यसरी भइन्छ सफल « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

यसरी भइन्छ सफल


दीपेन्द्र पाण्डे

२७ जेष्ठ २०७५, आइतबार


हरेक व्यक्ति सफल बन्न चाहन्छन् । तर, धेरै असफल बन्छन् । संसारमा दुःखको कारण पनि यही हो । सफलताको सम्बन्ध लक्ष्य, प्राप्ति एवं सन्तुष्टिसँग हुन्छ । पाइलट बन्ने लक्ष्य होस् वा इन्जिनियर, जस्तोसुकै लक्ष्यको पछाडि खुसी, सुखी र सम्मानजनक जीवन हुन्छ । र, यस्तै आदर्श जीवनको खोजमा देश–विदेश कता–कता धाउँदाधाउँदै जीवनरथ कहाँ पुगेर अडिन्छ, कहाँ पुगेर ठोकिन्छ र जीवनफूूल झर्छ, पत्तो हुँदैन । यस्तो अनिश्चित जिन्दगी लिएर अन्त्यहीन सफलता खोज्नु मूर्खतासिवाय केही होइन । मेरो अभिप्राय क्षणभङ्गुर जीवनमा सफलता सम्भव छ्रैन, भन्ने होइन । सफलताको एक विन्दु, जहाँसम्म हामी पुग्न चाहान्छौँ, त्यो निश्चित हुनुपर्छ । संसारमा कोही पनि सफल नभइ दिएको भए संसार आज यस्तो सजिलो, आधुनिक, विकसित र एक घरजस्तै बन्ने थिएन । आकाशमा उड्नु, धर्तीमा गुड्नु कल्पनामा पनि आउँथे कि आउँथेनन् । जुन आज सामान्य दैनिकी भइसकेका छन् । अतयव सफलता सम्भव छ । यसका लागि असफलताका कारणहरू, सफलताका रहस्यहरू र सुत्रहरू बुझ्नु र मनन् गर्नु जरुरी हुन्छ । सफलता सन्तुष्टिसँग जोडिएर आउने हुनाले त्यसै पनि मनोवैज्ञानिक छ । र, यसलाई पनि थुप्रै मनोवैज्ञानिक तत्वले नै प्रभाव पारेका हुन्छन् । यस लेखमा सफलतालाई प्रभाव पार्ने स–साना तर महत्वपूर्ण कुराहरूको रहस्योद्घाटन गर्ने प्रयास गरेको छु । म कुनै सफल व्यक्ति त होइन तर सफलतालाई बुझेसम्म परिभाषित गर्ने प्रयास गर्नुलाई अन्यथा लिनुहुन्न भन्नेमा विश्वस्त छु ।

लक्ष्य निर्धारण
सफलताबारे कुरा गर्दा लक्ष्य नै सर्वप्रथम आउँछ । किनकि हामी लक्ष्य प्राप्त गर्नुलाई सफलताको संज्ञा दिन्छौँ । लक्ष्यबिनाको मानिस गन्तव्य बिनाको यात्रीजस्तै हुन्छ । लक्ष्य भनेको गन्तव्य हो र परिश्रम भनेको यात्रा । आजको संसारमा मान्छेहरू गन्तव्यबारे सोच्दै नसोची जुन दिशामा बतास चलेको छ, त्यतैतिर कागज उडेजस्तै चौतर्फी डुलिरहेका छन् । यो नै असफलताको मुख्य कारण हो । तर लक्ष्य निर्धारण त्यति सजिलो कुरा पनि होइन । आफूलाई छामेर, तोलेर निर्धारित लक्ष्य धेरै हदसम्म प्रभावकारी हुन्छ । वर्तमानमा बाबु–आमाले सन्तानलाई तिमी इन्जिनियर, पाइलट वा डाक्टर बन्नुपर्छ भनेर दबाब दिन्छन् । सन्तानको भविष्यमाथि बाबु–आमाको अपेक्षा हावी भएको छ । यो गलत हो । लक्ष्य त व्यक्तिको रुचि, इच्छा, चाहनाका आधारमा किटान गर्नुपर्छ । व्यक्तिको अन्तरआत्माले जे चाहेको छ, बुझेर त्यही लक्ष्य बनाउन सक्यौँ भने लक्ष्य प्राप्ति सहजै हुनसक्छ । र, सन्तुष्टि पनि मिल्छ । त्यहाँ परिस्थिति, भाग्य र भगवानले पनि साथ दिन्छन् । जहाँ इच्छा, त्यहाँ उपाय भन्छौँ नि ।

