भरतपुरमा चर्चामा रहेका चार विषय « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

भरतपुरमा चर्चामा रहेका चार विषय


२८ पुस २०७५, शनिबार


भरतपुर महानगरपालि

विषय नं १ : चितवन महोत्सव र महानगरलाई बुझाउनुपर्ने राजस्वको कुरा
चितवन महोत्सवलाई देशकै अग्रणी महोत्सवका रूपमा लिइन्छ र २०७५ सम्म आइपुग्दा यसको १२औँ संस्करण प्रारम्भ भएको छ । महोत्सव सञ्चालन स्थल र सञ्चालनको मोडालिटी सम्बन्धमा विगतमा जे जसरी हुने गरेको भएता पनि महानगर गठन भएपश्चातको पहिलो महोत्सव भएको हुँदा स्वाभाविक होकि यस पटक यसको विधि र प्रक्रिया सम्बन्धमा महानगरपालिकाले चासो राखेको छ ।

महानगरभित्रको जुनसुकै सार्वजनिक स्थलको संरक्षण र रेखदेख गर्ने कानुनी म्यान्डेट रहेको कारण जुनसुकै उद्देश्यले किन नहोस् यदि जग्गाको व्यापारिक वा व्यावसायिक प्रयोगमा ल्याइन्छ भने जग्गा भाडाबापतको राजस्व र स्टलहरूको वहालकर उठाउने सामान्य प्रचलन नै हो र यसलाई महानगरको आर्थिक ऐनमा समेटिएको छ र कार्यान्वयन हुँदै पनि आएको छ । देवघाटको मेला होस् वा गोलाघाटको मेला राजस्वको दायरामा ल्याउने पहल भएको छ ।

सबै सानातिनालाई लागेको कानुन सबभन्दा ठुलो महोत्सवको आयोजनामा किन नलाग्ने ? सह आयोजक नै महानगर भए पनि यो विधिको विधानबाट उम्कन मिल्दैन । के जिल्ला प्रशासनको कर्मचारी हुँदैमा उसको छोरोले नागरिकता लिन उमेर पुग्न पर्दैन ? के व्यवसाय गर्ने काम स्कुल वा क्लब वा कुनै संस्थाले लियो भन्दैमा छुट पाइन्छ ? यी विषयहरू त्यति ठुला नहोलान् तर दूरगामी असर पार्ने खालका छन् । यी सवालमा प्रस्ट भएर कानुनअनुसारका शुल्क बुझाउनका लागि उद्योग व्यवसायीहरूको छाता सङ्गठन तयार हुँदा नै महोत्सवको विश्वसनीयता र सहभागिता बढ्ने देखिन्छ । सोचमा नवीनता र समय सान्दर्भिकता ल्याउने कि ?

विषय नं २ : नयाँ पर्यटकीय गन्तव्यको विकास
भरतपुर महानगरपालिका २२ स्थित पटिहानीलाई हालसालै सरकारले १०० उत्कृष्ट पर्यटन गन्तव्यको रूपमा समावेश गर्‍यो । यसबाट पटिहानी बासिन्दा र युवा अगुवाहरू उत्साहित भएका छन् । तर के भरतपुरमा प्रवर्द्धन गर्न सकिने अन्य स्थान थिएनन् त ? छन् थुप्रै स्थानहरू विकास र प्रवर्द्धनको पर्खाइमा छन् । मेघौली विमानस्थललाई सुचारु गर्ने, भरतपुर विमानस्थलाई स्तरोन्नति गर्ने, पर्यटकीय मार्ग एवं ट्रेलको निर्माण गर्ने, साइकल ट्रेलको व्यवस्था गर्ने, विगतमा नगरपालिकाले विकसित गरेको नगरबनलाई वृहत् पर्यटकीय गन्तव्यको प्याकेजभित्र पारेर योजनावद्धरुपमा विकसित गर्ने सम्भावना उत्तिकै छ । केही निजी क्षेत्रले नगरवन र वरपरको क्षेत्रलाई पर्यापर्यटन हवका रूपमा विकसित गर्नका लागि रुचि पेस गरेका छन् । तसर्थ नगरवन रहेको टापुको प्रयोगलाई कुनै व्यक्तिसँग जोडेर हैन कि विहंगम पर्यटन विकासको परियोजनाको सापेक्षतामा हेरिनु उपयुक्त हुन्छ । त्यस्तै गणेशधामको विकासका लागि गुरुयोजना प्रारम्भ हुनु केही पार्क र पोखरीलाई निकै आकर्षक रूप दिइनु, वातावरण विभागसँगको सहकार्यमा हरित पार्क निर्माणको सम्झौता हुनु र पर्यटकीय सूचना पाटी एवं टुर गाइडवुक तयार हुनु केही आशा लाग्दा उपलब्धि हुन भनेर मान्नै पर्दछ ।

विषय नं ३ : सरसफाई अभियानको दिगोपना
भरतपुरमा भइरहेका विकास गतिविधि मध्ये गैरसंरचनात्मक विकास कार्यका रूपमा फोहोरमैला व्यवस्थापन गरी स्वच्छ सफा हराभरा गराउने अभियानका रूपमा नियमित सरसफाइ कार्यक्रमलाई लिन सकिन्छ । यहाँ विभिन्न स्थान विशेष संस्था विशेष र महानगरको आफ्नै पनि सरसफाइ कार्यक्रम भइरहेका छन् । तर यी कार्यक्रम चिरकालसम्म फलदायी तवमात्र हुन्छन् । जब फोहोर उत्पादन गर्नेले सरसफाइ गर्ने कार्यलाई जीवनका अन्य काम जस्तै महत्त्वका साथ गर्छन् । नवीन तरिका अपनाउँछन् र सकेसम्म फोहोरलाई मोहर बनाउँदछन् । पुनर्प्रयोग गर्दछन् र त्यसरी प्रयोगमा नआउने फोहोर चिजलाई कुहिने नकुहिने भनेर अलगअलग जम्मा पारी राखेर निश्चित शुल्क दिई विसर्जन गर्न तयार हुन्छन् । त्यस्तै बजार क्षेत्रमा खास गरी टोल विकास संस्था सक्रिय हुँदा अभियान राम्रो हुने तर व्यवसायीहरू पसल वा घरबाहिर निस्कन नपरे हुन्थ्यो भन्ने प्रवृत्तिका कारण अभियान तात्ने र सेलाउने जस्तो भएको छ । कहिलेकाहीँ सीमित अभियन्ता र सीमित वातावरणसम्वद्ध कर्मचारीमा खुम्चिन पनि पुगेको छ । तसर्थ कहिलेकाहीँ सन्देश दिनका लागि सुरक्षाकर्मीलगायत सबै सरोकारवाला मिलेर सफाइ गरिएला तर निरन्तरता पाउने गरी सफा र हरियालीयुक्त बनाउनका लागि स्थानीय प्रयासमा अन्य सहयोग थप गर्ने खालको मोडल अपनाउँदा दिगोपन रहने देखिन्छ । भरतपुर महानगरमा सञ्चालित सरसफाइ अभियानबाट अन्य नगरपालिका र स्थानीय तहमा समेत यस्ता अभियान अघि बढेको सुन्नमा आइरहँदा हाम्रा अभियानलाई के कसरी दिगो र प्रभावकारी बनाउन सकिन्छ रु यस सम्बन्धमा सरोकारवाला सबैले चिन्तन गरी सुधार गर्नु आवश्यक देखिन्छ ।

विषय नं ४ : ठूला पूर्वाधार संरचनाको निर्माण
विकासमा उल्झन र सुल्झनको क्रम उपक्रम हुनु अस्वाभाविक होइन । भरतपुरमा बन्ने भनिएको महानगरीय सिटी हल निर्माणका लागि जग्गा प्राप्तिको विषय पेचिलो बन्यो र पनि अहिले टुङ्गो लागेको छ । क्रिकेट स्टेडियमका लागि जग्गा उपलब्ध भई अहिले डिजाइन इस्टिमेटको काम भइरहेको छ । चक्रपथका लागि केही खण्ड शिलान्यास भई काम अघि बढेको छ भने बाँकीको हकमा विस्तृत परियोजना प्रतिवेदनको तयारी गर्नु छ । केही लिंकरोडहरु सहरी विकास मन्त्रालयको अगुवाइमा र अन्य केही भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अगुवाइमा भइरहेको छ । पुल्चोक गोन्द्राङ खण्डको राजमार्गलाई ६ लेनको बनाउनका लागि टेन्डर प्रक्रिया छिटै प्रारम्भ हुँदैछ । त्यस्तै देवघाटमा विद्युतीय सवदाह गृहको काम अगाडि बढेको छ भने अटोल्याण्ड, व्यवस्थित पशु वधशाला निर्माण, ओभरहेड व्रिज, साना तथा मझौला उद्योग ग्राम र स्मार्ट ट्राफिक व्यवस्थापनका कामहरू पनि यसै वर्ष प्रारम्भ गरिने भएको छ । महानगरका धेरै स्थानमा मापदण्डबमोजिमका सडक अनि रोडमार्किङ र अझ क्याट्सआइसमेत जडान भएको हुँदा साँझ यात्रा गर्दा साच्चिकै महानगरको अनुभूति गराउँदछन् । हो बाँकी थुप्रै पूर्वाधार संरचनाहरू निर्माण गर्नु छ तथापि हालसम्मका कामले पनि भोलिका बाँकी कामका लागि ऊर्जा भर्ने काम भने गरेका छन् । भरतपुर महानगरपालिका मेयरको सबल नेतृत्व र अन्य जनप्रतिनिधिको साथ तथा कर्मचारीको निरन्तरको खटाई मात्र हैन कि महानगर बासीको साथ सपोर्ट र सहभागिताले पनि भरतपुर विकासलाई सम्भव तुल्याएको हुनुपर्दछ ।

पुछारमा,
भरतपुर महानगरपालिका चर्चामा रहनुका धेरै कारण छन् । तर प्रमुख चर्चा भनेको स्थानीय निर्वाचनमा रहेको गठ जोड र परिणामस्वरूप रेनु दाहाल मेयर पदमा निर्वाचित भएपश्चात् उनको गतिशील नेतृत्वका कारण भएका कामहरू नै हुन् जसका लागि दलीय सहमतिदेखि राष्ट्रिय व्यक्तित्वका रूपमा प्रचण्डको चितवनसँगको आवद्धता, प्रत्यक्ष चासो र सहयोग नै हो । त्यसपछि देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाका वहुक्षेत्रगत सम्भावना र हालसम्मको उपलब्धि प्राप्तिमा सबै क्षेत्रको सकारात्मक संलग्नता नै हो । माथि उल्लेख गरिएका चार वटा चुकुललाई समेत भरतपुर महानगरले छिटै खोलेर मार्ग प्रशस्त गर्नेमा कुनै सन्देह छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस