भाद्र ७ गते, २०७६

स्याङ्जालीले हराएको तुरुप !

कलब्रेक खेल्दै गर्दा भागमा बास्सा आउने बित्तिकै एक हात बोलिहाल्न अप्ठेरो हुने ! तर जब गुलाम पनि आउँछ, तब एक हात बोल्ने आँट कतै हराउँदैन । चण्डालजस्ता चिडीका बास्साहरुले अल्लि बढी फुर्ती लाइरहेको बेला हुकुमको दुक्की तिक्की नै काफी हुन्छ । राजनीतिको बास्सा खेलमा प्रशासनले गुलामको काम गर्नु उचित नै होला तर जब बास्साले एक्का को नै हेक्का नराखी भकाभक आफ्नै हातको मात्र फुर्ती लाउँछ तब प्रशासनले गुलाम होइन तुरुपको काम गर्नुपर्छ । (एक्का भनेको जनता) । तास नखेले पनि नियम पंकेलाई राम्रैसँग थाहा रै’छ, कर्मचारी जो पर्‍यो ।

राजनीतिको खोरमा थुनिएका बंधुवा आधुनिक राजाप्रसाद सेवाका विवेकानन्दहरुले खोर बाहिरको आधारभूत मानवअधिकार त बिर्सेका बेला लोकतन्त्र सम्झने कुरै भएन । यस्तै सङ्क्रमणकालीन अवधिमा गुज्रिरहेको प्रशासनिक यात्रामा पंकेको टिकट कर्णालीतिर सोझ्याईएको रहेछ । सरकारको रैती न पर्‍यो, हुकुम माथि प्रश्न उचित ठानिन्न, चाहे त्यो विवेकको होस् या कानुनको । पंके शान्त छ । केही उत्साहित पनि थियो, ‘कर्णालीका सुईना’ भाग दुई हेरीसकेपछी त्यहाँ गएर २/४ साल पसिना उमाल्ने रहर पालेको रहेछ । निजामतीको खुट्टामा अन्यायको साँघुरो जुत्ता लगाएर हुकुमको टोपी भिरेर पनि राष्ट्रसेवाको फराकिलो छाती बोकेर रवाना भयो, नाइट बसमा ।

रात्रीबसको यात्रा सधैँ सहज हुँदैन । उमेरले अधबैँसे पनि नपुगेको तर छोराको बाउ भैसकेको पंकेले आडैको सिटमा बोल्नकै लागि मात्र फरासिलो मान्छे(नारी अझ उत्तम) भइदिए बसमा निदाउनै नसक्ने मान्छेलाई रात काट्न सहज हुन्थ्यो कि भन्ने अपेक्षा रहेछ । गाडी बसपार्कबाट निस्कनै लाग्दा एक जना स्याङ्जाली चढेछ, संजोगले सिट पनि आडैको रै’छ । पंके झ्यालको सिटमा बसेर कालो झ्यालले आधा छेकिएको बाहिरको दृश्यलाई जति नाप्न सकिन्छ नियाल्दै थियो । स्याङ्जाली बसिसकेपछी शायद पंकेको अपेक्षामाथि सानसानो ढुङ्गा खस्यो । झुलुक्क फर्केर हेर्‍यो अनि फेरी बाहिरकै दृश्यमा मग्न । यता स्याङ्जाली भने मोबाइलमा अँ अँ गाडीमा चढेँ, ल ल बाटो बाटोमा फोन गरम्ला भन्नमै व्यस्त रहेछ ।