लक्ष्य मार्गदर्शक हो । यो अन्तरआत्माको रोजाई हो । अन्तरआत्माले एउटा कुरा मागेको छ, तर हामी अर्कै कुरा भेटिरहेका छौँ । किनकि हामीले आफैलाई सुनेका छैनौँ र गलत बाटोमा छौँ । त्यसकारण असफल भएको महसुस गरी रहेका छौँ । लक्ष्य यदि रुचि, चाहना मुताबिक निर्धारित छ भने–त्यसमा आकर्षण हुन्छ । हरेक क्रियाकलापहरू लक्ष्योन्मुख नै हुन्छन् । र, हामी हरपल लक्ष्यप्रति सजग हुन्छौँ । अनि सफलताले पछ्याउन थाल्छ ।

लक्ष्य र कार्यबीच समन्वयता
लक्ष्य एकातिर र कार्य अर्कैतिर भएपछि सफलता दूर भाग्छ । संसारमा त्यस्तो कुनै विषय, प्रसंग वा कार्य छैन, जसको सम्बन्ध अन्य विषयसँग नहोस् । हामीले दैनिक गर्नुपर्ने कार्यहरूलाई लक्ष्यसँग जोड्नुपर्छ । र, ती क्रियाकलापले लक्ष्य प्राप्तिमा गर्ने सहयोगबारे मात्र सोच्नुपर्छ । बेफाइदाबारे मात्र सोच्यौँ भने बेफाइदा नै हाम्रो सामु आउँछ । हामीले सुन्ने गरेका छौँ– सरकारी सेवामा रहेका वा अन्य जागिरेहरू अधिकांशले कार्यालयमा व्यस्तताका कारण अध्ययन र अन्य सिर्जनात्मक कार्र्य गर्न फुर्सद नभएको बताउँछन् । यो प्रश्नबाट पन्छिने उपाय बाहेक केही होइन । हामी व्यवहारमा एक काम गरिरहेका छौँ तर मनले अर्कै काममा सफलता खोजिरहेको छ, अरु जस्तै बन्न खोजिरहेको छौं । यसरी लक्ष्य र कर्मको समन्वय टुटेको छ । सफलतासँग हाम्रो दुरी बढेको छ । संसारका सबैमा विशिष्टता हुन्छ, केही मौलिकपन हुन्छ, त्यो क्षमता र सम्भावना आफैँभित्र खोजौं । आफ्ना सम्भावना र क्षमतालाई कुल्चेर अरुजस्तो बन्ने खेलमा कतै यता न उताको भएइला ।

आत्मविश्वास
एकातिर असफलताको भय छ, अर्काेतिर परिवर्तनको । यो एक अनौठो संयोगमा हामी दोधार र असमञ्जसमा बाँचिरहेका छाँै । त्यसैले हामी आफैँलाई असक्षम घोषणा गर्दै नजिकैको सफलताबाट टाढा भागिरहेका छौँ । हामीले आफूभित्रको सकारात्मक ऊर्जालाई नकारात्मकताले छोपेर बसेका छौं । रक्तसँगै सञ्चारित हुनुपर्ने शक्तिलाई कहिँकतै बाँधेर बसेका छौं । हामीले आफैलाई पत्याएका छैनौँ, आफैलाई चिनेका छैनौं र पटक–पटक आफ्रनै निकट जान पनि इन्कार गरी आफैसँग दूरी बढाएर बसेका छौँ । तब, यो असमन्वय र बेमेल जिन्दगी लिएर सफलताको नाम रट्छौँ । अनि कहाँबाट आउनु सफलता र कहाँबाट बर्सन्छ– सुख, सन्तुष्टि, सम्पूर्णता । हामी हरपल सफलता पन्छाएर अघि बढ्छौँ ।

साना–साना सुधारमा सफलताको रहस्य लुकेको छ भन्नेमा विश्वास गर्दैनौँ । आखिर एक–एकले सकल संसार बनेको छ । एक विद्वानले भनेका छन्– ‘साना–साना कुराले पूर्णता बन्छ । तर, पूर्णता सानो कुरा होइन ।’

सफलताका कथाहरूको अध्ययन
सफल व्यक्तिका सफलताका कथाहरू, अन्तर्वाताहरू, अनुभवहरू, आत्मकथाहरू पढ्नाले पनि सफलतासँग सम्बन्ध जोडिन पुग्छ । लोकसेवा तयारीकै सन्दर्भमा भन्ने हो भने पनि लोकसेवा पढिरहेका विद्यार्थीहरू लोकसेवामा सफल व्यक्तिका अन्तर्वार्ता, अनुभवहरू पढ्दैनौँ र उल्टै भइसकेपछि जे भने नि हुन्छ, हाम्रो ठाउँमा उभिएर सोच्नु नि भन्छौं । तर, कुनै ५–६ पल्ट असफल भएका व्यक्तिका कथा कान थापेर, चाख लाएर सुन्छौं । र, मुख मिठ्याएर भन्छौं– ‘यो लोकसेवा हो, लोकसेवा होइन ।’ यी कुराले के देखाउँछ भने हामी अझै पनि भाग्यमाथि विश्वास गर्छौं । ठीकै छ, भाग्यमा विश्वास गरे पनि । तर, मलाई अनौठो लाग्छ कि आफ्नो भाग्य छैन भन्नेमा कसरी विश्वास गर्र्छौ हामी । अझै पनि हामी परिवर्तनको भयले कहीँकतै दुखिरहेका छौँ, हामी पश्चगामी र्छौँ । म पढ्छु र पास गर्छु भने पनि मनको गहिराइमा कतै आफूप्रतिको शंका छ । आफैप्रतिको विश्वास धर्मराएको छ र टुटेको छ । आफैप्रति अविश्वासको प्रस्ताव दर्ता गराएर हृदयको फाँटमा हामी सफलता खोजिरहेका छौँ । यो सफल बन्ने बाटो होइन ।

मानिसहरू सफल कसरी भए भन्नेबारे हामी कति पनि विचार गर्दैनौं । मैले अघि नै भने नि हामी आफैलाई चिन्दैनौँ । गौतम बुद्धले भनेका थिए– तिमीहरूले ठूला ठूला ऋषिमुनिहरूका लागि मठ–मन्दिर बनाएजस्तै मेरा लागि पनि बनाइदिनु ।

यो भनाइबाट के बुझिन्छ .भने, भगवान गौतम बुद्धलाई समेत आफू भगवान छु भनेर यकिन थिएन । उहाँले आफूूलाई एक ऋषिमुनि मात्र सोच्नुभएको रहेछ । यसर्थ हामीले आफूलाई चिन्नुपर्छ । जति शक्ति अरुमा छ, त्यति हामीमा पनि छ । सृष्टिले कसैप्रति अन्याय गर्दैन । म पनि सर्वशक्तिमान ईश्वरको अंश हुँ र केही गर्न सक्छु भन्ने सोच्नुपर्छ । यो सफलताका लागि सहायक बन्न सक्छ ।

सफलताको परिणामको कल्पना
अर्काे असफलताको कारण हो– गलत परिणाम कल्पेर निराश हुनु । यो नकारात्मकताको पराकाष्ठा हो । गीतामा भनिएकै छ नि– ‘कर्म गर फलको आशा नगर’ । हाम्रो एकमात्र कर्तव्य कर्म गर्नु हो । फलको विषयमा त तिनैले सोच्छन्, जसले सबैभन्दा माथि रहेर मूल्यांकन गरिरहेका हुन्छन्–ईश्वर । त्यसैले यस्तो निष्काम कर्म गरौँ, जसको अन्तमा सफलता नमिले पनि सन्तुष्टि अवश्य मिलोस् ।

आशा
निराशा औँसीजस्तै अँध्यारो र खतरनाक हुन्छ । आशा सूर्यका प्रभाति किरणजस्तै उज्यालो हुन्छ । र, उज्यालोमा पुर्याएरै छाड्छ । त्यसैले हामीले सोच्ने बेला आएको छ– हामी अँध्यारोमा हराउने कि उज्यालोमा जीवन खोज्ने । आज विश्व नै निराशाको अन्धकारमा हराएको छ । आत्महत्या जुन दरले बढिरहेको छ, यसले निराशाले संसार व्याप्त भएको प्रमाणित गर्छ । विश्वमा वर्तमानको शिक्षाले काम सिकायो र परिणामको हिसाब गर्न सिकायो । तर, बाँच्न सिकाएन । अब, जीवनमय नैतिक शिक्षा आजको आवश्यकता भइसकेको छ । अब काम खोज्दा–खोज्दा २१ औँ शताब्दीको विकसित युगमा पुगिसकेका छौँ, अबको युगमा सन्तुष्टि खोज्नु छ ।

आफ्ना गल्तीहरू पत्ता लगाउनु
कुनै काम वा परीक्षामा असफल भईहाले पनि हामी परिस्थितिमाथि दोषारोपण गर्छौँ । असफलताका कारणहरू केलाउँदैनौ र जति मेहनेत गरे पनि त्यहीँनेर अड्किन्छौ । नगर्नेसँग निहुँ र वकिलसँग तर्कको कमी हुँदैन । वास्तवमा आफ्नो असफलतामा अरुलाई दोषारोपण नगरी आत्ममूल्यांकन गरेर अघि बढ्यौँ भने सफल हुनबाट कसैले रोक्न सक्दैन । हामी असफल भए पनि कुनै परीक्षा वा काममा असफल भए हौँला, जिन्दगी सफल बनाउन त अझै पर्याप्त सम्भावना छन् । तिनै सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्ने बेला आएको छ । हामी असफलतालाई चिनेर, त्यसबाट सिकेर सफलताको मार्ग पहिल्याउन सक्छौँ । अहिले लोकसेवाका परीक्षार्थीको ओठ–ओठमा बसेको छ– ‘कि जित्छु, कि सिक्छु ।’ त्यो राम्रो हो । तर, यसलाई आत्माले अनुभूति गरेर भन्न सक्नुपर्छ । लियोटाल्स टायले भन्नुभएको छ नि– ‘गौरव कहिल्यै नलड्नुमा होइन, जति पल्ट लडे पनि उठ्नुमा छ ।’ अब हार नखानुस्, उठ्नुस् र यात्रालाई निरन्तरता दिनुस्, देशलाई तपाईँको खाँचो छ ।

आत्मानुशासन
आत्मानुशानको कमी पनि असफलताको कारण हो । हामी एकदमै अनुशासनहीन भइसकेका छौं । आफैँसँग झुट बोल्छौँ, आफैँलाई ढाँट्छौँ, आफ्नै बन्धनहरू तोड्छौँ र आत्मालाई सुन्दैनौँ । आत्माले नगर भनेको गछौँ, जा नभनेकै जान्छौँ । सफल बन्नु छ भने कम्तीमा आफैप्रति इमान्दार बन्नुपर्छ, आफ्नो लक्ष्य, भविष्य, सफलता र जीवनप्रति इमान्दार । केही हदसम्म आफैलाई नियन्त्रण पनि गर्नुपर्छ । हामीलाई थाहै छ– डाक्टरले औषधि दिँदै गर्दा भन्छ, यो खानु, यो नखानु । यस्तै सफलतातिर लम्किन र असफलताबाट सदाका लागि मुक्ति प्राप्त गर्न गलत सोच, विचार, धारणा र कुकर्मलाई त्याग्नुपर्छ । तिनैले असफलतालाई अड्याएर राखेका हुन्छन् । र, हाम्रो मन, मस्तिष्कको फाँटमा सफलताका उत्पादनशील बीउ छर्नुपर्छ, जे छर्यो त्यही उम्रिने न हो ।

सकारात्मक सोच एवं लक्ष्यकेन्द्रित चिन्तन
हाम्रो सोच, विचार र धारणाले धेरै हदसम्म कुनै कामप्रतिको लगाव, झुकावलाई निर्धारण गर्छ । जस्तो धारणा र विचार छ, त्यसकै पक्षमा तर्क र मत निर्माण हुन्छन् । जुन वस्तुलाई हामी हृदयदेखि चाहन्छौँ । त्यो एकदिन समिप आएरै छाड्छ । यसबाट के बुझिन्छ भने हाम्रो इच्छा, चाहनामा पनि एक विशाल आकर्षण शक्ति छ । त्यसैले हामीले सोचदेखि सुध्रिए मात्रै हरेक कर्म सफलता उन्मुख सुकर्म बन्छन् । सकारात्मक सोचाई, उदाहरणीय कदम । त्यसैले सोच बदलौँ । अनि सम्पूर्ण बदलियौँ ।

लक्ष्यप्रति समर्पण
सफलताका लागि लक्ष्यप्रति समर्पण पनि अति आवश्यक छ । म यसलाई आत्मार्पण भन्न रुचाउँछु । तपाईँ पूर्णरूपमा लक्ष्यकेन्द्रित बन्नुपर्छ । सकारात्मक सोच, विचार, धारणा र अथक परिश्रम आदिजस्ता सफलतारूपी रथका घोडाहरूलाई लक्ष्यतर्फ फर्काउनुहोस् र हाँक्नुहोस् रथ । तपाईँ आफ्नो लक्ष्यलाई बोझ बा मानसिक दबाबका रूपमा लिनुहुन्छ भने त्यो दुर्भाग्य हो । तपाईँ आफ्ना कर्ममा यसरी अभ्यस्त हुनुहोेस् कि कुनै दिन गर्न नभ्याए पनि केही छुटेजस्तो, बिर्सेजस्तो भान होस् । त्यस्तै आफ्ना नित्य कर्मको सूचीमा एउटा अर्काे काम थप्नुस्– त्यो तपार्इँको लक्ष्य । जो सहजतापूर्वक, हार्दिकतापूर्वक सम्पन्न गरिन्छन् ।

परीक्षाको सामान्यीकरण
परीक्षादेखि डराउनु र पन्छिनु पनि असफलताको अर्काे कारण हो । विद्यालय, विश्वविद्यालयले लिनेमात्र परीक्षा होइन । परीक्षा निरन्तर चलिरहन्छ । उठ्दा, बस्दा, खाँदा, हिँड्दा पनि परीक्षा हुन्छन् र त्यसैका आधारमा समाजले हामीलाई चिन्ने र हामीप्रति धारणा बनाउने गर्छ । हरपल हामीहरूले आफैसँग प्रतिस्पर्धा गर्नुपर्छ । हिजोको तपार्इँभन्दा आजको तपाईँ जानकार, सूचित र अब्बल बन्नुपर्छ । यसरी प्रत्येक दिन आफैँसँग प्रतिस्पर्धा गर्दा प्रतिस्पर्धी क्षमता बढ्दै जान्छ । यसले सफलतालाई सम्भव बनाउन सहयोग गर्छ । हरदिन तपार्इँ बेडमा निद्रा पर्खिँदै गर्दा दिनलाई केलाउनुस् र आफ्नो मूल्यांकन गर्नुहोस् ।

निरन्तरता र धैर्यशिलता
सफलताको अर्काे रहस्य निरन्तरता र धैर्यशीलतामा लुकेको छ । आफ्नो कर्ममा अभ्यस्त बन्नुपर्छ र निरन्तर पनि । पल–पल, दिन–दिनले जीवन बनेको छ । सफलताको लागि त वर्षौ पनि पर्खिनुपर्ने हुनसक्छ । तसर्थ धैर्यता सफलता उन्मुख व्यक्तिका लागि अपरिहार्य हुन्छ । मान्छेहरू सफलतामा पुग्नुअघि खुट्टा कमाउँछन् । धैर्यताको बाँध टुटेर असफल साबित भएका उदाहरण पनि थुप्रै छन् । सफलताको लागि हाम्रो कर्म माझिँदै जानुपर्छ । त्यसका लागि निरन्तरता नभै हुन्न । आत्तिने र मात्तिने प्रवत्ति गलत हो । सबै अवस्था, आरोह, अवरोह, खुसी, विस्मातहरूलाई सहजताका साथ लिनुपर्छ । सगरमाथा पुग्नलाई नाम्चे पुग्दै मुटु कमाउने र आधार शिविरमै खुट्टा कमाउने हो भने त्यो शिखर चुमिन्न । त्यो उचाई भेट्न त बलियो आत्मविश्वास र धैर्यताका साथ निरन्तर हिँडिरहनुपर्छ । यहाँनेर स्वामी सच्चिदानन्द सरस्वति खप्तड बाबाको दिव्य वाणी छ– ‘सफलताका लागि दुई कुराको आवश्यकता पर्छ, आत्मविश्वास र नियमपूर्वक अभ्यास ।’

अन्तमा, सफलता सम्भव छ, र यसलाई कर्मले डोर्याउँछ । समय र परिस्थितिले कर्मलाई निर्धारित गर्छ । सकारात्मक सोचले हरेक परिस्थितिलाई अनुकूल बनाइदिन्छ । सवै तरहले उपयुक्त समय कहिल्यै आउँदैन, हरेक पललाई जसले जुनसुकै हालतमा आफ्नै पक्षमा प्रयोग गर्न जानेको छ, उसैले समयलाई वास्तवमा बुझेको हुन्छ । र, समयलाई चुनौती दिने र सफलता चुम्ने हक त्यसैलाई हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस