राजनीति र भ्रष्टाचार « प्रशासन
prasaLogo
१ फाल्गुन २०७५, बुधबार

राजनीति र भ्रष्टाचार


प्रकाशित मिति : 13 February, 2019 7:00 am

राजनीति र भ्रष्टाचार

सामान्यतया राजनीति र भ्रष्टाचार नितान्त फरक विषय हुन, यिनीहरूको अन्तर्य सम्बन्ध कहीँ कतै छैन । राजनीति शब्दको सब्दविग्रह राज र नीति हुन्छ जहाँ राज भन्नाले शासन सत्ता हुन्छ भने नीति भन्नाले उपयुक्त समयमा उचित काम गर्ने कलालाई बुझिन्छ तसर्थ शासन सत्ता सञ्चालनको समुचित कलाका रूपमा राजनीतिलाई चित्रण गर्न सकिन्छ । जनहितका लागि अहोरात्र खट्नु, सामाजिक स्थायित्व र सदाचारीता स्थापना गर्न लागि पर्नु, शासन व्यवस्थालाई चुस्त दुरुस्त बनाइ सुशासन कायम गर्नु राजनीतिको धर्म हो । यसमा सहभागी पात्रहरू जसलाई राजनेता वा राजनीतिकर्मी भन्छौ तिनीहरूमा कुनै लाभ प्राप्त गर्ने लोलुपता हुनु हुँदैन, निहित स्वार्थलाई भन्दा सामूहिक हितलाई जोड दिने गुण हुनु पर्दछ । त्यसैले यहाँ जनताहरूलाई फुलका बिरुवाको प्रतीक मान्न सकिन्छ भने राजनेतालाई तिनका माली ।

तर भ्रष्टाचार शब्दको शब्द विग्रह भ्रष्ट र आचार हो अर्थात् भ्रष्ट भन्नाले खराब र आचार भन्नाले बानी व्यवहार हुन्छ यानिकि सार्वजनिक महत्त्वको पदमा रही खराब बानी व्यवहार वा आचरण देखाउनु भ्रष्टाचार हो । आर्थिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, नैतिक सामाजिक भ्रष्टाचार आदि भ्रष्टाचारका स्वरूपहरू हुन । हाम्रो देशको परिवेशमा आर्थिक र नीतिगत भ्रष्टाचार बढी व्याप्त छ । शक्ति वा सत्ताको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्नु, अनुचित लाभ लिनु, सार्वजनिक धनमाल हिनामिना गर्नु आर्थिक भ्रष्टाचारका उदाहरण हुन भने राज्यका स्रोत साधन आफुअनुकुल प्रयोग हुने गरी नीति निर्माण नीतिगत भ्रष्टाचार हुन । आर्थिक भ्रष्टाचारले राष्ट्रिय अर्थतन्त्रलाई खोक्रो पारी देश कंगाल बनाउँछ, विकासका गतिविधिहरूमा पुरापुर अवरोध सृजना गर्दछ । देशको अर्थतन्त्र सीमित व्यक्तिहरूको मुठ्ठीमा रही गरिबी र बेरोजगारीले बिकारल रूप लिन्छ ।

राजनीति र भ्रष्टाचार एक अर्काका विपरीतार्थ हुन सिद्धान्ततस् यी दुवैको मेल हुँदैन विकसित हुन्छन् । नेपालको परिवेशमा पनि कतिपय राजनीतिकर्मीहरू इमानदार र कर्तव्यनिष्ठ हुनुहुन्छ, स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्नुहुन्छ, भ्रष्टाचारको खुलेर विरोध गर्नु हुन्छ । विज्ञानमा एउटा मान्यता छ जब दुई फरक गुण भएका जिनहरू प्रबल र लुप्त गुण बिच क्रस गराइन्छ तब पहिलो वंशमा प्रबल गुण हाबी हुन्छ अर्थात् प्रबल गुण मात्र देखा पर्दछ । ठिक यस्तै मान्यता अवस्था देखिएको छ अहिलेको नेपाली राजनीतिमा भ्रष्टाचार प्रबल गुणको रूपमा देखिएको हुँदा सदाचारी लुप्त गुणको रूपमा रही उनीहरूको अवमुल्ययन भएको अवस्था छ । सदाचारीहरुले कहिल्यै स्थान पाउन सकिरहेका छैनन् । यहाँ व्याख्या विश्लेषण गर्दै गर्दा ती इमानदार राजनीतिज्ञको अवमुल्ययन नहोस् भन्ने माग राख्न चाहन्छु । तथापि राजनीति र भ्रष्टाचारको दृश्यावलोकन गरी हेर्दा दृश्यको पर्दामा देखिएका पात्रहरूका क्रियाकलापले राजनीति र भ्रष्टाचार पर्यायवाची जस्तै देखिन थालेका छन् ।

नेपालमा विकसित घटनाक्रमलाई केलाइ हेरौँ, जहाँ भ्रष्टाचार जन्य गतिविधि भएका छन् त्यहाँ राजनीतिक संरक्षण वा संलग्नता भएका देखिन्छन् । पछिल्लो पटक चर्चाको शिखरमा रहेको वाइड बडी खरिद प्रक्रियामा भएका अनियमितता होस वा मेडिकल सञ्चालन अनुमति दिने प्रकृयमा हुने चलखेल होस, राजदूत नियुक्ति, विश्वविद्यालयका उपकुलपति छनौट, निर्माण व्यवसायीहरूलाई ठेक्का दिने सवाल, सुन काण्ड, राजश्व छली प्रकरण आदि सबैमा राजनीतिकर्मीहरूको संरक्षण रहेको छताछुल्ल भएको छ । यसै गरी यातायातमा सिन्डिकेट, नयाँ प्रोजेक्ट लन्च गर्दा हुने कमिसनको बार्गेनिङ, मेलम्ची खानेपानी आयोजनामा भएका आर्थिक अनियमितता लगायत तमाम अनियमितताका विषयहरू राजनीतिक संरक्षणमा भएका भ्रष्टाचारका प्रतिनिधि घटनाहरू हुन । यी घटनाहरूमा आपसी स्वार्थ बाझिदा वा भागबण्डा नमिल्दा सतहमा बाहिरिए । यी बाहेक कतिपय घटनाहरू यस्ता छन् जुन मिलेमतोमा हुने गरेका छन् बाहिर आउन पाउँदैनन् तर देशको ढुकुटी अनायासै रित्तिइरहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन २०१८ को फेब्रुअरीमा प्रकाशन गरेको ग्लोबल करप्सन इण्डेक्सको प्रतिवेदनमा विश्वका १८० देश मध्ये नेपालले ३१ अङ्क प्राप्त गर्दै १२२ औँ स्थानमा रहेको देखाएको छ । यसको अर्थ नेपाल विश्वका अन्य मुलुकको तुलनामा भ्रष्टाचार बढी हुने मुलुकमा पर्ने देखिन्छ । नेपालमा निजामती क्षेत्र, राजनीतिकर्मी, पेसा व्यवसायी, सङ्घ संस्था, सेना प्रहरी लगायतका सबै क्षेत्रमा केही न केही अंश भ्रष्टाचार भएकै छ । क्षेत्रगत भ्रष्टाचारलाई केलाउने हो भने नेपालमा राजनीतिक भ्रष्टाचार अन्य क्षेत्रका भन्दा अधिक रहेको देखिन्छ । नेपालमा सङ्घीयताको अभ्यास हुँदै गर्दा केन्द्र देखि स्थानीय तह सम्म सबै ठाउँमा भ्रष्टाचारी मनोवृत्ति हाबी छ । भ्रष्टाचारलाई तिलाञ्जली दिन सक्ने नेतृत्व कुनै संरचनामा भएको तथ्य फेला परेको छैन ।

नेपालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो प्रकृतिको छ । खर्च गर्न सक्नेले चुनाव जित्न सक्ने अवस्था हुने हुँदा दलिए उम्मेद्वाहरु पैसावाल गुण्डागर्दी गर्ने प्रवृत्तिका मात्र हुने अवस्था छ । तस्करी र गुन्डागर्दीमा संलग्न व्यक्तिले स्थानीय कार्यकर्तालाई आर्थिक प्रलोभनमा पारेकै भरमा मुलुक हाँक्ने जिम्मेवारीमा पुगिरहेको अवस्था छ । यसै गरी भ्रष्टाचारीका रूपमा अदालतबाट सजाय पाइसकेका नेताले टिकट वितरणको जिम्मेवारी पाउनु र स्थानीय स्तरबाट कार्यकर्ताले गुन्डा नाइकेहरूलाई सिफारिस गरी पठाउनु, अधिकांश ठुला दलबाट म्यानपावर सञ्चालक, व्यापारी, कमिसन एजेन्ट र शक्ति दलालले आफ्नो उम्मेदवारी सुनिश्चित गर्न थालेको समेत देखिएको छ । ठुला दलका नेताको संरक्षणमा रहेकै भरमा यस्ता व्यक्ति उम्मेदवार बन्न सक्ने अवस्था आएको छ । तिनैले संरक्षण गरेको र स्थानीय स्तरमा कार्यकर्तालाई किन्न सकेका कारण उनीहरू मुलुक र प्रदेशको विधि निर्माणको थलोमा पुगिरहेका हुँदा भ्रष्टाचारले संस्थागत रूप लिइरहेको हो । चुनावताका साधारण व्यक्तित्व एवम स्वच्छ छवि भएका व्यक्तिहरूलाई परास्त गरी उम्मेदवारी नै नदिने प्रवृत्तिले राजनीतिक भ्रष्टाचार अझ बढी मौलाएको हो । यती मात्रै नभएर संसद्मा स्वतन्त्र संसदीय अभ्यासले स्थान नपाइ पार्टीको ह्वीपलाइ मान्नु पर्ने संस्कार विकास भएको छ जसले भ्रष्टाचार विरुद्ध मत जाहेर गर्न संसदहरु तत्लिन हुन नपाउँदा भ्रष्टाचारले निर्बाध स्थान ओगटिरहेको छ ।

बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन व्यवस्थामा राज्य सञ्चालनको जिम्मेवारी राजनेताहरूमा हुने कुरामा विमति नहोला तर राजनेताका खराब चरित्र प्रति विमति हुनु अस्वाभाविक होइन । राजनेताका चरित्र राजनीतिक संस्कार एवम मूल्य मान्यताको प्रतिकुल भर्इ दिनाले यस किसिमको विमति हुनु स्वाभाविक हो । तसर्थ राजनेताहरूको चरित्र जनताको संरक्षक जनताका सेवक बन्ने प्रकृतिको हुनु आवश्यक छ । त्यस सँगै निर्वाचन प्रणाली भड्किलो एवम खर्चिलो हुनु हुँदैन, स्वतन्त्र रूपमा उम्मेदवार छनौटको अवसर जनताले पाउनु पर्छ । टिकट वितरण गर्दा स्वच्छ छवि भएका र त्याग तपस्या गरेका व्यक्तिहरूलाई प्राथमिकता दिनु आवश्यक छ । बन्ने कानुनमा भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति अपनाइनु पर्दछ । जनस्तरमा भ्रष्टाचार विरुद्ध चेतना आवश्यक छ, भ्रष्टाचारीका विरुद्ध सामाजिक बहिष्कारको अभियान सञ्चालन गरिनु पर्दछ । संसदभित्र र बाहिर संसदीय स्वतन्त्रतालाई स्थान दिइनु पर्दछ ।

राजनीति र भ्रष्टाचार दुई फरक विधा हुँदा हुँदै पनि यी क्षेत्रमा संलग्न पात्रहरूको चरित्रले दुवै लाइ एक अर्काका परिपूरक भएको भान पारेको हुँदा राजनीतिकर्मीको छवि धमिलो भई विश्व समुदायमा दिनप्रतिदिन बदनाम भइन लागेको हुँदा अन्य क्षेत्रको भ्रष्टाचारसमेत निराकरण गर्न राजनीतिक प्रतिबद्धता आवश्यक छ । अर्थात् राजनीति र भ्रष्टाचार आकर्षण नभई एक आपसमा विकर्षणको कित्तामा उभिनु पर्दछ । तब मात्र राजनीतिक मूल्यमान्यताको कदर भई राजनीतिक वितृष्णा मेटाउन सकिने र देश विकासले कोल्टे फेर्ने अवस्था सिर्जना हुन सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस