याण्डको अति खर्चिलो सहर(जिल्ला) हो, डाबोस । जुन सहरमा, “एलिटहरुको चेयर्स” भनेर समेत चिनिने, विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय विश्वास आर्जन गर्ने थलोको रूपमा परिचित विश्व आर्थिक मञ्चले वार्षिक बैठक गर्दै आएको छ ।

त्यसो त सार्वजनिक निजी क्षेत्रको समन्वयको लागि साझा बहस थलोको रूपमा काम गर्दै आएको र पश्चिमाको दृष्टिमा विश्वव्यापीकरणको रखवारी गर्ने निकायको रूपमा छवि बनाएको, पूर्वीय तेस्रो विश्वको दृष्टिमा पहिलो विश्वका बजार क्षेत्रलाई पूर्वीय तथा तेस्रो विश्व बजारमा सञ्जाल विस्तार गरी स्वार्थ प्रवर्द्धन गराउने अभिकर्ताको रूपमा चिनिएको विश्व आर्थिक मञ्चले सालिन्दा जस्तै २२–२५ जनवरी, २०१९ मा ४९ औँ वार्षिक बैठक सम्पन्न ग¥यो । बैठकमा मूलतः निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, सांस्कृतिक अभियन्ता र नियामक सार्वजनिक क्षेत्रका विश्व राज नेताहरूलाई प्यानलमा प्रश्न गरेर एक साझा थिम तयार गर्ने ध्येय राखिएको पाइन्छ । जसको उत्पादेयीता स्वरूप हाल डाबोसबाट आठ उच्च स्तरीय कथा, डाबोस विद्वानहरूबाट पाँच अन्तर दृष्टि आदि आदि………..जस्ता विषयमा स्तम्भ तथा विचार अभिव्यक्त भएका छन्, जसले आगामी विश्व अर्थ राजनीतिमा प्रभाव पार्ने दृष्टिकोणहरू बन्न आधार दिने छन् ।

बैठकले विश्वका उच्च सरकारी नेतृत्वसँग केही राजनीतिक मुद्दाका अलावा बदलिँदो अर्थ-राजनीतिक व्यवस्थामा उत्पादकत्व बढाउन, प्रतिस्पर्धी क्षमता बढाउन, श्रमिकको चासोलाई सम्बोधन गर्न, लगानी, प्रविधि हस्तान्तरण सम्बन्धमा सार्वजनिक धारणा मागेको पाइयो । साथै त्यस्ता प्रकृतिका कार्यका लागि निजी क्षेत्रले अगाडी बढाएका प्रविधि, सोच, विवेक तथा रणनीति सम्बन्धमा समेत धारणा लिइएको देखियो ।

इन्डस्ट्री फोर पोइन्ट जिरो 
विश्वका औद्योगिक विकासमा उत्पादन शैलीलाई लिएर इन्डस्ट्रीको पुस्ता विकास गरेको इतिहास पाइन्छ । जहाँ सर्वप्रथम उत्पादन शैलीमा सरल, अधिक उत्पादन, कौशलतामा जोड दिएर पानी तथा वास्पको प्रयोग गरेर १८ औँ शताब्दीको अन्त्यतिर अर्थात् सन् १७८४ मा इन्डस्ट्री वान पोइन्ट जिरो (१=०) जसलाई पहिलो औद्योगिक क्रान्ति भनियो । वास्फ इन्जिन लगायतका उत्पादनका प्रविधिको प्रयोगलाई उपलब्धिको रूपमा लिइयो ।

समाज क्रमिक रूपमा विकास, जटिल बन्ने क्रम र मानिसका आवश्यकता स्वरूप उत्पादन अधिकतम महसुस भयो जसले गर्दा विद्युतीय शक्तिलाई प्रयोग गरेर १९ औँ शताब्दीको अन्त्यतिर अर्थात् सन् १८७० मा इन्डस्ट्री टु पोइन्ट जिरो (२=०) जसलाई दोस्रो औद्योगिक क्रान्ति भनियो । ठुला उत्पादन प्रविधिलाई साना मेसिनले प्रतिस्थापन गर्ने क्रमसँगै इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिको उपयोगबाट स्वचालित उत्पादनलाई जोड दिई दोस्रो औद्योगिक क्रान्तिको शताब्दी पछि जस्तो अर्थात् सन् १९७० मा इन्डस्ट्री थ्री पोइन्ट जिरो (३=०) जसलाई तेस्रो औद्योगिक क्रान्ति मानियो ।

आज, विश्व व्यवस्था बदलिँदै छ, विश्व व्यापार सङ्गठन, उत्पादन संयन्त्र, सोच, उन्नयन जस्ता द्योतकहरूमा ऐतिहासिक परिवर्तन आएको छ । साथै चलायमान अर्थतन्त्र, वयस्क उद्यमीहरूको प्रतिस्पर्धा, उत्पादन बजारको फराकिलो संरचना र स्वरूप, नयाँ प्रविधिहरूको अभ्युदय, फैलिँदो सञ्जालीकरण र खुला तथा सभ्य सञ्चारसँगै बढ्दो पारदर्शिताले पूर्ववत् उत्पादन प्रणाली र नेतृत्वले आगामी औद्योगिक बजार सञ्चालन असम्भव प्रायः भएपछि उत्पादन शैलीमा योजनाबद्ध रूपमा रणनीतिक परिवर्तन आवश्यक देखियो ।

जसलाई सम्बोधन गर्नका लागि औद्योगिकरणमा अगुवा गर्ने मुलुकहरूले उत्पादन प्रणालीलाई रूपान्तरण र परिष्कृत गर्नु पर्ने आवाज उठाए । जापानले सन् २०१२ देखि सुरु गरेको प्रधानमन्त्री सिन्जो आबेले अगाडी सारेको जापानी अर्थतन्त्र सुधारको मार्गचित्र समेटिएको परिलक्षित “आबेनिज्म” मा यसलाई ताहाँ भन्दा अगाडी बढेर सोसाइटी फाइभ पोइन्ट जिरोको नामले अगाडी बढाएको पाइन्छ भने युरोपेली औद्योगिक मुलुक जर्मनीले उच्च प्रविधि रणनीति, २०२० का लागि सन् २०११ मा एक अध्ययन समूह बनाएर सुरु ग¥यो । उत्पादन शैली रूपान्तरणको खोजी ग¥यो ।

यद्यपि चौथो औद्योगिक क्रान्तिको लहरको बीजको अंकुरण भने विभिन्न नवआधुनिकीकरणविद्हरूले सन् २००३ बाट साइबर फिजिकल प्रोडक्सन सिस्टम(सिपिपिएस) नाम दिएर गराएका थिए । जसलाई संक्षेपमा आई फोर अर्थात् फोर आइआर समेत भनिने गरिन्छ । यसको सञ्चालन संयन्त्रमा एक अर्कासँगको सूचना संप्रेषणको माध्यम इन्टरनेटको प्रयोग र विना तार अर्थात् इन्टरनेट अफ थिङ्क(आईओटी) लाई गरिन्छ । यस्तो उत्पादन प्रणाली र उत्पादन अनुयायीहरूमा अगुवाइ गर्नेलाई लिडर सिप फोर पोइन्ट जिरो मानिन्छ, जसले श्रमिक र नेतृत्वबिच केवल पुरानो पदसोपानी सम्बन्ध अर्थात् लम्बवत(ठाडो प्रकृतिको) नभई क्षैतिजीय सम्बन्ध (तेस्रो प्रकृतिको) पनि हुनुपर्नेमा जोड दिएको छ ।

यो उत्पादन प्रणालीमा केही संयन्त्र तथा प्रविधिहरूको प्रयोग र उपयोग हुन्छ, जसलाई यहाँ उल्लेख गरिएको छ ।

इन्टरनेट अफ थिङ्क (आईओटी)
यो एक उच्च प्रविधियुक्त सफ्टवेयर संयन्त्रहरूको सञ्जाल हो । जसले संयन्त्रहरूलाई एकापसमा आबद्ध गराउने, अन्तर्क्रिया गर्ने र तथ्याङ्कको सहज आवतजावत गराउने गर्दछ । यसको प्रयोग सवारीसाधन, इलेक्ट्रोनिक्स, बैंकिङ्ग क्षेत्र लगायतमा गरिन्छ ।

इन्टरनेटको सहायताबाट सञ्चार तथा कार्याप्रवाह गर्न सक्ने यी संयन्त्रहरूको प्रविधिले नियन्त्रण र निर्देशित सूचना प्रवाहका लागि निर्देशन गर्दछ ।

साइबर फिजिकल सिस्टम (सिपिएस)
यो यस्तो मेकानिज्म हो जसले मानव जगत् र मेसिनबिच नियन्त्रण र सञ्चारको विषयमा जोड दिन्छ । यथोचित स्थितिमा रहेको प्रविधिमा नयाँ ज्ञानले संश्लेषण गरेर यसमा प्रयोग गरिन्छ । जुन समष्टिगत संरचनागत सुधारसँग अन्तर्निहित हुन्छ । अर्थात् यो ट्रान्सडिसिपेनरी तकनीकि हो ।

यसको प्रयोगको क्षेत्र अन्तरिक्ष, अटो मोबाइल्स, रासायनिक उत्पादन, स्वास्थ्योपचार क्षेत्र, औद्योगिक उत्पादन क्षेत्र, यातायात क्षेत्र, होटेल, उपभोग्य संयन्त्रहरूमा रहेको हुन्छ ।

सिपिएस प्रणालीमा स्वचालित मेसिन अर्थात् रोबोट, ज्ञानेन्द्रिय गुणयुक्त प्राविधिक साधन अर्थात् सेन्सर जसलाई विज्ञान तथा इन्जिनियरिङ प्रयोगको माध्यमबाट चातुर्किक रूपमा अभ्यास गरिन्छ ।

इन्डस्ट्री फोर पोइन्ट जिरोको मूल संरचनागत प्रणाली सी पी एस संयन्त्रको कार्यगत चरणहरू
स्थूल रूपमा यसको डिजाइन पाँच वटा चरणमा गरिएको हुन्छ । क्रमशः स्मार्ट जडान चरण (स्मार्ट कनेक्सन लेभल), तथ्याङ्कीय सूचनाहरूको साक्षात्कार चरण(डाटा टु इनफर्मेशन कन्भर्सन लेभल), इन्टरनेटको माध्यमबाट विद्युतीय सञ्चारको चरण (साइबर लेभल), अनुभूति चरण (कग्निशन लेभल) र अन्ततः संरचनागत निर्माणको चरण ( कन्फ्य्रुगेशन लेभल) हुँदै साइबर फिजिकल प्रोडक्सन सिस्टम पूर्ण रूपमा उपादेयी हुन्छ ।

ग्लोबलाइजेशन फोर पोइन्ट जिरो
विश्वमा झाँगिदै गएको बहुधुर्वीय अन्तर्राष्ट्रिय व्यवस्था र बढ्दो असमानताको कारण सन् १९८० को दशकबाट अगाडी आएको श्रम, बजार, वित्त, सूचना प्रविधि लगायतको विश्व स्तरमा सहज आप्रवाहको अवधारणामा नवीकरणको अपेक्षा गरिएको छ । जसलाई ग्लोबलाइजेशन फोर पोइन्ट जिरो भनिन्छ । यसले दुई वटा सिद्धान्त अंगिकार गरेको छ पहिलो विश्व जगतको फराकिलो आवद्धता हो भने दोस्रो सोच, विवेक र उत्पादन शैलीमा उच्च परिकल्पना हो ।

यसरी माथि उद्धृत परिदृश्यहरूको सम्बन्धमा पूर्व तयारी भई विश्व जगत्मा यस्तो परिवर्तित व्यवस्थालाई कार्यान्वयनका लागि जिम्मेवार निकायहरू राजनीतिक नेतृत्व, उत्पादन बजारका स्वामी तथा पुँजी संचयकर्ता खर्बपतिहरु र विभिन्न विषयका विज्ञहरूको सहभागिता हुने गरी स्वीटजरल्याण्डको डाबोसमा जवनरी २२ देखि २५ सम्म “ग्लोबलाइजेशन फोर पोइन्ट जिरो सेपिङ्ग ए न्यू आर्किटेक्चर इन द एज अफ दी फोर्थ इन्डस्ट्रीयल रिभोलुसन” थिइम राखेर विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक सम्मेलन आह्वान गरेको थियो । जुन सम्पन्न भयो ।

डाबोसमा नेपालको उपस्थिति
नेपालको उपस्थितिका सम्बद्धमा दुई खालका प्रतिक्रिया भएको पाइयो । एकाथरीले गैर सरकारी क्षेत्रको निमन्त्रणालाई स्वीकार गरेर स्वाधीन देशका सरकार प्रमुखको उपस्थिति हलुका तथा प्रस्तुत अभिव्यक्ति तथा तयारी कूटनीतिक अपरिपक्कताको परिचायक भएको भन्ने आलोचना भएको पाइयो भने अर्काथरीले प्रधानमन्त्रीको डाबोसको प्रस्तुति अन्तर्राष्ट्रिय वृत्तमा नेपालको शिर उँचो पार्ने काम गरेको भनेर खुलेर प्रशंसा समेत गरे ।

तर डाबोस बैठकको मूल थिइमसँग मिल्ने गरी नेपालले गरेका केही प्रयासहरू भने महामहिम त के टोलीका कसैको अभिव्यक्तिमा आउन सकेन । “ग्लोबलाइजेशन फोर पोइन्ट जिरो सेपिङ्ग ए न्यु आर्किटेक्चर इन द एज अफ दी फोर्थ इन्डस्ट्रीयल रिभोलुसन” को केही उदाहरणीय काम नेपालमा पनि भएका छन् जुन केहीको यहाँ संक्षेपमा उल्लेख गरिएको छ ।

काठमाडौँको दरबारमार्गमा प्रमुख कार्यकारी अधिकृत तथा लगानीकर्ता युवा व्यवसायी ई. विनय राउतले सञ्चालन सुरु गरेको नौलो होटेल दक्षिण एसियामा स्वदेशी निर्माता कम्पनीको रोबोटिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सेवा दिने पहिलो होटेल हो । त्यस्तै प्रविधिको सिकासका लागि तथा रोबोटिक प्रविधिबाट क्रिप्सी क्रुञ्ची फ्राइड किचेन (केकेएफसि) क्याफे सञ्चालक अमर शाह यसले प्रविधि र स्वादलाई मिश्रित गरेर पस्केको भनी रोबेटिक सर्भ अर्थात् सेवा दिने गरी सुरु गरेको व्यवसायीक क्षेत्र जस्ता प्रविधि हस्तान्तरण र व्यवस्थापनमा नै सहभागी हुने गरी प्रतक्ष्य वैदेशिक लगानी र प्रविधि भित्र्याउने तर्फ कुनै विषय समेटेको पाइएन ।

नौलो होटेलमा प्राविधिक सहयोग गर्ने पाइला टेक्नोलोजीले नै प्राविधिक सेवा दिई तयार गरेको बैंकिङ्ग क्षेत्रमा एस. वि. आई. बैङ्कले प्रयोगमा ल्याएको परि नामको रोबेटले बैङ्किङ अभिवादन, बैङ्किङ सूचना तथा नयाँ स्किम प्रयोग विधि बारेमा एकपक्षीय प्रतिक्रिया दिने प्रविधिलाई सरकारले परिमार्जन र परिष्कृत गरी अन्य सरकारी क्षेत्रमा पनि क्रमिक रूपमा विस्तार गर्दै जान्छौ भन्न समेत भ्याउनु भएन ।

केवल नेपाली झन्डावाला पानीजहाज नेपालका महामहिमको “ओली डक्ट्रिन” लिएर नेपालले कहिले इन्डट्री फोर पोइन्ट जिरो उत्पादन प्रणाली अपनाउँला ?

जे होस् इन्डस्ट्री फोर पोइन्ट जिरोका केही प्राविधिक पक्षहरूलाई नेपालमा समेत आन्तरिकीकरण गर्नु पर्ने देखिन्छ ।

जसका लागि अबको उत्पादनतर्फ लगानीका क्षेत्रहरू क्रमशः इलेक्ट्रोनिक्स, रोबोटिक यातायात, इन्जिनियरिङ र निर्माण, औद्योगिक निर्माण, अटोमोबाइल्स, खनिज धातु, रसायन उद्योग, सुरक्षा र प्रतिरक्षामा हुने गरी मिलाउनुपर्ने देखिन्छ ।
यसको आन्तरिकीकरण र कार्यान्वयनका लागि अन्तर आबद्धता, सूचना पारदर्शिता, विकेन्द्रीकृत निर्णय अधिकार र प्राविधिक सहायतामार्फत सफ्टवेयर क्षेत्र, औद्योगिक मेसिन प्रयोगकर्ता, मेनुफ्याक्चरिङ्ग, लजिस्टिक्स क्षेत्रका उत्पादनकर्ता क्रमशः जिम्मेवार हुने देखिन्छ । यस उत्पादन प्रणालीका परिचायकका रूपमा स्वचालित उत्पादन प्रणाली, भण्डार, व्यवस्थापन तथा प्रक्रिया नै कम्प्युटरमा हुने, भौतिक प्रचार खर्चलाई बचत, वृहगम् तथ्याङ्क, विद्युतीय अपराध सुरक्षा, इन्टरनेटको माध्यमबाट तथ्याङ्कको प्रेषण, प्राप्ति र प्रक्रिया गर्ने, लम्बवत तथा क्षैतिजीय नेतृत्व श्रमिक सम्बन्ध हुने हुँदा हालको उत्पादन प्रणाली भन्दा तुलनात्मक लाभ हुने देखिन्छ ।

नवीन उत्पादन शैली अपनाउनका लागि केही सीमितताहरु समेत नरहने होइनन् सबैरुपमा तयारी र स्थायित्व, उत्पादनमा प्रणालीमा रोबोटिक संयन्त्रको इमान्दारिता, पर्याप्त सीप, ज्ञान र दक्षताको अभाव, मानवीय रोजगारीको कटौती, कानूनीरुपमा तथ्याङ्कको सुरक्षा, अत्यधिक लगानी, नियमनको कमी जस्ता अड्चन देखा पर्दछन् तथापि यस्ता चुनौतीहरूसँग संवेदनशील हुँदै विश्वव्यापी रूपमा अगाडी सारिएको प्रविधि र प्रणालीलाई आन्तरिकीकरण गरी अवलम्बन गर्नका लागि आशावादीता, तादाम्यता, अन्वेषणमा जोड दिई सुरक्षा, पुँजी प्रबन्ध, रोजगारी र गोप्यता प्रति चनाखो हुनुपर्ने हुन्छ ।

अब इन्डस्ट्री फोर पोइन्ट जिरोबाट उम्किने की अनुकूलित हुने त ?
हङकङको ह्यानसन रोबोटिक्सले उत्पादन गरेको १४ फेब्रुअरी, २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको सोफिया नामक रोबोटले विश्व समुदायको ध्यान खिचेको थियो । सोफियाले पचास भन्दा बढी मानवीय भाव स्वचालित प्रदर्शन गर्न सक्दछ । जसले इतिहासमा पहिलो पटक गैर मानवले नागरिकता प्राप्त ग¥यो । यस्ता प्रविधि प्रति आज विश्व जगतको चेवा सकारात्मक र आशावादीतायुक्त छ ।

बेलायतको डेलोइट्टी नामक एक अन्तर्राष्ट्रिय व्यावसायिक प्राइभेट कम्पनीले सन् २०१७ मा गरेको एक अध्ययनले ५३ प्रतिशत कम्पनीहरूले पहिले स्थापना कालमा मानिसले गर्ने काममा हाल मेसिनको प्रयोग गर्ने गरी स्थापित भएका हुन्छन् । सन् २०१८ मा त्यस्तो प्रतिशत करिब ७२ प्रतिशत पुग्ने कम्पनीले अध्ययन प्रक्षेपण सार्वजनिक गरेको थियो ।

विश्व आर्थिक मञ्चले यही जनवरी, २०१९ मा प्रकाशन गरेको एक प्रतिवेदनले आगामी एक दशकमा स्वचालित उत्पादन प्रणालीका कारण करिब १३ लाख ७० हजार मावन श्रमशक्तिले पूर्णरुपमा रोजगारीबाट प्रतिस्थापित हुनेछन् भन्ने देखाएको छ ।

यसरी विश्व उत्पादन प्रणाली स्वचालित र रोबोटीक प्रविधिबाट निर्देशित हुँदा विश्व आर्थिक मञ्चको सन् २०१९ को वार्षिक बैठकको थिइम “ग्लोबलाइजेशन फोर पोइन्ट जिरो सेपिङ्ग ए न्यु आर्किटेक्चर इन द एज अफ दी फोर्थ इन्डस्ट्रीयल रिभोलुसन” बमोजिमको उत्पादन संयन्त्र खडा गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न हाम्रा सामु बहस र अनुन्नयको विषय हुने कि नहुने ? ए आई (आर्टिफिसियल इन्टेलिजेन्स) अर्थात् यस्तो बौद्धिकता जसलाई मानव सिर्जित कम्प्युटर प्रणालीले प्रदर्शन गर्ने गर्दछ त्यसलाई आत्मसात् गर्ने कि नगर्ने ? हामी जस्ता विकासोन्मुख अर्थतन्त्रले समावेशी आर्थिक विकासका लागि साइबर फिजिकल पोडक्सन सिस्टम अपनाउन सक्ने कि नसक्ने त ? आलोचना जे सुकै होस् नेपालले यस्ता महत्त्वपूर्ण बलियो मञ्चको कमजोर उपयोग कहिले सम्म गर्ने त ? विश्वका खर्बपति लगानीकर्ताहरू जो पहिले मानिसको ठाउँमा अब मेसिनको प्रयोग गरेर बचत बढाउन र अघोषित तवरले मानवीय श्रमिकलाई प्रतिस्थापन गर्न चाहन्छन् त्यस्तो चाहनाको प्रतिवाद कसरी गर्ने त ? डिजिटल अर्थशास्त्रको समयमा स्वचालित वा स्वचालनहीनता बिचमा हाम्रो इच्छा कता भनेर कहिले उद्घोष गर्ने हामीले ? प्रविधिको प्रयोगबाट पुँजीको वितरण हुन्छ वा सीमित व्यक्तिमा सम्पत्तिको स्वामित्व बढ्छ भन्नेमा कहिले मत निर्माण गर्ने र सुरक्षित हुने ? जस्ता विषयमा सम्बोधन हुने गरी पनि विचार राख्ने कि महामहिम ज्यू !

प्रतिक्रिया दिनुहोस