ब्राह्मणवाद एक चेतना र चिन्तन ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्राह्मणवाद एक चेतना र चिन्तन !


भीमप्रसाद गुरागाँई

२९ पुस २०७५, आइतबार


जसरी कुनै बिर्को बन्द भएको भाँडोमा वा पहिल्यै भरिएको भाँडोहरूमा थप अरू केही हाल्नै मिल्दैन वा सकिन्न वा हालियो भने पनि मिश्रित हुने या त बाहिरै पोखिन्ने सम्भावना धेरै हुन्छ त्यसैगरी फोहोर वा सङ्क्रमित भाँडोमा जे हाले पनि फोहोर वा सङ्क्रमित नै हुन्छ । तपाईँलाई यदि केही लिनु छ भने पहिले सफा, खाली र खुल्ला भाँडो नै चाहिन्छ । यसको तात्पर्य यो हो कि मैले जे भने पनि तपाईँमा त्यो सुझ बुझ गर्ने सामर्थ्य र अवस्था छैन भने यो मेरो प्रयास व्यर्थ र अनुपयोगी मात्रै हुन्छ ।

सन्दर्भ अहिले बजारमा रहेको तातो बहस ब्राह्मणवादको हो । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भने जस्तै हो ब्राह्मणवाद । जहाँ स्वतन्त्र तथा आग्रह पूर्वाग्रह रहित केही पश्चिमा विद्वानहरूले मुक्तकण्ठले पूर्वदर्शनको स्वागत र स्वीकार गरेका छन् । शताब्दीयौं मानव अबर्लट आइन्सटाइनले भनेका छन्, जब विज्ञान टुंगिन्छ अनि अध्यात्म सुरु हुन्छ –विज्ञानभन्दा माथि अध्यात्म या पूर्वीय दर्शनले सोचेको छ ।

पूर्वीय दर्शनका सर्जक, चिन्तक, अन्वेषक, विचारक व्याख्याकार यी सबै ब्राह्मणहरू नै हुन् । यो सबै उनीहरूको नै सम्पत्ति हो । यसमा उनीहरूको प्रतिलिपि अधिकार सुरक्षित छ । सर्जकहरूको आफ्नो सृजनाहरूमा आ–आफ्नो प्रतिलिपि अधिकार सुरक्षित राखेका हुन्छन् । जसरी बहुराष्ट्रिय कम्पनीहरू आफ्नो उत्पादन र सूत्रहरूमा उनीहरूकै प्रतिलिपि अधिकार सुरक्षित हुन्छ । उनीहरूको अनुमति विना रोयल्टी नतिरे यसको प्रयोग र उत्पादन बिक्री वितरण गर्न पाइँदैन । यदि कोही कसैले गरेकामा कानुनः दण्ड जरिवाना र सजाय भोग्नु पर्ने हुन्छ । विज्ञान र प्रविधिहरूमा पनि प्रतिलिपि अधिकार लाग्छ । मिसाइलहरूको बारेमा त यो पनि पाईदैन ।

तर ब्राह्मणवाद कुनै जात वा नश्ल विशेषको लागि मात्रै होइन । यसको अभ्यास र अनुसरण जो कोहीले पनि शास्त्रले निर्देशित गरेको परिधिभित्र रहेर गर्न सकिन्छ । यो एक उच्च र सदगुणी संस्कार परम्परा मात्रै हो । यसलाई वंश वा कुल परम्परा भन्न पनि सकिन्छ । ब्राह्मण एक कठिन आचरणमा बस्नु पर्ने मानव शरीरलाई साधन मात्रै हो साध्य होइन भन्ने चेतना र चिन्तन लिएर सु–संस्कारित आत्मा र परमात्माको सूक्ष्म अस्तित्व स्वीकार गरेर स्व–शासित रही आत्मा अनुशासित कर्मयोगी, जो सदैव अतिरिक्त ज्ञान हासिल गर्न तत्पर रहने, अध्ययनशील संयमित जीवन निर्वाह गर्ने इन्द्रीय र कर्मेन्द्रीयहरुलाई कठोर योग र तपस्याको बलले नियमन र नियन्त्रित गर्ने, सत्गुणी, अल्पभोगी, भौतिक सुख सुविधाहरूको आवश्यकता अनुसार मात्रै उपयोग गर्ने मानिस हुन् । साथै अतिरिक्त धन आर्जन र सञ्चय नगर्ने नगराउने । सामाजिक आर्थिक र राजनीतिक रूपमा कठिन र कठोर नियम कानुन बनाएर त्यसैलाई अनुसरण र   इमान्दारिताको साथ पालना गर्ने/गराउने र त्यस्ता कानुन र नितिनियमहरु उलंघन गर्नेहरूलाई सामाजिक बहिष्कार गर्ने गराउने । खाइपाइ गरेको सुख सुविधा मान-सम्मानबाट वञ्चित गराई उनीहरूको साथबाट धनसम्पत्तिहरु लगायत जग्गा जमिन जफत गर्ने/गराउने दण्ड सजाय दिने दिलाउने र पुनः भविष्यमा पनि त्यही व्यक्तिबाट त्यस्ता अपराधी कार्यमा संलग्न वा दोहोरिएको खण्डमा अङ्गभङ्ग गर्ने वा मृत्युदण्ड सम्म दिने दिलाउने संस्कार परम्परा र समुदायका मानिसहरू हुन् ।

आफ्नो संस्कार संस्कृति र परम्परालाई प्राणभन्दा प्यारो ठानेर यसभन्दा बाहिरका समुदायहरूलाई आफ्नो समुदायसँग आवश्यकताभन्दा ज्यादा घुलमिल नगर्ने/नगराउने, जसको कारणले आफ्नो धर्म संस्कार संस्कृति र परम्परामा कुनै पनि किसिमको विसङ्गति र विकृतिहरू नफैलियोस् । यदि कोही कतै काहीँ कतै सङ्क्रमित भए गराए, आफैलाई जति नै पीडा भएमा पनि त्यस्तो सङ्क्रमित नालायक अङ्गलाई छेदन गरेर फाल्नलाई नै गर्व सम्झिने । तर अहिले आएर उनीहरूमा नै सङ्क्रमित भएको पाइन्छ र छ ।

धर्म, संस्कार, संस्कृति र परम्पराहरू मिसिएको छ, मासिएको छ । परिवर्तित समाज र राज्य शासन व्यवस्थाले गर्दा बाहिरी धर्म संस्कार र संस्कृतिहरूको सङ्क्रमण नराम्ररी फैलिएको छ । उनीहरूमा पनि आफै भित्रको अन्योलताको कारणहरूले गर्दा अव्यवस्थित र अस्तव्यस्त भएको छ । ब्राह्मणवाद आफैमा नराम्रो होइन तर यसभित्रको कठिन र कठोर नियमनहरू पालना गर्न गराउने अहिले चुनैतीहरु थपिएको मात्रै होइन, यसलाई नराम्रो गर्न गराउन देशी विदेशी शक्तिकेन्द्र सहित आफैभित्रका दलालहरू सक्रिय छन् ।

यसलाई हुबहु पालना गर्ने गराउनेभन्दा पनि उल्लङ्घन गरेर प्रगतिशीलको नामधारीहरू आयातित उच्छृङ्खल धर्म संस्कार र संस्कृतिहरू प्रतिको विभिन्न लोभ लालचमा ठुलै आर्थिक चलखेलहरूले गर्दा आकर्षित हुनेहरू धेरै भएकोले मात्रै हो । यदि यो ब्रह्माण्डले ब्राह्मणवादको हुबहु अनुशरण गर्ने गराउने हो भने अहिलेको यो ब्रह्माण्डमा देखिएको र भोगिएको सम्पूर्ण दुःख कष्ट बेथिति हत्या हिंसा र बलात्कारहरू जस्ता आपराधिक गतिविधिहरू हुने नै थिएन । एकले अर्काबाट डराउनु पर्ने थिएन । प्राकृतिक स्रोत साधनहरूको अत्यधिक प्रयोग र उपभोेगहरुले गर्दा यो पृथ्वीको आयु यसरी दिनानुदिन घट्ने थिएन । वायु प्रदूषण र वायुमण्डलीय उष्णतामा यसरी वृद्धि हुने नै थिएन । ब्राह्मणवादले मानिस मानिसलाई होइन, विरोध र निषेध गरेको मात्रै उनीहरूको गलत प्रवृत्ति सोच कर्म धर्म संस्कार संस्कृति र आचरणहरूलाई नै हो ।

सबैलाई आफू अनुकुन संस्कार सङ्गत र वातावरण नै मन पर्छ । ब्राह्मणवाद एक उच्चकोटीको जीवन पद्धति, प्रवृत्ति, सोच, कर्म, धर्म, संस्कार, संस्कृति र आचरणहरू नै हो । जुन उच्चकोटीको छ त्यसैलाई सबैले स्वीकार गर्नु पर्छ । वैदिक सनातन धर्मका अन्वेषण कर्ताहरूले हाम्रो शास्त्रहरू श्रुतिस्मृतिभित्र भए रहेका अनि उल्लेख गरेका प्रत्येक विषयवस्तुहरूमा वैज्ञानिकता छ । वैज्ञानिक भनेको प्रयोग गरेर हेर्दा प्रमाणित हुने कुरा हो । तर यसलाई प्रमाणित गर्नको लागि यसभित्रको विषय वस्तुहरू माथि राम्रो ज्ञान र सामर्थ्य भएको मान्छे नै चाहिन्छ । नत्र जसरी विज्ञानको ज्ञान र सामर्थ्य नभएको मानिसले विज्ञानको प्रयोगशालामा बसेर केही प्रयोग गरेर प्रमाणित नै गर्न सक्दैन भने कोही कसैले सनातन धर्म संस्कार संस्कृति र परम्परा जस्ता गहन विषयहरू माथि के नै गर्न सक्ला, यदि उसमा त्यो ज्ञान र सामर्थ्य नै छैन भने ।

यो दुस्साहस कुहिरोभित्रको काग र समुन्द्रको किनारमा बसेर त्यसभित्रको गहिराई नापे जस्तो मात्रै हुन्छ । जो सँग जे कुराको जति चेतना हुन्छ, उ त्यो विषयवस्तुहरूमाथि त्यति नि चिन्तन गर्न सक्ने त हो । सुनलाई कसी लगाएर जाँच्नलाई पनि ज्ञान चाहिन्छ । विशाल समुन्द्रमा पसेर कसैले माछा र कसैले मोती त टिप्ने हुन् । त्यो उसको उद्देश्य र आवश्यकता मात्रै हो । समुन्द्रमा यो भन्दा अरू केही छैन भन्ने होइन । तर पनि केही अपाच्य र असभ्य वा अव्यवहारिक भाषा प्रयोग गर्दै सभ्य कहलिएका देखिने मानिसहरूबाटै भनेको सुनिन्छ, पण्डित, पुरोहित वा बाहुनहरू लोभी हुन्छन्, जति नै दान दिए पनि पुग्दैन, चित्त बुझ्दैन तर मलाई यहीँ एउटा प्रश्न जन्मिन्छ ती सभ्यहरूले त्यसरी धेरै नै दानहरू दिएर धन सञ्चयमा

पण्डित पुरोहित वा बाहुनहरू लागेकै थिए भने त विश्वका धनाढ्यहरूको पहिलो सुचीमा यी पण्डित पुरोहित वा बाहुनहरू किन परेनन् आजसम्म ? यही हो सत्यता कि जे भनी रहेका छन् त्यो गरिरहेका छैनन् ।

अन्त्यमा आग्रह पूर्वाग्रहरहित भएर स्वतन्त्ररुपमा भन्नै पर्दा आफूलाई ब्राह्मण भन्न रुचाउने, हाम्रो त हड्डी नै चोखो भन्ने, अरूमाथि पैतृक तथा दर्ज्यानी हैसियत र अधिकार जमाउन वा राख्न खोज्ने तर तत् अनुसारको न त आचरण नै गर्ने, न त धर्म र संस्कारको पालना नै गर्ने, न त शिक्षा शास्त्राध्ययन चिन्तन मनन नै छ । यस्ताहरूले आफूलाई मात्रै होइन, आफ्नो वंश परम्परालाई नै अपहेलित र अपमानित गराउँछ । भित्र भान्छामा अरू नै भोजन पाक्ने पकाउने गरेता पनि बाहिर निस्किँदा लोकलाई देखाउनैको लागि हातमा बासमती धानको भातको ढल्लोलाई दहीमा चोबलेर जुँगामा दही दली कुकुर बोलाउँदैमा हाम्रो अनमोल पैतृक सम्पत्तिको रूपमा रहेको वैदिक सनातन धर्म संस्कृति र परम्पराहरू अब जोगिँदैन । र, यसो गर्न पनि अब पटकै सुहाउँदैन ।

आफू शास्त्रीय आधारमा ब्राह्मण आचरण र संस्कारमा नरहने तर पनि अरूप्रति भने अपमानित र अपहेलित व्यवहार गर्ने अग्राधिकार हाम्रो सनातन वैदिक धर्मशास्त्रहरूले कसैलाई दिएको छैन । शास्त्रीय आधारमा ब्राह्मणीय आचरणमा नरहने र नगर्ने र अरू जो कोहीमा शास्त्रभित्र एउटै स्थान हुन्छ । तर पनि जसरी यात्राहरूमा कुनै मोडमा बाटो भुलेर अर्कै बाटो समातेमा पनि फेरि त्यही बाटोमा पुन आगमनको लागि धेरै र लामा घुम्तीहरूलाई लामो समयको सङ्घर्ष पछि छिचोल्दै पुनरागमन गर्न सकिने मार्गहरू भए जस्तै मूलदारबाट बाहिरिएका र बाहिर पारिकाहरुलाई आफ्नो धारमा ल्याउने विधि, प्रक्रिया र समयावधि शास्त्रमा प्रस्टै उल्लिखित भएको पाइन्छ । यसको लागि आउने र ल्याउनेहरू नै आफ्नो आफ्नो स्थानहरूमा सक्रियता जनाउनु पर्छ । सनातनीय वैदिक धर्म संस्कारबाट बाहिर परेका र पारिएकाहरू अरू कुनै पनि धर्म संस्कार संस्कृतिहरूमा रुपान्तरित भएमा पनि उनीहरूलाई पूर्णरुपमा स्वीकार गरेका हुँदैनन् । यसको लागि एउटा उदाहरण साउदी अरबीयनले पाकिस्तानीहरूलाई यिनीहरू मुस्लिम होइनन्, यिनीहरू त रुपान्तरित मात्रै हुन् भनेर सम्बोधन नै गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस