धनुषामा वडा सदस्यका उम्मेदवारसहित २ जनामाथि आक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धनुषामा वडा सदस्यका उम्मेदवारसहित २ जनामाथि आक्रमण


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । धनुषामा एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि आक्रमण भएको छ ।

कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो ।

घरमा सुतिरहेको बेला बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट घाइते भएका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

‘घर बाहिर सुतिरहेको थिएँ । उनीहरूले वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छोरोलाई खोज्दै आएका थिए,’ चन्द्रनारायण भन्छन्, ‘यसो उनीहरूतर्फ हेरे लगत्तै आफूमाथि आक्रमण गरे ।’ गाउँकै राजकुमार यादव, बिन्देश्वर यादव, श्रीकिसुन यादव, शम्भु मण्डलसहितको समूहले रड, लाठी र खुकुरीले आक्रमण गरेको उनको भनाइ छ ।

यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण भएको छ । आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए । ‘टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरेका छन्,’ उनले भने ।

धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । ‘घटनाबारे जानकारी आएको छ । पीडितले लिखित जाहेरी दिएका छैनन्,’ उनले भने, ‘उहाँहरूले भनेको हुलिया अनुसारको व्यक्तिहरूको खोजतलास जारी राखेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस