काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ मा बिजुलीको पोलमा बाँधिएकी महिलाको प्रहरीले उद्धार गरेको छ । कुटपिट गरी पोलमा बाँधेको अवस्थामा फेला परेकी शारदा थापालाई प्रहरीले उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बेहोस अवस्थामा फेला परेकी उनलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएको छ । अस्पताल पुर्याएपछि उनको चेत खुलेको र अहिले उपचार भइरहेको सिलवालले बताए ।
ऋणको विषयमा थापालाई गाउँलेले कुटपिट गरेको स्रोतले बतायो । घर अगाडी रहेको बिजुलीको पोलमा बाँधेर थापामाथि आफन्तैबाट कुटपिट भएको हो । कमलामाई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले आइतबार बिहान आफूसँगको भेटमा ऋण तिर्ने सहमति भएको जानकारी दिए । उनले भने, पछिल्लो कुटपिटको घटनाबारे मलाई विस्तृत जानकारी भएन । बिहान अदालतमा रहेको मुद्दा फिर्ता लिने र ऋण तिर्दै जाने सहमति भएको थियो । बेलुका के भयो त्यो बुझ्नै पर्छ ।’
कुटपिटबाट बेहोस भएकी थापालाई राति उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएको थियो । अस्पतालका अनुसार उनको हड्डी टुटफुट भएको छैन, तर मासुमा चोट देखिएको छ । बेहोस भएका कारण उनको सिटिस्क्यान गरेर हेर्नु पर्ने अस्पतालले जनाएको छ ।
घटनापछि प्रहरीले अनुसन्धानका लागि थापाका श्रीमान सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक सिलवालले भने, ‘महिलालाई पोलमा बानेको अवस्थामा रेस्क्यु गरेको हो । कसले गर्यो ? किन गर्यो ? यो अनुसन्धानकै क्रममा छ । शङ्कास्पद केही मान्छेलाई नियन्त्रणमा लिएका छौँ । श्रीमान् पनि नियन्त्रणमा छ । अनुसन्धान गर्न बाँकी छ ।’
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले गम्भीर विषय भएकाले प्रहरीले घटनाबारे अनुसन्धान गरी रहेको जानकारी दिए । उनले भने, ‘यो केसलाई सिरियस्ली हेर्दिनु पर्यो भनेर एसपी साबलाई भनेको छु ।’ थापा दम्पती बिच विवाद भएर सम्बन्ध विच्छेदको लागि सिन्धुली जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।