शक्तिको आड, अहँकार, भक्तिभाव र सिक्ने प्रवृत्तिको अभावमा कर्मचारी जवाफदेही छैनन् - प्रशासन प्रशासन

शक्तिको आड, अहँकार, भक्तिभाव र सिक्ने प्रवृत्तिको अभावमा कर्मचारी जवाफदेही छैनन्


प्रकाशित मिति : ३ मंसिर २०७३, शुक्रबार ०८:०२

आज हामी के हौं, त्यो हिजोको कारणले हो । आज हामी कहाँनेर आईपुगेका छौं, त्यो हिजो हामीले हिडेको बाटोले तय गरेको गरेको कुरा हो । आज हाम्रो कस्तो सोच छ त्यो हाम्रो हिजोको संस्कार र भोगाईको उपज हो । समाज हाम्रो सोचको प्रतिफल हो । तसर्थ वर्तमानमा समाजको अध्ययन गर्न हाम्रो समाजिक मनोविज्ञानको विकासक्रमलाई पनि केलाउनु जरुरी हुन्छ ।

भौतिक जगत मस्तिष्ककै उत्पत्ती हो । आज देश कुन कुन राजनीतिक विचारप्रति झुकेको छ ? किन मुलुकमा राजनीतिक अस्थिरता छ ? आज धर्म परिवर्तन किन तिव्रतर भइरहेको छ ? आज किन अन्य मुलुकका तुलनामा हामी आर्थिक रुपमा असफल भैरहेका छौं ? किन देशमा भ्रष्टाचार मौलाएको छ ? ठिक होइन भन्ने जान्दा जान्दै पनि किन सामाजिक असमानता बढीरहेका छन् ? किन निरन्तरको कोसिसका बाबजुत पनि महिला हिंसाका घटनामा कमी आएको छैन ? किन आज पेशागत निष्ठामा कमी आएको छ ? यी र यस्तै यस्तै अनगिन्ति समाजिक, राजनीतिक एवं आर्थिक, वर्तमान अवस्थाका आयमहरु बुझ्नका लागि हामीले नेपाली सामुहिक मस्तिष्कको चिरफार गर्न आवश्यक छ । आज हामीमा के कस्ता चारित्रिक गुण, धर्म छ र हामीले कसरी सोच्दछौं भन्ने सन्दर्भमा हाम्रो मस्तिष्क कसरी र कुन अवस्थामा विकासभएको थियो भन्ने सन्दर्भलाई समेत केलाउनु पर्दछ ।


ओहदा बढ्दै जाँदा, शक्ति पनि बढ्दै जान्छ । अनि शक्तिसँगै अहंमको वृद्धि र क्रमशः जनतासँगको दुरी झन् झन् बढ्दै जाने खतरा हुन्छ ।

हुन त व्यक्ति व्यक्तिका विचारमा केही निजात्मकता हुन्छ तर प्रवृतिगत रुपमा मस्तिष्क व्यक्तिगत तत्व थोरै र समाजिक तत्व धेरै हो । जसरी व्यक्तिको मस्तिष्क हुन्छ, समाजको पनि मस्तिष्क हुन्छ । हिन्दुको आफ्नै सोच्ने तरिका हुन्छ । संसारको कुनै पनि कुनामा जानुहोस्, सबै हिन्दुको मनोविज्ञान उस्तै हुन्छ । तर हिन्दु र मुसलमानबिचको मनोविज्ञान फरक फरक हुन्छ । त्यस्तै मुसलमान–मुसलमानबिचको मनोविज्ञान उस्तै हुन्छ । त्यस्तै नेपालीहरुका पनि साझा मस्तिष्क हुन्छ । संसारभरको नेपालीले सोच्ने तरिकामा केहि समानता हुन्छ, तर नेपाली र अमेरिकीको मनोविज्ञानमा पृथकता हुन्छ । राष्ट्रियता र धर्मका आधारमा मात्रै होइन, समाजका विभिन्न समुहको सामुहिक मस्तिष्क हुन्छ । भुगोल, लिङ्ग, उमेर, पेशा आदि अनुसार हामीले सोच्ने चिजलाई प्रभाव पार्दछ । दुर्गम गाउँमा बस्नेहरुको एक किसिमको मनोविज्ञान हुन्छ । आधुनिक सहरमा बस्नेको अर्को किसिमको मनोविज्ञान हुन्छ । त्यसरी नैटिन एजर्सहरुको एक प्रकारको सामुहिक मनोविज्ञान हुन्छ । पत्रकारहरुको साझा किसिमको सामुहिक मनोविज्ञान हुन्छ । इत्यादि ।

हो, नेपाली समाजलाई चिरफार गर्नु छ भने पहिला नेपालीका सामुहिक मस्तिष्कलाई चिरफर गर्नुपर्छ । मस्तिष्क भनेको हामीभित्र समाज कै प्रतिविम्ब हो । अनि समाज भनेको हाम्रो समुहिक मस्तिष्कको परिणाम हो । उदाहरणका लागि नेपाली राजनीतिको अध्ययन गर्न राजनीतिमा प्रभाव पार्ने केहि शीर्ष नेताहरुको मनोविज्ञानको अध्ययन गर्न जरुरी छ । किनकि उनीहरुमा भएको चारित्रिक गुण र सोच्ने तरिकाले नेपाली राजनीतिलाई प्रत्यक्ष मार्गनिर्देशित गरेको हुन्छ ।

नेपाली समाजको विभिन्न आयाम मध्ये, नेपाली मस्तिष्कलाई आधार मानेर हामी हाम्रो कार्यपालीकाको सन्दर्भमा केही चिज उजागर गर्न लाग्दैछौं । ग्लोबलाईजेसनले गर्दा आजको नेपाली युवा र एकाध दशक अगाडिका युवाको मनोविज्ञानमा आमुल परिवर्तन देखा परिसकेको छ । तर आज जुन समुहले सम्बन्धित क्षेत्रलाई दिशानिर्देश गर्ने बागडोर सम्हालेका छन् तिनीहरुको मस्तिष्कको विकासका सन्दर्भमा विषयलाई केन्द्रित गर्नु जरुरी छ । आज कार्यपालिकाको योजना तर्जमा तहमा पचास वर्ष कटेकाहरु भएका सन्दर्भमा त्यस्ता मानिसहरुको सामुहिक मस्तिष्कको विकासका सन्दर्भमा कुराहरु केन्द्रित गरौं ।

यहाँनेर थोरै शंकाको निवारण गर्न जरुरी छ । आज देखिएका सञ्चार प्रविधिको प्रयोग, भूमण्डलीकरण, वैदेशिक एक्सोपजर, राजनीतिक परिवर्तन आदि कारण त युवा जमात मात्र नभएर एकाध दशक अगाडिका युवा वा आजका कार्यपालिकामा नेतृत्वको भुमिका निभाउँदै गरेकाहरुमा पनि त आमूल परिवर्तन आएको होला नि त, भन्ने प्रश्न उठ्न सक्छ । तर मान्छेका सिक्ने चहाना उमेरसँगै मर्दै गएको हुन्छ । केहि सिमित मानिसहरु, जसले सिक्ने प्रवृतिलाई निरन्तरता दिइरहेका हुन्छन् । ती बाहेक अरुको हकमा नयाँ कुरालाई ग्रहण गर्ने सन्दर्भमा आवरणमा तिनले केही सिकेको जस्तो देखिए पनि मस्तिष्कको गहिराइमा उनीहरु हिजो जस्तो थिए, आज त्यस्तै छन् । त्यसमाथि नेपालको कार्यपालीकाको व्यवस्था कर्मचारीमा सिक्नुपर्छ भन्ने भावनाको प्रतिकुल छ ।

हाम्रो कार्यपालिकामा देखिएका केही समस्याहरुः

१. जनातासँगको दुरी किन ?
ओहदाले दायित्व सँगसँगै शक्ति दिन्छ । शक्तिले अहंमताको वृद्धि गराउन मद्दत पुर्याउँछ । त्यसमाथि आफ्नो वरिपरि केही मानिसहरु जुनसुकै बेला पनि कुनै न कुनै कामले झुमी रहदा कर्मचारीहरु धेरै मानिसको आर्कषणको केन्द्र हुन्छन् । त्यसमाथि चिप्लोचाप्लो गर्नेहरुको फुल्याउने/फकाउने व्यवहारले कर्मचारीको अहंमतालाई अझै मोटाउन सहयोग पु¥याउछ । अहंमको अर्थ  ‘म’ अरु (आम मानिस) भन्दा विशेष हुँ भन्ने भाव हो । अहंमताले अरु र स्वयंमा मनोवैज्ञानिक पर्खाल बनाइदिन्छ । जुन पर्खालले आम मानिस र कर्मचारीमा दुरी बढाउने काम गर्छ । कर्मचारीले जब स्वयंलाई जनता भन्दा विशेष ओहदावाल ठान्छ, तब शक्तिमान महशुश गर्छ, हो त्यहीबाट कर्मचारी र जनता बिचको दुरी बढ्छ । ओहदा बढ्दै जादा, शक्ति पनि बढ्दै जान्छ । अनि शक्तिसँगै अहंमको वृद्धि र क्रमशः जनतासँगको दुरी झनै झनै बढ्दै जाने खतरा हुन्छ ।

त्यस्तै आत्मज्ञान नभएकाहरुका सन्दर्भमा शक्ति एक प्रकारको नुनीलो पानी जस्तै हो जती खायो उती तिर्खा बढ्ने । त्यसैले थोरै शक्ति चाखेकाहरुले शक्तिको विकास र विस्तार गर्ने सन्दर्भमा जनताभन्दा नेताप्रति उत्तरदायी हुने नै हुन्छन् ।

जनतासँगको दुरीका सन्दर्भमा नेताका सिफारिसमा जागिर खाएका हुन कि स्वयं मेहनतले हो भन्ने कुराले केहीप्रभाव पर्छ । शक्तिशाली नेताका सम्पर्कमा भएका कर्मचारीहरु अरु कर्मचारीका तुलनामा जनतासँग कम जवाफदेही हुन्छन् ।

कार्यपालिकाका धेरै सदस्यहरु ग्रामीण परिपेशबाट कमजोर आर्थिक हैसियतको पृष्ठभूमिबाट आएका छन् । खान्दानी वा ओहदावालाको छोरा र निम्न वर्गको मानिसको छोरा एकै तहका कर्मचारी भएको अवस्थामा निम्न वर्गको मानिसको छोरामा अहमं अझै  बढी हुनसक्छ । समकक्षी वा दौत्तरीका तुलनामा म निक्कै नै सफल भएँ भन्ने भावले पनि अहमंलाई विस्तार गर्न सहयोग नै पु¥याउँछ ।

२. सिक्न नचाहाने प्रवृद्धि र सो अनुकुलको व्यवस्था:
हाम्रो मुलुक वैज्ञानिक उपलब्धीका सन्दर्भमा किन पछि परेक छ त ? यसको एउटा कारण छ । हाम्रो अग्रजहरुले शंका होइन विश्वास गर्न सिके । जसले शंका गर्छ, उसले खोज गर्छ । खोज गर्नका लागि नयाँ नयाँ करा सिक्नु अपरिहार्य छ । तर हाम्रो समाजमा केहीकथित धर्म गुरुहरु, पुरोहित र पण्डितहरुले धर्मका आडमा आस्था सिकाए । विश्वास सिकाए । हामीले ५ हजार वर्ष सम्म विना कुनै आधार भगवान मान्दै आयौं । भूतप्रेतमा विश्वास गर्दै आयौं । हिन्दु धर्मका अनगिन्ति आयामहरु साच्चै वैज्ञानिक छन् । हाम्रा अग्रजले हाम्रो धर्ममा शंका गरेको भए ती वैज्ञानिक रहस्यहरु खोलिन्थे । तर तिनले केवल आस्था गरे । विना आधार विश्वास गरे। आफु हुर्केको समाजले मान्दै आएको धर्ममाथि शंका गर्नेहरुको लहरमा बुद्ध, महवीर ओशो आदि उभिएका छन् । तर हाम्रा अग्रजले हाम्रो मुलुकलाई कर्मकाण्डी बनाएका छन् । हामी शंका गर्दैनौ त्यसैले हामीमा सिक्ने क्षमताको कमी छ । त्यसैले हामीले केही नयाँ कुरा ग्रहण गर्न सक्दैनौं । आज कार्यपालिकाको नेतृत्व गर्ने तहका कर्मचारी त्यही पृष्ठभूमीबाट आएकै कारण नेपालका कार्यालयहरु कम्प्यूटराइज हुन नसकेका हुन् । यहि कारणले तिनले जनतालाई सेवा दिने सन्दर्भमा प्रविधिको उपयोग गर्न सक्ने चुनौति लिन नसकेका हुन् ।

 


केहि सीमित मानिसहरु, जसले सिक्ने प्रवृतिलाई निरन्तरता दिइरहेका हुन्छन् । ती बाहेक अरुको हकमा नयाँ कुरालाई ग्रहण गर्ने सन्दर्भमा आवरणमा तिनले केही सिकेको जस्तो देखिए पनि मस्तिष्कको गहिराइमा उनीहरु हिजो जस्तो थिए, आज त्यस्तै छन् । त्यसमाथि नेपालको कार्यपालीकाको व्यवस्था कर्मचारीमा सिक्नुपर्छ भन्ने भावनाको प्रतिकुल छ ।

नेपालका सरकारी कर्मचारीले सिक्न नखोज्नुको अर्को कारण पनि छ । त्यसमा कार्यपालिकाको व्यवस्थामै कमजोरी छन् । नेपालको कार्यपालिका पूजिवादी चरित्रको नभई समाजवादी चरित्रको छ । अर्थात व्यवथागत रुपमानेपालको कार्यपालिकाले व्यक्तिको व्यक्तित्वको विकासमा जोड नदिई समुहको विकासमा जोड दिन्छ । मेहनेती वा अल्छी, प्रतिभावान वा जडवादी, इमानदार वा भ्रष्ट सबै किसिमको कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गरिन्छ । निश्चित रुपमा क्रमैसंग स्वतः बढुवा हुने हुन्छ । काम गरेकाले पनि नगरेकाले पनि उस्तै सुविधा र तलब मान पाउने गर्छन । जब कि जिन्दगी प्राकृतिक रुपमै प्रतियोगिता हो । आफ्नो क्षमता अनुरुप कोही आगाडि बढ्न सक्छ कोही जहाँको त्यही रहला । कोही मानिस बढि सक्षम हुन सक्छ । कोही कम हुन सक्छ । तर कार्यपालिकाको व्यवस्थाका कारण क्षमतावान व्यक्तिलाई अझै  फैलिने प्रोत्साहन र अवसर दुवै दिइएको छैन । उदाहरणका लागि प्राइभेट कम्पनीमा निक्कै नै प्रतिभाशाली कर्मचारीले केहि वर्ष मै प्रमुख कार्यकारणी अधिकृत बन्ने अवसर पाउछन। तर सरकारी कार्यलयमा प्रतिभा भन्दा पनि रोल क्रमले ज्यादा महत्व राख्दछ ।

त्यस्तै सरकारी जागिर सुरक्षित हुनुका कारण पनि कर्मचारीहरुले सिक्न चाहदैनन् । स्थायी कर्मचारी जति सुकै अल्छी भएपनि जागिर नखोसिने ग्यारेन्टि हुन्छ । अर्थात उसलाई राज्यले स्थायी रुपमा शक्ति प्रत्यायोजीत गरेको हुन्छ । जहाँ सुरक्षा हुन्छ त्यहाँ फैलावट कम हुन्छ । त्यहाँ विकास कम हुन्छ ।पीजडा सुरक्षित छ तर आकास खतरापूर्ण छ । जहाँ सुरक्षा छ, त्यहाँ विकास र विस्तार हुदैन । तर जहाँ असुरक्षा छ, जहाँ खतरा छ, त्यहाँ विकास छ । त्यहाँ विस्तार छ । आकासमा उडेको चरा र पीजडाका चराको विकास क्रमलाई दाँज्न मिल्दैन । पीजडा सुरक्षित छ, भने दायित्व पूरा नगरेको सन्दर्भमा व्यक्तिगत कम्पनी र गैरसरकारी संस्थाका कर्मचारीका जागिर कुनै पनि बेला जानु सक्छ ।जहाँ खतरा छ त्यहाँ फैलावट हुन्छ । विस्तार हुन्छ । कुनै पनि बेला पदच्यूत हुने खतराका कारण त्यस्ता कर्मचारीले दिन रात मिहिनेत गरेका हुन्छन् । आफ्नो विकास गर्ने सन्दर्भमा तिनीहरुले निरन्रत प्रयास गरिरहेका हुन्छन् ।

हुन त कार्यपालिकाका सन्दर्भमा केही प्रोत्साहन र केही सजांयको व्यवस्था नभएको पनि होइन तर ती प्रर्याप्त छैनन् ।

३. जवाफदेहितामा कमी किन ?
आफ्नो चहाना अनुरुपको पेशामा आवद्धता हुदा मानिसमा केही गर्छु भन्ने भावले झक्झकाई रहेको हुन्छ । कसैलाई गायक बन्न मन पर्ला, कसैलाई संगीत श्रृजना गर्न, कसैलाई चिकित्सक, कसैलाई पत्रकार, कसैलाई राजनीति गर्न मन पर्ला । मान्छेमा भएको स्वभाव, गुण, क्षमता वा प्रतिभा आदिका आधारमा मानिसले के पेशा अँगाल्ने भन्ने इन्छालाई स्वरुप प्रदान गर्छ । तर सरकारी जागिरप्रति आकंर्षित हुने सन्दर्भमायी पेशाका तुलनामा केही फरक छ । अन्य पेशामा लाग्दा निक्कै नै संघर्ष गर्नुपर्ने हुनसक्छ । सफलता वा असफलता के हात लाग्ला निश्चित नहुन सक्छ । अधिकांसका हकमा खतरा मोलिकन थोरै आर्थिक र थोरै समाजिक रुपले सुरक्षित हुने अवसर छोप्ने सन्दर्भमा सरकारी जागिरप्रति मानिसहरु आकर्षित भएर आएका हुन्छन् । यसरीसरकारी सेवामा प्रवेश गर्नेहरुमा मानोवैज्ञानिक सन्दर्भमाजोखिम मोल्ने क्षमतामा कमी हुनसक्छ ।

 


केवल अवसर छोपेर जागिरे हुनेहरुको सन्दर्भमा सँधै उही र उस्तै अनि मन नपरेका काम गर्नुपर्ने बाध्यताका कारण पनि कामप्रति, कार्यालयप्रति र जनताप्रति कम जवाफहदेही हुनसक्छन् ।

अभावमा हुर्केकाहरु आम नेपालीका सन्दर्भमा आकर्षक तलव र सुविधासहित भविष्यको सुनिश्चितता नै सर्वोपरी हुन्छ । तर त्यस्ता मानिसहरुलाई कामको प्रवृत्ति मन नर्पन पनि सक्छ । तर काम जतिसुकै मन नपरेपनि अर्को वैकल्पिक व्यवस्थाका सुनिश्चिता नहुदा तिनले सरकारी कामलाई निरन्तरता दिईरहेका हुनसक्छन् । यसरी केवल अवसर छोपेर जागिरे हुनेहरुको सन्दर्भमा सँधै उही र उस्तै अनि मन नपरेका काम गर्नुपर्ने बाध्यताका कारण पनि कामप्रति, कार्यालयप्रति र जनताप्रतिकम जवाफहदेही हुनसक्छन् ।

४.भ्रष्टाचार
हामी एउटा संस्कारमा हुर्केका हौं । भाकलको संस्कारमा । सानैदेखि काम , कामना पूरा गरिदिए बापत हामीले नदेखिने भगवानलाई लड्डु, पेडा, नरिवल चढाउदै आएका छौं । अझै भाकल स्वरुप जनावरको वली पनि दिने संस्कारबाट आएका छौं । यस्तो संस्कारमा हुर्केका हामी, जहाँ केही रुपैयाँमा भगवानको इमानलाई लिलाम गरिदिन्छौं भने, हाम्रो मुलुकका जनता र कर्मचारी दुबैले घुस नखाने कुरै भएन । यसले भष्ट्रचारलाई बढवा दिएको त छ नै तर यसले हामीलाई कर्मवादी भन्दा भाग्यवादी बनाएको छ । हामी कर्मद्वारा गरिने परिवर्तन भन्दा अरुको आर्शिवादमा विश्वास गर्ने भएका छौं ।

भ्रष्टाचार सन्दर्भमा अर्को कुरा पनि छ । यो मुलुक गरिब छ । त्यही गरिबीको पृष्ठभूमीबाट आएका कर्मचारीहरुले आर्थिक रुपमा आफ्नो परिवारलाई सुरक्षित गर्ने प्रयासका कारण पनि भ्रष्टाचार भईरहेको हो । यो सन्दर्भमा केही हदसम्म भ्रष्टाचार गर्नेहरु क्षमा योग्य पनि हुनसक्छन्। एउटा हलमा २० जना भोकाएका मानिस छन् र तिनलाई केवल १० थाल मात्र खानीकुरा दिए भने तिनले खानका लागि लुछाचुडि गर्ने सन्दर्भमा प्रतिस्पर्धा गर्ने छन् । जुन स्वभाविक पनि हो । गरिव मुलुकमा देखिएको भ्रष्टाचार प्रवृत्तिगत रुपमा अपर्याप्त आम्दानीका कारण भईरहेको हो । तर केही मानिसमा धन प्रर्याप्त हुदाहुदा पनि लालसा पलाएछ भने चाँहि तिनीहरु क्षमा योग्य हुँदैनन् । मह काढ्नेले हात पनि चाट्ला तर विभिन्न किसिमको दायित्व पूरा गर्ने सन्दर्भमा चुकेका अल्छी कार्मचारीले भ्रष्टाचार गर्ने प्रतिस्पर्धामा अगाडि देखिनु चांहि बिडम्बनाकै कुरा हो ।

सुधार:
कुनै पनि संस्थामा देखिएका समस्याका निराकरण गर्ने सम्बन्धमा सबै भन्दा पहिले परिवर्तन गरिनुपर्ने चिज भनेको त्यहाँ कार्यरत कर्मचारीको सोचमा परिवर्तन ल्याउनुु हो । व्यक्तिगत रुपमा मस्तिष्कको रुपान्तरणका लागि, मस्तिष्कलाई तनावमुक्त बनाउने सन्दर्भमा, ललसामुक्त बनाउने सन्दर्भमा, कमीकमजोरी विहिन बनाउने सन्दर्भमा त व्यक्तिगत रुपमै स्वेच्छाले ध्यान गर्नु निक्कै नै उपयुक्त हुन्छ । तर राज्यले योजना बनाउने सन्दर्भमा भने कार्यापलिकाको व्यवस्थापनलाई पुजिवादी चरित्रको बनाउनु जरुरी छ । नीजि कम्पनिहरुमा जस्तै समूहभन्दा व्यक्तिगत रुपमै उत्साह भरिदिने परिपाटिको थालनी गर्नुपर्छ । प्रवृत्तिगत रुपमा मान्छेको चरित्र मैनवत्तिको जस्तै हो । आफु  सकिदै गएर आपूm वरिपरीका केही सिमित स्थानसम्म उज्यालो दिने । मैन जस्तै अधिकाशं मानिसले गर्ने मिहिनेत केही सिमितव्यक्तिका लागि हो । आफ्नो र परिवारको विकास र सुरक्षाका लागि मानिसले मरिहत्ते गर्दछन् । यसलाई समग्रसमाजको त्यति चासो हुदैन ।

तसर्थ मानिसको यही चरित्रलाई सम्वोधन गर्ने हो भने कामका सन्दर्भमा मानिसलाई निक्कै नै उत्साहित बनाउन सकिन्छ । आजको कार्यपालिकाको प्रणाली लाइनमा कुदाइएका गाडीहरु जस्तो हो । दु्रत गतिमा गाडीकुदाउन सक्नेका लागि पनि अगाडिका गाडीहरुको लस्करका कारण अगाडि बढ्न मुस्किल हुन्छ । उत्कृट परिणामका सन्दर्भमा हुनु पर्ने के हो भने, सबै गाडीका लागि छुट्टाछुट्टै लेनको व्यवस्था हुनु जरुरी छ ताकीद्रूर्त गाडी कुदाउनेहरु धेरै अगाडि पुगुन । यसरी सबै कर्मचारीहरुको क्षमता अनुकुलको काम निकाल्न सक्ने हो भने कार्यपालिकाले फड्को मार्न सक्छ ।

समाजिक परिवर्तनले सामुहिक सोचलाई परिवर्तन गरिदिन्छ । आम जनताका पनि कानुनी रुपमा अधिकार सम्पन्न हुदै जानु, आयस्रोत बढ्दै जानु र समाजिक रुपमा हैसियत बढ्दै जादा सिङ्गै नेपालीको सामुहिक सोचमा परिवर्तन आउने छ । राज्यको सामुहिक सोचमा आएको परिवर्तनका कारण सरकारी कर्मचारीले आम जनताका सन्दर्भमा गरिने व्यवहारमा स्वतः परिवर्तन हुदै आउने छ । त्यसै कारणले हाम्रो कार्यपालिका र जनताका दुरीका सन्दर्भमा मुलुकमा आएको राजनीतिक, समाजिक र आर्थिक परिवर्तनहरुले प्रभाव पार्दैलानेछन् । विकास, उधोग, उत्पादन आदि क्षेत्रमा सरकारी लगानीको तुलनामा नीजि लगानी बढ्दै गएको सन्दर्भमा आम जनताका जीवनमा सुधार आएको सन्दर्भमा सरकारी कार्मचारीले जनताप्रति गर्ने व्यवहारमा स्वतः आमुल परिवर्तन आउने छ । तर यहाँनेर हामीले समयक्रममा स्वभाविक हुने समाजिक परिवर्तनलाई केही प्रयास गर्दा परिवर्तले अझि गति लिन सक्ने भएको सन्दर्भमा यस दिशामा आम जनताका मानोविज्ञान बुझेकाहरुको सहयोगमा राज्य स्तरबाटै आम सञ्चारका माध्यमद्वारा केहि चेतना जगाउन पनि सकिन्छ ।

Tags: ,

प्रतिक्रिया दिनुहोस