एमालेले निकाल्यो घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेले निकाल्यो घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी विरोधी गतिविधिमा लागेका नेता द्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

त्यसै गरी, बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गङ्गा चौधरी र टेकबहादुर बलम्पाटीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ ।

चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरूलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस