‘दिगो पर्यटनः विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस मनाइदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘दिगो पर्यटनः विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस मनाइदै


८ आश्विन २०७४, आइतबार


काठमाडौँ । ‘दिगो पर्यटनः विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा विगत झै यस वर्ष पनि दिवस मनाउन लागिएको हो । विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन नेपालमा मुख्य औपचारिक समारोह गरिँदै आए पनि यस वर्ष नेपालीको महान् चाड विजयादशमीअन्तर्गतको फूलपाती पर्ने भएकाले औपचारिक समारोह भने सोमबार हुँदैछ ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । दिवसको तयारी सम्बन्धमा आज आयोजित पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार औपचारिक समारोह दुई दिनअघि भए पनि पर्यटकीय संस्थाको साझेदारीमा साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरिनेछ । जसअनुरुप भोलि बिहान पर्यटन बोर्डको अगुवाइमा ठमेलदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरिनेछ भने त्यसपछि पर्यटन बोर्डमा औपचारिक समारोह गरी उत्कृष्ट ट्राभल, ट्रेकिङ तथा होटललाई पुरस्कृत गरिनेछ ।

यस्तै विभिन्न नाकाबाट स्थलमार्गबाट नेपाल भित्रिने पहिलो पर्यटक समूहलाई तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने पर्यटकलाई स्वागत कार्यक्रम पनि तय गरिएको छ । दिवसकै अवसरमा विभिन्न होटल तथा रेस्टुरेन्टमा १५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । पर्यटकलाई काठमाडौँ दरबार क्षेत्रमा निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दशैँको फूलपातीका कारण दिवसको दुई दिनअघि नै औपचारिक कार्यक्रम सारिएको बताए। उहाँले विश्व पर्यटनबाट कूल गार्हस्थ्य उत्पादनमा उच्च योगदान रहेको र नेपालको पर्यटन क्षेत्रको पनि सकारात्मक योगदान बढ्दै गएको उल्लेख गरे ।

दिवसलाई औपचारिकताभन्दा पनि सिर्जनात्मक काम गरेर मनाउनुपर्नेमा आवाज उठेको छ, तर यस वर्ष पनि केवल कर्मकाण्डीजस्तो मात्रै देखिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दिवसका अवसरमा सामान्यतः विगतका जस्तै कार्यक्रम औपचारिकता मात्रै रहे पनि यो वर्ष केही प्रभाव पर्ने खालका कार्यक्रम रहेको बताएका छन्। जोशीका अुनसार भक्तपुरको सांस्कृतिक सम्पदालाई कसरी बजार प्रवद्र्धन गर्ने भन्ने कार्यक्रम हुँदैछ भने टोनी हेगनको सतवार्षिकीका अवसरमा तस्बीर प्रदर्शनीलगायतका कार्यक्रम गरिएका छन् ।

“विश्व पर्यटन सङ्घले ‘थिम्याटिक कन्ट्री’ छनोट गरेर विश्व पर्यटन दिवस मनाउने गरेको छ, उदाहरणका लाग अहिले कतारमा भइरहेको छ । त्यस्ता कार्यक्रमका लागि नेपालले पहल गर्नसक्नुपर्छ किनकी नेपाल हिमाल र प्राकृतिक विविधतायुक्त मुलुक हो । त्यसैले यस्ता अकेजनमा नीतिगत सुधारका काम गर्नसके उपयुक्त हुने थियो,” प्रमुख कार्यकारी अधिकृत जोशीले भने । उनका अनुसार नेपालमा यो वर्ष पर्यटन क्षेत्र सकारात्मक छ, पर्यटकको सङ्ख्या ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । भूकम्पपछिको नकारात्मक सन्देशलाई चिरेर विश्वमा सकारात्मक सन्देश छाउनाका साथै देशमा बढ्दै गएको राजनीतिक स्थिरता र निजी क्षेत्रको आर्थिक लगानी बढ्नु हो ।

सन् २०१७ को पहिलो अवधिमा करिब आठ लाख पर्यटक पुगेको बताइन्छ । सन् २०१६ मा साढे सात लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यही अनुपातलाई हेर्ने हो भने सन् २०१७ मा १० लाख पर्यटक पुग्ने अनुमान रहेको बोर्डले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी सन् २०१२ मा आठ लाख विदेशी पर्यटक आएका थिए । संयुक्त राष्ट्र संघीय पर्यटन सङ्घको सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा एक अर्ब २० करोड पर्यटक पुगेका छन् । सन् १९५० मा दुई करोड ५० लाख पर्यटक थिए । यो सन् २०३० सम्म एक अर्ब ८० करोड ७० लाख पुग्ने अनुमान गरिएको छ ।

अनुपम प्राकृतिक विविधताले भरिर्पूण नेपाल विश्व पर्यटनको आकर्षण बन्दै गएको छ । अपार सम्भावनाबीच पनि नेपालले पर्यटक आकर्षण गर्न सकेको छैन । छिमेकी मुलुक भारत र चीनबाट विश्व भ्रमणमा निस्कने पर्यटकमध्ये केही प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालको पर्यटकीय अर्थतन्त्रले फड्को मार्ने थियो । संसारको सबैभन्दा बढी पर्यटक घुम्न निस्कने देश चीन हो र सबैभन्दा बढी खर्च गर्ने पनि चीन नै हो ।

सन् २०१६ को विवरणअनुसार चीनबाट १२ करोड ५० लाख पर्यटक विश्व भ्रमणमा निस्किएका थिए । विश्व पर्यटनको कूल गार्हस्थ्य उत्पादनमा १०।२ प्रतिशत योगदान रहेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा करिब चार प्रतिशत योगदान रहेको छ ।

सन् २०१६ मा विश्वका प्रमुख गन्तव्य फ्रान्समा ८४ करोड पाँच लाख, अमेरिकामा ७७ करोड पाँच लाख, स्पेनमा ६८ करोड नौ लाख चीनमा, ५६ करोड नौ लाख र इटालीमा ५० करोड सात लाख पर्यटक पुगेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस