सिंहदरवार ह्याङ–१ « प्रशासन

सिंहदरवार ह्याङ–१


प्रकाशित मिति : ७ पुष २०७५, शनिबार १४:२८

जीवनमा कहिलेकाहीं पनि चिट्ठा परेन । भाग्यले सिधै नठगे पनि अलमलमा चाहिँ खुबै पार्‍यो । धर्म कर्म र भगवानमा उति सारो विश्वास नभए पनि कलेज पढ्ने ताका शनिवार विन्दुवासिनी र बिहीबार बंगलामुखी चाहीं धाइयो नै । अझै याद छ शुभेच्छासँग भेट भएको पनि कुनै बिहीबारको साँझ बंगलामुखीबाट फर्कने क्रममै हो, राजाको प्रत्यक्ष शासनको बेला ।

पढाई सक्ने बित्तिकै एनजिओको जागीर रमाइलै थियो । पैसा राम्रो, घुमघाम, तालिम, सेमिनार, अनि पेपर वर्क धेरै । यस क्रमको विभिन्न अवसरमा आँखा नजुधेका वा छिर्केमा नपरेको चाहीं होइन । तर, शुभेच्छाको अगाडी ती सबै फिक्का लाग्थे, ड्याम्म केयर ।

उ चाहीं उपत्यकामा नै कुनै निजी कम्पनीमा काम गर्दै वैदेशिक अध्ययनको तयारीमा थिई । उसकै करले भनौँ कि उसलाई खुसी पार्न भनौँ, म पनि उपत्यकामा रहेको बेला अङ्ग्रेजी भाषा सिक्दै केही विदेशी विश्वविद्यालयहरूमा आवेदन गर्दै थिए । खासमा मलाई विदेश गई हाल्ने भित्री मन थिएन, तर शुभेच्छाको तन मात्र यहाँ थियो, मन त उडिसकेको थियो ।

कहिलेकाहीँ भन्थी मसँगै एवोर्ड नजाने भए आजैबाट कट्टी । एनजिओको जागिरमा खास व्यवस्तता थिएन । लोकसेवाको विज्ञापन भएको बेला शरदसँगै मैले पनि फाराम भरे र परीक्षा दिए । यो पनि करले नै । शरद धेरै सिपालु विद्यार्थी थियो । डिस्टिंगसन होल्डर भए पनि ९ नम्बर नपुगेर गोल्ड मेडल पाएन । अनि जागिर पनि त्यति राम्रो छैन भन्थ्यो । मेरो रुम पार्टनर भएकोले उसैलाई साथ दिन लोकसेवाको परीक्षामा सामेल भएको थिए । अध्ययन सामाग्री र वातावरण उसैले तयार पारेको थियो, यो मामिलामा पनि मलाई सजिलो भयो व्यवस्थापन गर्न । मैले परीक्षा दिएको कुरा शुभेच्छालाई मन नपरेको मलाई राम्रै थाहा थियो । मान्छेहरूको मनमा विदेशी तन्तु पसे पछि सपना बिपना बोल्ने शैली खाने पदार्थ खाने शैली सबै उतैको छनक आउने रहेछ । शुभेच्छालाई पनि यहाँको माटो समेत गन्हाउन थालिसकेको थियो । जे होस चलेकै थिए दिनहरू ।

अचम्मै भो । एउटा युरोपियन विश्वविद्यालयले मलाई एम एस्सीको पूर्ण छात्रवृत्ति दियो । यो खबर मलाई भन्दा पहिला शुभेच्छालाई थाहा भयो, उसलाई भने पार्सिएल मात्र छात्रवृत्ति दिने भएछ । तर पनि उ जाने मुडमै थिई र तयारीमा पनि जुटेकी थिई । म चाही उति सारो उत्साहित थिइन । यसैबिच एक दिन लोक सेवा परीक्षाको रिजल्ट आयो, त्यसमा पनि पास भएछु । विविध खाले शुभचिन्तकका फरक फरक सल्लाह आउँथे । के गरौँ के भन्ने द्विविधाका बिच अन्तर्वार्तामा सहभागी भए र छनौट पनि भए । तर, विडम्बना यो भयो कि शरदको चाही नामै निस्केन, उसलाई भाग्यले यहाँ पनि ठग्यो । मैले पनि यस पछि लोक सेवालाई ‘लक सेवा’ भन्न थाले ।

म खुसी भन्दा पनि दङ्ग परे । केही साथीहरूले एनजिओको आकर्षक जागिर छाडेर नजा पनि भनेका थिए, केहिले खुरुक्क छात्रवृत्तिमा युरोप गएर भविष्य बनाउन पनि सुझाएका थिए । तर सरकारी जागिरमा जान सल्लाह दिनेकै बहुमत थियो । मैले पनि सरकारी जागिरको चार्म देखे । ठुला ठुला हाकिमहरूका शान र फुर्तिफार्ति देखेकै थिए । एनजिओको कार्यक्रममा अतिथि भनेर बोलाउँदा उनीहरूलाई गरिने ज्वाई सम्मानको कार्यकर्ता म पनि भएकै थिए कहिलेकाहीँ । अनि म भित्र पहिलोचोटी अनुभूति हुने गरी राष्ट्रवाद, समाज सेवा र देशप्रेम पनि छचल्किएर आयो । अरूको कुरा सुन्दा पनि संसारै जितेको भान भयो यहाँनेर शुभेच्छाको घुर्कीले पनि काम गरेन । म अव गैरसरकारी संस्थाको हैन सरकारी संस्थाको कर्मचारी भएको थिए । म खुसी नै थिए र सुरक्षित भविष्य अनुभव गर्थे । पहिलो महिनाको तलब बैङ्क स्टेटमेण्टमा हेर्दा चाहीं धेरै पछि पहिलो पटक मन चिसो भएको थियो । उताको तुलनामा यहाँको तलब त एक चौथाइ लाग्यो । एक मनले सोचे पनि हाम्रोमा सरकार भन्दा त गैरसरकारी निकाय पो धनी रैछन त हाम्रो नेपालमा ।

मेरो जीवनमा म सरकारी जागिरमा छिर्नु र शुभेच्छा मेरो जीवनबाट निस्कनु लगभग सँगै भयो । यो केवल संयोग थिएन । अन्तिम पटक हामी पाटनढोकाको त्यही क्याफेमा भेट गर्‍यौ । अलि हुंडलिएको मन लिएर गएको थिए । धेरै वर्ष बोकेको भारी बिसाउन गएको हो कि कुनै सपनाको अन्तिम संस्कार गर्न गएको थिए, म आफै अलमलमा थिए । जीवनको उर्वर उमेरका महत्त्वपूर्ण पलहरू त्यो क्याफेमा शुभेच्छासँग बिताएको थिए मैले । त्यसमा मलाई कुनै ग्लानि वा पश्चात्ताप थिएन । उ सँग त्यहाँ भेट्दा कुरा गर्दा म आफूलाई उर्जावान भएको अनुभूति गर्थे । उ जिस्काउँथी : कत्ति न पहिलेहि देखि चिने जस्तो के !

त्यही क्याफेमा बसेर सधैका लागी साथ रहने भनेर योजना बनाएका हामीले, त्यो दिन फरक भयो, त्यही क्याफेमा बसेर अब सधैका लागी अलग भएको घोषणा गर्‍यौ हामीले । कारण मलाई पनि थाहा थियो, त्यसैले सोधिन र उसले पनि बताइन । हाम्रो गन्तव्य नै अलग भइसकेको थियो । त्यतिबेलाको राजनीतिक भाषामा कित्ता काट भनिन्थ्यो यसलाई । अब कहिलेइ नभेट्ने, नवबेल्ने, नचिन्ने र एकअर्काको कुनै गुनासो नगर्ने भनेर कसम खायौँ, नरिसायर सभ्य शैलीमै । मलाई सारै नरमाइलो पनि लागेर आयो, तर त्यो प्रकट हुन दिइन ।

त्यहीबाट राजीनामा देउकी झैँ पनि नलागेको हैन, तर म भित्रको पुरुषत्वले त्यसरी आत्मसमर्पण गर्न दिएन । उ चाही सामान्य रूपमा प्रस्तुत भएकी थिई । उसका आँखामा न कुनै पश्चात्ताप थियो, न कुनै आक्रोश । न माया देखियो न घृणा, केवल शून्यतामा अडिएको थियो उसको भाव । औसत महिला जस्तो आग्रही वा रुन्चे भएर प्रस्तुत भइन उ, सायद आफ्नो निर्णय, गन्तव्य र म प्रतिको मूल्याङ्कनमा उ स्पष्ट थिई । धेरै बेर त बसेका थिएनौँ तर, म भन्दा पहिला नै उ आफै जुरुक्क उठी । यस पछि हामीले पहिलो पटक कफीको पैसा बेग्लाबेग्लै तिरेर हिँड्यौँ ।

उ पाटनको गल्लीतिर लागी, म चाकुपाटतिर । फर्केर पनि हेरिन त्यसले । सोचेँ, सारै निष्ठुरी रैचे । वास्ता गर्दिन भन्नु वा सम्झिन्न भन्नु नै सबै भन्दा ठुलो सम्झना रहेछ । जान त गई तर बिर्सन भने सकिएन । उसले चाही खै सम्झी कि बिर्सि, के गरी थाहा भएन ।

एक दिन फेसबुक चेक गरेको थिए, अनफेण्ड गरिसकेकी रहिछे । कहिलेकाहीँ सारै याद आउँथ्यो अनि बंगलामुखीको त्यही गल्ली हुँदै मन्दिर जान्थे । अनि पाटनढोकाको त्यही क्याफेमा पसेर एक कप कडा कफी पिएर फर्कन्थे । क्याफेमा अरू जोडीहरू देख्दा कता कता डाहा पनि पलाउँथ्यो मनमा । अरू साथीहरूले उसको बारेमा खुब सोध्थे, मैले अनेक बनावटी कुरा गरेर टारिदिन्थे ।

पछि कसैले सुनायो, उनी युरोप गइन् । अमेरिकामा राम्रो छात्रवृत्ति पाई छे, व्यवस्थापनमा । ‘उता उसको अर्कै ब्वाईफ्रेन्ड  छ, उतै सेटल हुन्छ होला’ साथीहरू सुनाउँथेँ मलाई बेला बेलामा । तर, त्यो सूचनाको कुनै अर्थ थिएन मलाई । म बिस्तारै आफ्नै लयमा हराउँदै गएको थिएँ । तर, मैले सोचे जस्तो रहेनछ यो सरकारी जागिर त । यस प्रतिको भरोसा, जोस, उमङ्ग र सन्तुष्टि बिस्तारै घट्दो क्रममा थियो । तर पनि म अल्झिनै रहेको थिए ।

कहिलेकाहीँ एनजिओको जागिर छाडेकोमा वा युरोप पढ्न नगएकोमा पछुतो पनि लाग्थ्यो । एनजिओका सहकर्मीहरू आईएनजिओका विभिन्न प्रोजेक्टमा छिरेर कमाल गरिसकेका थिए । उनीहरू वर्षमा आधा विदेश घुम्थे । म चाही हाकिम र ‘जागिर खान सिपालु’ सहकर्मीहरू विदेश घुम्दा ल्याइदिएको चकलेट खाएरै सन्तोष गरेको थिए । कुनै दिन त मेरो पनि पालो आउला नी भन्दा भन्दै वर्षौँ बित्यो तर पालो आएन, आउँदो रहेनछ पनि ।

चार वर्षपछि एक दिन अफिस जाने वेला ९ बजे तिर म्यासेन्जरमा कल आयो, शुभेच्छाको । फेसबुक अनफे्रण्ड गरे पनि मेसेन्जर चाही चालु नै रहेछ । ‘मिस् टेक’ होला भनेर उठाइन । पटक पटक आई रह्यो तर नउठाए पछि टेक्स्ट नै आयो,

‘उठाऊ न कुरा गर्नु छ भनेर’ । अनि उठाए । उसले भनिन ‘म नेपाल फर्कँदै छु । मलाई तिमीले हेल्प गर्छौ कि गर्दैनौ ?’ म निरुत्तर भए ।

केही सोच्न सकिनँ । उसले किन, के भन्न खोजेकी हो मैलै केही मेसो पाइन । फेरि सोधी अनि मैले केही नसोची गर्छु नि किन गर्दिन भनिदिए । हतार थियो । कहिले आउने भनेर पनि नसोधी सि यु भनेर म अफिस हान्दिए । दिनभर काम गर्ने मुड भएन । उसलाई मैले बिर्सिने कोसिसमा थिए । आज फेरि उसैले सम्झाई दिई । बेलुका फेरि कल आयो । सन्चो, विसञ्चो, दैनिकी सबै कुरा सोधी । मैले पनि त्यही औपचारिकता निभाए । उ सँग पर पर भाग्नुपर्ने कारण पनि थिएन मसँग ।

लामो कुरा हुँदै गर्दा उ मज्जाले रोई, पहिला कहिल्यै उ रोएको मैले देखेको थिइन, त्यति लामो सङ्गत गर्दा पनि, उसको मनोबल औसत केटीहरूको भन्दा निकै उच्च थियो । मलाई धेरै ‘मिस गरेको दाबी गरी’ । पुराना धेरै कुरा कोट्याएर मलाई पनि द्रवित बनाई ।

जनवरी २७ मा उ आउँदै रहेछ नेपाल, अब सधैँ यहीँ बस्ने गरेर ।

यसो भन्दा मलाई पनि कता कता खुसी नै लाग्यो । तर, जुन बेला उ विदेश जाने भन्थी त्यति बेला म चाही नेपाल नै बस्ने भन्थे । अहिले उ नेपाल नै बस्ने भनेर आउँदै छे, मलाई चाही विदेशिने मन भएको छ । तर पनि मैले उसलाई यहाँ नआउन भनिन ।

अचम्म लाग्यो कि नेपालको कुनै कुरामा पनि रमाउन नसक्ने त्यो केटी अमेरिका जस्तो सपनाको मुलुकमा गएर पनि किन फर्कँदै छ भनेर । सायद समय बलवान हुन रहेछ । उ उता बसेर घनघोर देशप्रेमी भई छे, म यहाँ सरकारी नुन खाएर पनि अहिले चाहिँ उतैको सपना बुनी रहेको छु ।

यस बिचमा हामी बिच कुनै सम्पर्क भएन । भनेकै दिन र समयमा उ आई । लिन आई ज त भनेकी थिइन तर खै केले हो मलाई डोर्‍याएछ । एयरपोर्ट पुग्दा उ झरिसेकेकी रहिछ, ठुलो जहाजबाट । बाहिर निस्कने बित्तिकै मैले देखे, चिनिहालेँ । तर, उसले देखिन । उसलाई लिन आएका रैछन् आफन्तहरू । गाडी गुडी सकेपछि देखि मलाई र चिनी हाली । पहिले झैँ मुसुक्क हाँस्दै हात हल्लाउँदै उ गई । पहिला भन्दा पनि गोरी भइछ बरु अलि दुव्लाईछे ।

कता कता मनमनै के को हो, किन हो खुसीले मलाई हावामै उडाई दियो । गाडी रोक्न लगाइन उसले पनि, मैले पनि रोक न भन्न मन लागेन । माथि आकाशमा हेरे, ईत्तिहाद एअरलाइन्सको ठुलो विमान लगभग ३० डिग्रीको कोणमा उकालो लाग्दै रहेछ । सोचे कति जना शुभेच्छाहरूले सपना यो उडानसँगै उडिरहेको छ, मातृभूमिलाई भुइमै छाडेर । जति सुकै शुभेच्छाहरू आकाशमा उडे पनि एउटा शुभेच्छा आज यो नेपाली धर्तीमा ओर्लिसकको थियो । त्यसैमा म दङ्ग पर्दै फर्केर आए ।

सुत्नुभन्दा अगाडी पर्दा हटाएर झ्याल खोले, बाहिर उज्यालो देखेँ । चिसो हावा चलेको भए पनि आकाशमा पूर्ण चन्द्रमा चम्की रहेको थियो, आज श्री स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन पो रहेछ । सोचेँ कमसेकम आज एउटा प्रवासी नेपाली स्वदेश फर्केको छ, सदैको लागी । सम्पूर्ण रूपमा नेपाली भएर । म चाही बेकार किन खुट्टा उचाल्नु प्रवासिन ? यही पो धेरै उज्यालो देखियो आज ।….

क्रमशः…

र यो पनि,

सिंहदरवार ह्याङ-२

प्रतिक्रिया दिनुहोस