कलंकीको जाम, सतुंगलको धुलो र थानकोटको कोसेढुंगा कट्दासम्म पंके र स्याङ्जाली चुपचाप आफ्नै ध्यानमा निमग्न । ओरालो सुरु भएपछि चिसो र सफा हावा पनि आउन थाल्यो अनि स्याङ्जालीलाई बोलुंबोलु लागेछ र सोध्यो, चिसो हट्न थालेछ है ? झ्याल खोलेर बाहिर हेर्दै गरेको पंकेले झ्याप्प बन्द गर्‍यो र सरी भन्यो, हावा छिरेछ क्यारे । स्याङ्जालीले होइन होइन ठिकै छ, झ्याल खोल्नुभएपनि हुन्छ भन्यो । त्यसपछि थोरै मात्र हावा आउने गरी पंकेले झ्याल खोल्यो । कुरा गर्न सजिलो वातावरण बनाउँदै स्याङ्जालीले सोधिहाल्यो, तपाईँ पनि सुर्खेत जानुहुने हो ? पंकेले हो भन्यो र त्यही प्रश्न तेर्सायो र जवाफ पनि डिट्टो त्यही ।

पंके: सरको घर नै सुर्खेत हो ?

स्याङ्जाली: नाई ।

पंके: घुम्न जान लाग्नु भा की सर्भिसमा हुनुहुन्छ ?

स्याङ्जाली: सर्भिसमा छु, निजामती हो ।

पंके: ए, घरचाही ?

स्याङ्जाली: स्याङ्गजा हो सर ।

त्यसपछि पंके अलि फरक मोहडामा देखिन थाल्यो । ए, स्याङ्गजालीपो हुनुहुँदो रहेछ है भन्यो ।

स्याङ्जाली: हजुर, एसएलसी दिएर घर छाडेर हिंडेपछी मेरो नाम नै स्याङ्जाली भा’छ, कसैले जाली भन्छन्, कसैले फटाहा भन्छन् कसैले स्याङ्गे मात्र पनि भन्छन् । कलेज देखी नै यस्तै नाम बोकेर हिँडेको छु । निजामतीमा छिरेपछी नामको पछाडि ‘जी’ नथपी नामै पुरा नहुँदो रहेछ । जस्ता ऐरे गैरेले पनि ‘जी’ भन्न भ्याउछन, स्याङ्जालीजी रे के अब । स्याङ्जालीले गफगाफको राम्रो माहौल बनाउँदै थियो भने पंके हल्का खुलेको मुद्रामा देखिन्थ्यो ।

पंके: स्याङ्जा देखी सुर्खेत कसरी पुग्नु भो नि ?

स्याङ्जाली: जागिर हो सर, निजामतीमा इमानको जागिर खाँदा कहाँ आफुले सोचे र रोजे जस्तो हुन्छ र ! जता लखेट्छन्, उतै हाम्फाल्ने त हो । दुई वर्ष अघि मात्र कर्णालीदेखी काठमाडौँ आ’को, फेरी त्यतै पठाई हाले । अनि तपाईको सुर्खेत यात्रा ?

पंके: म पनि निजामती मै छु, तपाईँ जस्तै हो। तर मेरो पहिलो पटक हो यो । कस्तो हुने हो कुन्नि त्यहाँको बसाई ।

स्याङ्जाली: कर्णाली राम्रो छ सर । मलाई त त्यहाँ काम गर्न रमाइलो लाग्छ । अलिकति भौगोलिक जटिलता मात्र हो नत्र कर्णालीको प्राकृतिक सुन्दरता, धार्मिक र पुरातात्वीक ठाँउहरु, विशिष्ट संस्कार, अनि जनताको इमान र सत्कार धेरै नै सर्हानिय छ सर । तपाईँ रमाउनुहुनेछ, ढुक्क हुनुस् ।

पंके : खै, मेरो एउटा साथीको ४ महिना अगाडि सरुवा भा’को थियो । त्यस्तो अप्ठेरो परिस्थितिमा काम गर्नै सकिएन भनेर खामेसम्मको अनिश्चितकालीन बिदा लिएर घरैमा बसिरा’छ । जागिर नै छोडिदिंउकी भन्दै थियो । हामी साथीहरूले सधैँ यस्तो अप्ठेरो त कहाँ हुन्छ र सबै कुराको दिन आउछ, नआत्तिई भन्दै राजीनामा दिन हतार नगर भनी थम्थम्याएका छौँ ।

स्याङ्जाली: शासन र प्रशासनमा अबाञ्छित शक्तिको प्रयोग गर्ने मान्छेको कमी त कहाँ पो छ र सर । अन्त पनि कमी छैन तथापि जनता र भूगोलको विकटता भिजाएर लुटतन्त्र मच्चाउने गिरोह पनि मुठ्ठी कसेर सक्रिय छ रे कर्णालीमा । अझ सङ्घीय एकाई भईसकेपछी त भाग लगाएर अधिकार चर्चे झैँ आफ्नै कुवाभित्रको शासन र प्रशासन मान्दै अद्वितीय कुप्रथा चलाउँदै छन् अरे भन्ने सुनेको छु । संघियताको खुलेआम उपहास गरिरहेका छन् रे । जनताले अलिक मेसो नपाएर हो । त्यस्तालाई केही समय भित्रै त्यहीकै जनताले भित्ताको पोस्टर बन्ने गरी चप्काईदिने छन् । कर्णाली आफैमा त सुन्दर र विशिष्ट छ । अनि एकाध मान्छेले त्यस्तो गरे भन्दैमा कर्णालीलाई हेर्ने नजर नै फेर्न त भएन नि सर । धेरै राम्रा राजनीतिज्ञ र कुशल प्रशासकहरुपनि त जन्माएको छ कर्णालीले ।

पंकेले शंका मिश्रीत भावमा खै हेरुम भन्दै थियो, झ्याप्पै गाडिले ब्रेक लगायो । नौविसेमा बेलुकीको खाजा खाने बेला भएको रहेछ । १५ रुपैंयाको चाउचाउलाई ११५ हालेर खाई रहेका अर्का एक यात्रीको आडैमा बसेर पंकेले चिया खायो । स्याङ्जाली भने उज्यालो आकाशलाई ढाक्दै गइरहेको तानाशाही साँझको ऐठनबिच राजमार्गको आडैमा चुरोट सल्काएर रातको अधिनायकवादलाई खुले आम जुनकिरीको उज्यालोले जस्तै चुनौती दिई रहेको थियो । कतै टाढै पुग्न छ भन्या झैँ गरेर पंके हतार-हतार गाडी चढ्यो तर ड्राइभरले चना चपाएर सकेकै थिएन ।

घर छोडेर जागिर खान टाढा जाँदा गोधुली साँझमा गाडीमा घन्की रहेको दोहोरी गीतको तालमा मनमा अनेक भावनाहरू खेलाई रहेको स्याङ्जालीलाई पंकेको प्रश्नले फेरी सतर्क बनायो ।

पंके: निजामती सेवामा त हिजोआज कस्तो फोहोरी खेला सुरु भएछ है ? हुन त पहिलेका पुराना प्रशासनका मसिहाहरू पनि पंञ्चेहरुको गोडा धोएरै चोखिएका हुन । तर अनुशासन त थियो नि राजाप्रसाद बाहेकका अरू प्रशासकको मा । अहिले त झन्डाको ओत लागेपछी सबै राजाप्रसादहरू ।

स्याङ्जाली: किन त्यस्तो सोच्नु भो ?

पंके: जता पनि राजनीति । सरुवा, बढुवा, समिति, बोर्ड, कर्मचारी विन्यास जताततै राजनीति । हुँदा हुँदा सेवाग्राहीसँग  पनि पहिला भोट कसलाई दिएको भन्ने जाँचबुझ गरेर सोहिअनुसारको सेवा दिने अरे । मलाई नै हेर्नु न, खै कसले हो यो त प्रतिपक्षको नेता जन्मेको गाउँको मान्छे हो भनेर पेलेर लखेटे । अब, गाउँ एउटै हुँदैमा बेफ्वाक राजनीतिक पूर्वाग्रह राख्न मिल्छ र भन्या !

स्याङ्जाली: त्यस्तो होइन सर । त्यस्तो हुने भए त म झन् सत्तापक्ष मात्र नभएर मन्त्रीकै गाउँको मान्छे । यी मलाई पनि त लखेटे । यहाँ राजनीति हैन सर खुराफातको औकात हेरिन्छ । कसले कुन नेताको भातृसंगठन बिस्तार गर्न सक्छ या निजामती भएर पनि दलगत दख्खल राख्छ या जसले ठुल्ठुला योजना आयोजनामा भ्रष्ट्राचार र लापरबाही गर्न सक्ने हुती पाल्दछ । उसैको जयजयकार चलेको छ । नत्र यी निला कोट भित्रका काला चरित्र खोतली हेर्नुस् त । चोखो मान्छे त शिला खोजे जस्तै हो ।

पंके: त्यही त । यो त अत्ति भएन र भन्या ?

स्याङ्जाली: तपाईँ हाम्लाई या जनतालाई अति भएर के हुन्छ र । लुट्ने ले लुटेकै छन् । पेल्ने ले पेलेकै छन् । हसुर्नेले हसुरेकै छन् । हिजो आज त अनियमितता पनि जनतालाई नै आश्चर्यचकित पार्ने गरी सय/हजारमा मात्र नभएर करोडौँ अर्बौमा पुगिसक्यो भन्या । लाखसम्मको हिसाब गर्दा त, जम्मा लाख ! इज्जतमा नै मान हानी भए जस्तो । अनि तिनै बडेमानका बेइमानहरूलाई राजनीतिको पूर्ण सुरक्षा र संरक्षण छ । गर्नुहुन्छ के ?

पंके: त्यसमा त अर्को पाटो पनि छ सर । राजनीतिको अराजनीतिक दबाबमा कर्मचारीले कानुनको प्वाल समाउँछन् । अनियमितताको महासागर लोक लाज नै हुने गरी छताछुल्ल हुँदा समेत प्रमाणको मुहान लुकाएर/सुकाएर पक्रिन गाह्रो बनाँउछन । यदि पक्डीहाले पनि उता जबर्जस्ति गर्ने राजनीति चाही नैतिक जिम्मेवारीको वायुवेगले पत्ता छोड उम्कन्छ, यता हुकुमलाई शिरोधार गरेको गुलाम प्रशासन भने अख्तियारको रातो खोरमा । त्यसमा पनि ऐतिहासिक कमाई गरिसक्या भए त रकम बुझाएर धरौटीमा निस्केला, निख्लो कमिसनमा मात्र फस्या भए त चिप्लिगो’नि !

स्याङ्जाली: यहाँ त अब भ्रष्ट्राचारलाई पनि वामपन्थी भ्रष्ट्राचार, लोकतान्त्रिक भ्रष्ट्राचार, मधेसवादी भ्रष्ट्राचार, राजावादी भ्रष्ट्राचार भन्लान् जस्तो भइसक्यो । कतिसम्म राजनीतिकरण गर्न सक्या हुन भन्या, अस्ति कता हो कुन्नि भ्रष्ट्राचारको प्रसङ्ग चलेका बेला एउटाले सोध्दै थियो सत्तापक्षिय भ्रष्ट्राचार की प्रतिपक्षी भ्रष्ट्राचार अरे । अनि भ्रष्ट्राचारमाथी अङ्कुश लगाउन आँट गर्ने संवैधानिक निकायहरू कार्यात्मक रूपमा सुक्दै गई रहेका छन् । नाथे कागजका बाघहरू बनाइएको छ, जनतासँग भोलि फर्केर एक्स्क्युज गर्नको लागि होला ।

पंके: हाम्रै निजामतीको कमजोरी हो क्या । राजनीतिको झ्यालखानाभित्र व्यक्तिगत समृद्धि खोजेर अज्ञानी प्रशासकहरूले राज्यशक्तिको दुरुपयोग गर्ने । त्यसमापनि जुनसुकै बखतको होस सत्तापक्षिय नेतासँग साँठगाँठ गरेपछी अकुत सम्पत्ति निष्फिक्री कमाउन सकिने दुर्बिन भिरेपछी के लाग्छ त नि । कामको उत्तरदायित्व र जवाफदेहितामा दही जमाएर पदको उन्मादमा हुर्किन पाएपछी बाँकी के चाहियो । मिलेका छन्, जनतालाई छलेका छन्, लुटेका छन् । बैठक कोटाहरूमा सेतो सेतो बोल्छन् अनि कुर्सीमा थच्किएपछी फाइलमा चाहिँ कालो कालो गर्छन् ।

स्याङ्जाली: यस्तै हो सर, कोही चोरेर डकार्दै छन्, कोही चोर्दै गरेका छन् अनि कोही भोलि पर्सी चोर्न पाईन्छकी भनेर ढुकी बसेका छन् । निजामतीका १६ प्रतिशत राष्ट्रसेवकहरूलाई म एकदम आदर गर्छु सर बाँकी त कसले निजामतीको अनुशासन निभाएका छन् र । बिचरा खै कुन नियामक निकायबाट हो कुन्नि, कर्मचारीले लगाएको जुत्तामा अनुशासन फलाक्छन् बेला बेलामा । कठै नियमन !

गफ चल्दा चल्दै गाडी फेरी रोक्कीयो । घनघोर जाम परेछ कि भनेको त पिसाब फेर्नका लागि पो रहेछ । आ-आफ्नो जैविक विकार विसर्जन गरिसकेपछी । सहचालक ले छुटेजतिकाले हात उठाए है भन्दै थियो ड्राइभरले एक्सीलेटर दवाई हाले । पंकेले पनि टपिकको गेयर चेन्ज गर्‍यो ।

पंके: स्याङ्जालीहरु धेरै नै छन् है निजामतीमा ? मैले सुने अनुसार त एक घर एक कर्मचारी छन् रे, अझ कतै कतै त एक गाउँ एक अधिकृत नै छन् रे हो ?

स्याङ्जाली: एक घर एक कर्मचारी मात्र होइन सर, एक घर एक खाडी प्रवास पनि छ स्याङ्जामा । यो दुनिंयामा भन्ने ले आफ्नो अनुकूल भन्छ अनि व्याख्या गर्नेले पनि आफ्नै स्वार्थ अनुकूल अर्थ्याउँछ । तर जे होस स्याङ्जामा ज्ञान र विवेकको कमी छैन । चाहे राष्ट्रिय आवश्यकता होस या अन्तर्राष्ट्रिय माग होस ।

पंके: गलत बुझिन गए माफ गर्नुहोला तर स्याङ्जालीहरु किन निजामतीमा अब्बल भएका होलान् भनेर मात्र सोध्या ।

स्याङ्जाली: गाह्रो छ नि सर । कुनै पनि कुरामा प्रतिस्पर्धी हुनको लागि अनुकूल पृष्ठभूमि र सामाजिक वातावरण चाहिन्छ । खेलाडी बन्नको लागी मैदान छैन, उद्योगी बन्नको लागि भूगोलको सिमितता छ, व्यापारको क्षेत्रमा पोखरा र बुटवलले नराम्ररी थिचेको छ । गरुन् त के गरुन् । शिक्षा, स्वास्थ्य, पर्यटन र अध्यात्ममा ध्यान लगाएका छन् । छाक टार्न पुग्ने खेती किसानी गर्छन् । अध्यात्ममा निमग्न र सन्तोषी छन्, गाना बजाना चलाएकै छन्, फुर्सदमा अलिअलि पढ्छन् । विशेष सूत्र केही छैन हजुर । धन्यवाद त त्यहाँको सामाजिक संस्कार र शैक्षिक गुणस्तर हो । नपढेको मान्छे पशु समान हुन्छ भन्दै स्कुल धकेल्छन्, जान परिहाल्यो । अनि कलेज भर्ना हुनु अगाडी नै लोक सेवा दर्पणलाई सिरानी बनाउँछन् ।

पंके: (जिस्कँदै) स्याङ्जालीको अगाडी झुक्किएर पनि बुढी औँला नछोड्नु भन्छन् नि सर, के हो त्यो चाही ?

स्याङ्जाली: अनर्गलका प्रचार हुन सर । छोड्न त ज्यानलाई माया गर्ने मान्छेले आफ्नो कपाल पनि जथाभाबी छोड्न हुन्न भन्छन् (प्रेमीका सामुन्ने बाहेक) । चेतावनी होला नि सर स्याङ्जालीको, आफ्नो सामानको दुरुस्त ख्याल आफै गर्नुहोला भनेर । मानवजीताका लागी सावधानीको सिम्बोल हो स्याङ्जाली ।

स्याङ्जालीले अल्लि बढिनै गफ दिन लागेको माहौलमा पंकेले आँफुलाई लागेको बहुप्रतीक्षित प्रश्न गरिहाल्यो ।

पंके: यत्रो मानवजातिका लागी सावधानी सिकाउने स्याङ्जालीहरुले आफ्नो सर्वोत्कृष्ट उपस्थिति भएर पनि नेपालको निजामती प्रशासन उल्लेख्य सुधारका लागि माखो नमारेको र सिन्को पनि नभाँचेको किन होला है !

स्याङ्जाली स्तब्ध भयो । पंकेले एक टक स्याङ्जालीलाई हेरी रह्यो । स्याङ्जाली केहिबेरसम्म बोल्नै सकेन । त्यसपछि पंकेले झ्यालतिर फर्केर अँध्यारो रातका बिच डाँडापारि समृद्धिको पर्खाइमा सुतिरहेका गरिबखानाहरुका गाउँमा बलेको धिपधिपे बत्ती नियाली रह्यो । तर पनि स्याङ्जालीले केही बोली फुटाएन । जवाफ दिनैका लागि जवाफ त नभएका पनि होइनन् होला । तर निजामतीमा केक्काने पकड भनेर फलाकी रहँदा गमक्क परेको छाती एकाएक ठुलो वेगले धड्किन थाल्यो ।

त्यही बेला पंकेले अरू थप्यो: प्रशासनमा राम्रै पकड भएका स्याङ्जालीहरुको तुरुप भनेको ज्ञान र विवेक यदि हो भने उपयोग गर्नुस् र गर्न लगाउनुस् । हाँसी खुसी राजनीतिको गुलाम बनेर दुई छाक खाना, ४ आना घडेरी र साडे दुई तलेको घर बनाउनुमै मान्छै भएर जन्मेको सार्थकता देखिने भए मेरो भन्नु के रह्यो र । नत्र प्रशासनमा राम्रो गर्नलाई स्याङ्जालीहरुको बल पुग्छ । अहिले विभिन्न बहानामा अत्ति प्रदूषित बनाइएको छ प्रशासनलाई । हिम्मत जुठाउनुस, गुलाम स्वीईकाईदिनुस कतै अन्तै र तुरुप लगाउनुस् । स्याङ्जालीले उच्छार बाटो केही नपाएपछी दुई घुट पानी खायो अनि बोल्यो तुरुप हराएको छ सर अहिले, तुरुपबाद छ ! अनि बाँडेपछी खेल्नै पर्ने नियम चलेको छ हिजोआज । अर्को बाँड नफिट्दासम्म चिडीको बास्साले पनि हाकाहाकी दुई हात बोलिरहेको छ ।

माघ २६ गते, २०७५ - ०८ः२३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg