मे दिवस र ट्रेड युनियन आन्दोलन « प्रशासन
Logo ११ असार २०७९, शनिबार
   

मे दिवस र ट्रेड युनियन आन्दोलन


कृष्णप्रसाद पराजुली

१८ बैशाख २०७५, मंगलबार


कृष्ण प्रसाद पराजुली

आफ्नो रगत, पसिना र श्रम बेचेर मेहेनतको कमाई खाने श्रमिकको महान पर्वको रुपमा रहेको श्रमिक दिवस यो बर्ष १२९ औ श्रृङ्खलाको रुपमा मनाईदै छ । श्रमिकको हक, अधिकार र स्वतन्त्रतालाई सामुहिक रुपमा बुलन्द गरी विश्वभरका श्रमिकलाई एकताको सुत्रमा बाध्न सहयोग गर्ने श्रमिक दिवस सम्पूर्ण श्रमिकहहरुको एकता, विरता र सङ्घर्षको प्रतिक हो ।

अमेरिकी शहर शिकागोमा सन् १८८६ को मे १ मा मजदुरहरुले आठ घन्टा काम, आठ घन्टा विश्राम र आठ घन्टा मनोरञ्जनको माग राख्दै सडकमा ओर्लिएर बलिदानीपूर्ण सङ्घर्ष गरी विजय हाँसिल गरेको दिनको सम्झना गर्दै सन् १८९० मे १ देखि मनाउन थालिएको मे दिवस सम्पूर्ण श्रमिकहरुको विशेष दिन हो । पुँजीपति वर्गद्धारा मजदुरलाई मेसिनझै चौविसै घन्टा काममा लगाउने र अत्यन्त न्युन पारिश्रमिक दिई अमानवीय व्यवहार गर्ने परिपाटिका विरुद्ध संगठित भएको ट्रेड युनियन आन्दोलनले मे दिवसको सान्दर्भिकतालाई लामो सङ्घर्ष, बलिदान र गौरवपूर्ण ईतिहासले सुसज्जित तुल्लाएको छ ।

मजदुरहरु राष्ट्र निर्माणका धरोहर हुन् । मजदुरको परिश्रम र लगाव विना कुनै पनि देशको विकास हुन सक्दैन । राष्ट्र निर्माणमा मजदुरको योगदानलाई अवमुल्यन गर्दाको परिणाम सुखद हुँदैन भन्नेकुरा विश्व ईतिहासमा सफल भएका महान मजदुर आन्दोलनले प्रमाणित गरिसकेका छन् । विश्व आज भुमन्डलीकरण, उदारीकरण, निजिकरण, औधोगिकरण र बजारीकरणको तिव्र प्रतिस्पर्धामा छ । जसको कारण, कुनै पनि देशको उन्नती र प्रगतीको लागि मालिक र मजदुर बीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यकताको बोध हुन थालेको छ ।

मजदुर विना मालिक र मालिक विना मजदुरको अस्तित्व रहदैन भन्ने कुरालाई मालिक र मजदुरले बुझिसकेका छन् । केवल लगानी गरिसकेपछि सबथोक प्राप्त हुन्छ भन्ने मालिकको मानसिकतामा परिवर्तन हुँदै गएको छ । श्रमिकले दश नङ्ग्रा खियाएन भने केवल लगानी गरेकै भरमा मालिक हुन नसक्ने र मालिकले उधोग व्यवसायमा लगानी गरिदिएन भने आफ्नो गुजारा चल्दैन भन्ने मान्यतालाई मालिक र मजदुरले आत्मसात गर्दै गएका छन् । अत (विश्वव्यापीकरणले सिर्जना गरेका अवसरलाई शिरोधार्य गर्दै विश्व समुदायलाई प्रगतीको दिशातर्फ डोराउने र मालिक र मजदुरको सम्बन्धलाई नङ र मासुको जस्तै तुल्लाउने प्रयास गरिनु आजको ट्रेड युनियन आन्दोलनको मुख्य उदेश्य हो ।

हुनत श्रमिक मजदुरको दायरा आज धेरै फराकिलो भईसकेको छ । पारिश्रमिक लिई रोजगारदताको लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जो सुकै नाम दिई काममा लगाएको व्याक्ति मजदुरको दायरामा पर्ने कुरालाई विभिन्न कानुनी दस्तावेजमा उल्लेख गरिएता पनि मजदुर हुनुपर्ने अवस्थाको सुरुवात दास युगबाटै भएको मानिन्छ । दासत्वको अवशेष मानिएका मजदुर एवं श्रमिक वर्गलाई सम्मानित रुपमा स्विकार नगरिएका कारण मजदुरहरु आन्दोलित हुँदै जाँदा अन्य मानिसलाई झै मजदुर वर्गलाई पनि क्षमता अनुसारको काम, पर्याप्त आराम र मनोरञ्जनको माग हुन थाल्यो । यसलाई सजिलैसँग स्विकार नगरिँदा अमेरिका जस्तो प्रजातान्त्रिक देशमा पनि मजदुरहरु आन्दोलित भए । यसै कारणले मजदुर आन्दोलनलाई चेतना र बौद्धिक आन्दोलनको रुपमा लिने गरिन्छ ।

विश्वमा अहिलेसम्म भएका महान राजनितीक परिवर्तनहरु मजदुर विना सम्भव नभएका दृष्टान्त विश्वको राजनीतिक ईतिहासमा सुनौला अक्षरले लेखिएका छन् । त्यसैले मजदुरहरुको योगदान, बलिदान र सङ्घर्षलाई कुनैपनि हालतमा अबमुल्यन वा न्युनाङ्कन गर्न सकिँदैन । कारखानामा काम गर्ने मजदुर हुन् वा चिया बगानमा काम गर्ने मजदुर हुन् वा विदेशको भूमीमा रगत र पसिना बगाएर देशको अर्थतन्त्रलाई जीवन्त तुल्याउने मजदुर हुन् अथवा सत्यतथ्य घटना उजागर गरी समाज परिवर्तनलाई गती दिने श्रमजीवी पत्रकार हुन् वा सार्वजनिक प्रशासन सञ्चालन गर्ने कर्मचारीतन्त्र नै किन नहुन् सबैको योगदान मजदुर आन्दोलनको रुपमा अतुलनीय छ ।

नेपालको महत्वपूर्ण आन्दोलन पनि मजदुर तहबाटै शुरुवात भएको थियो । स्व. गिरीजाप्रसाद कोईरालाको नेतृत्वमा वि.सं २००३ सालमा मजदुरहरुले विराटनगर जुट मिलबाट मजदुर आन्दोलनको सुरुवात गरेका थिए । सोही आन्दोलनले अगुवाई गरेको २००७ सालको क्रान्तिले १०४ बर्षे जहानिय राणाशासनलाई घुडा टेकायो ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि विभिन्न आरोह अवरोह पार गर्दै आजको दिनसम्म मजदुर आन्दोलन आईपुग्दा नेपालको राजनीतिक परिवर्तनको अगुवाई मजदुर वर्गबाट भएको तथ्य अब कसै सामु लुकेको छैन । पञ्चायती शासन व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था कायम गर्ने २०४६ सालको आन्दोलन होस् वा दश बर्षे शसस्त्र जनयुद्ध वा २०६२/०६३ को जनआन्दोलन, नेपालका सबै राजनीतिक परिवर्तनहरुमा श्रमिक योगदान कम महत्वपुर्ण छैन ।

२०४६ सालपछि मात्र नेपालमा ट्रेड युनियन आन्दोलनले उचाई लिएको पाईन्छ । यसै क्रममा २०७२ सालमा जारी भएको वर्तमान संविधानले श्रमको हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ । उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई संविधानले ग्यारेन्टि गरेको छ । प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुने तथा सामुहिक सौदावाजी गर्न पाउने व्यवस्थालाई संविधानले आत्मसात गरेको छ । श्रमिकका हक, हित र सुविधालाई व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्न र श्रम शोषणका सबै अवशेषको अन्त्य गर्न श्रम ऐन, २०७४ जारी गरी लागु गरिएको छ ।

श्रमिकको व्यवसायिक तथा पेशागत हक हितलाई संरक्षण र सम्बर्धन गर्न ट्रेड ऐन, २०४९ लागु गरिएको छ । निजामती सेवा ऐनले पनि ट्रेड युनियनको अधिकारलाई आत्मसात गरेको छ । श्रमिकको हक हित संरक्षण गर्न विभिन्न पेशागत महासंघ, संघ वा प्रतिष्ठान तथा ट्रेड युनियनहरु स्थापित छन् । आइएलओ महासन्धिलाई नेपालले अनुमोदन गरेको छ । संस्थागत रुपमा श्रम तथा रोजगार मन्त्रालयको प्रबन्ध गरिएको छ । श्रम आन्दोलनको माध्यमबाट श्रमिकको हितलाई ध्यानमा राखी गरिएका यी व्यवस्थाको वावजुत पनि श्रमिकको राजनीतिक आन्दोलनले उचाई लिईसक्दा पनि आर्थिक तथा सामाजिक अवस्थामा भने तात्विक परिवर्तन आउन सकेको छैन ।

प्रत्येक बर्ष मजदुर दिवस मनाईरहँदा मजदुरको पेशागत हित र उनीहरुको जीवनस्तर उभो बनाउने निश्चित योजना प्रस्तुत गर्नुको साटो मजदुर दिवसलाई राजनीति गर्ने प्रयोगशालाको रुपमा उपयोग गर्दा दलपिच्छे मजदुर संगठन खुल्ने र ट्रेड युनियनहरुमा भित्रिएको अवसरवाद र संरक्षणबादी सोच र प्रवृत्तिले श्रमिकको वास्तविक एजेन्डा सही ढङ्गले उठ्न सकिरहेको छैन । यसकारण, वास्तविक श्रमिकको अवस्था आज पनि दयनीय छ । आफ्नो व्यक्तिगत स्वार्थ र हितलाई पुरा गर्न ट्रेड युनियनलाई भर्याङ बनाउने र आफ्नो स्वार्थ पुरा भएपछि आन्दोलनलाई कमजोर बनाउने तथा पुँजीपति वर्गसँग आफ्नो व्याक्तिगत स्वार्थ अनुकुल सम्झौता गर्दा आजको अवस्थामा ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको छ ।

नयाँ सडकमा दिनभर खाली खुट्टामा भारी बोक्ने भरियाको जीवनस्तर आज पनि उस्तै छ । मजदुर दिवस मनाउन जम्मा भएका मजदुरहरु दिवस मनाएर साँझ घर फर्कदा परिवार र आफ्ना लालाबालासँग भोक दिवस मनाउन बाध्य छन् । चिया बगानमा काम गर्ने मजदुरको अवस्था उस्तै दयनीय छ । ठूलो मेहनेत, श्रम र पसिना बगाएर खेती गर्ने उखु किसानले आजपनि उधोगहरुबाट उचित मुल्य पाउन सकेका छैनन् ।

मुलुकमा पर्याप्त रोजगारीका अवसर नहुँदा खाडी मुलुकमा दैनिक हजारौ युवा कष्टपुर्ण, अपहेलित र असुरक्षित काम गर्न बाध्य छन् । समाज र राष्ट्रको अग्रगामी परिवर्तनको लागि विभिन्न असुरक्षाका बाबजुत कलम चलाउने श्रमजीवी पत्रकारले आजपनि मालिकबाट उचित पारिश्रमिक पाउन सकेका छैनन् । बढ्दो मुल्यवृद्धि र महँगीले दैनिक जीवन गुजार्न अप्ठ्यारो पर्दा समेत अन्य देशको तुलनामा अत्यन्त कम तलव सुविधामा निजामती श्रमिकहरुले देशका लागि काम गरिरहेका छन् । यी सबै दृष्टान्तबाट नेपालको ट्रेड युनियन आन्दोलन राजनीतिक रुपमा सफल भएपनि आर्थिक र सामाजिक रुपमा सफल हुन सकेको देखिँदैन ।

नेपाली ट्रेड युनियन आन्दोलनले धेरै लामो कालखण्ड पार गरिसक्दा नदीहरुमा धेरै पानी बगिसकेको छ । र पनि, उनीहरुको जिवनस्तरमा तात्विक सुधार आउन सकेको छैन । यहि कुरालाई आत्मसात गर्दै अवको ट्रेड युनियन आन्दोलन अगाडि बढ्नु पर्ने देखिन्छ । श्रमिकको एकता नै विजयको पहिलो संकेत भएकोले अबको श्रमिक आन्दोलन एकल ट्रेड युनियन आन्दोलनको रुपमा अगाडि बढ्नु पर्ने देखिन्छ ।

विभिन्न दल सम्बद्ध ट्रेड युनियनकर्मिहरुले अवसरवाद र व्यक्तिवादी सोचलाई हटाउँदै समग्र श्रमिकको हितलाई ध्यान दिएर अगाडि बढ्नु आवश्यक छ । सडकमा भारी बोक्ने मजदुर देखि चिया बगानमा काम गर्ने मजदुर हुन् वा विदेशी भुमीमा रगत र पसिना बगाई देशको अर्थतन्न् धान्न अतुलनीय योगदान पुराउन विदेसीएका नेपालीहरु हुन् सबैको जीवनस्तरलाई माथि उठाउने र उनीहरुको सुख, शान्ति र समृद्धि हुने तथा देशको अर्थिक सामाजिक क्रान्ति गर्ने दिशामा दृढ संकल्पका साथ ट्रेड युनियन आन्दोलनलाई मर्या्दित बनाउनु सम्पूर्ण ट्रेड युनियन कर्मिको उत्तरदायित्व हो । यसै दिशामा ट्रेड युनियन आन्दोलन केन्द्रित हुनु पर्छ ।

अन्त्यमा –लोकतन्त्र सबै समान हुने र सबैको अधिकार सुनिश्चित हुने सुन्दर बगैँचा हो । यो बगैँचाले श्रमिकले आफ्नो रगत र पसिना बेचेर श्रम गर्दा अनुकुल श्रम वातावरण, भेदभाव रहित कार्यव्यवहार एंव पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सुनिश्चित हुन सक्ने अवस्था सिर्जना गरोस् । मजदुर दिवस मनाएर साझ घर फर्कदा मजदुर र उसको परिवारले भोक दिवस मनाउन नपरोस् । सबै श्रमिकहरुलाई मजदुर दिवसको शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस