अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेटवार्ता, आईडीए बैठकबारे छलफल « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेटवार्ता, आईडीए बैठकबारे छलफल


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठकबारे छलफल भएको छ ।

विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको आईडीएको २१औँ बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरूले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिएका छन् ।

मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए । आईडीएको २१औँ बैठक आगामी असारमा काठमाडौँमा हुँदैछ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिएका छन् ।

बैठक तयारीका लागि अर्थ सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए । यस्तै बैठक तयारीबारे काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ थियो ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस