‘कोभिड महामारीमा जथाभाबी औषधि सेवन गरेकामा स्वास्थ्यसम्बन्धी असर देखिन थाल्यो’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘कोभिड महामारीमा जथाभाबी औषधि सेवन गरेकामा स्वास्थ्यसम्बन्धी असर देखिन थाल्यो’


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । कोभिड–१९ को महामारीका बेला भएको लकडाउन र अस्पतालबाट कोभिड सर्न सक्छ भन्ने त्रासले धेरै मानिसहरू अस्पतालसम्म पुग्न सकेनन् । चिकित्सकसँग परामर्श गर्न पनि पाएनन् । धेरैजसोले घरमै चिकित्सकको परामर्श विनै औषधि सेवन गरे । कतिपयले चिने जानेका आफन्त र घर परिवारको सल्लाह र देखासिकीमै औषधि सेवन गरे ।

यसरी चिकित्सकको सल्लाह र परामर्श विना नै जथाभाबी औषधि सेवन गरेकाहरूमा अहिले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखा पर्न थालेका छन् । उनीहरूमा औषधिले काम नगर्ने, स्वास्थ्य समस्या बल्झिरहने, पुरानो रोग बिग्रिएको जस्ता समस्या देखा परेका छन् । कोभिड महामारीका बेला जथाभाबी औषधि सेवन गरेकाहरूमा मिर्गौला र कलेजोसँग सम्बन्धित समस्या पनि देखिन थालेका छ ।

चिकित्सकको परामर्श विना नै सेवन गरेको औषधि घातक हुन्छ । यसरी औषधि सेवन गरेकाहरूले जति सक्यो छिटो स्वास्थ्य जाँच र चिकित्सकसँग परामर्श गर्न जरुरी छ ।

चिकित्सकको परामर्शविनै ककटेल औषधि
कोभिड–१९ को महामारीका बेला मानिसहरूले दुई थरी औषधि सेवन गरे । एक थरीले चिकित्सकको सल्लाहमा औषधि सेवन गरे भने अर्को थरीले आफन्त र चिनिजानेकाको सल्लाहमा औषधि सेवन गरे ।

घरमै बसेर औषधि सेवन गर्नेमा डाक्टरको सल्लाहसँगै घरायसी औषधि पनि परेको छ । यसरी औषधि सेवन गर्नेले जडीबुटी पनि सेवन गरेका छन् । यसलाई ककटेल भन्न सकिन्छ । ककटेल औषधिको असर अहिले देखिन थालेको छ ।

पुरानो रोग बिग्रियो, नयाँ रोगको जोखिम
कोभिड सङ्क्रमण अहिले मत्थर भएको छ । अहिले बिरामीहरू उपचारका लागि अस्पताल आउन थालेका छन् । उनीहरू मध्ये केही पोस्ट कोभिडको लक्षण लिएर आएका छन् भने कतिपयमा जथाभाबी औषधिको सेवनले पुरानो रोगलाई बिगारेको पाइएको छ ।

डेक्सामिटासुन औषधिको प्रयोगले सुगरका नयाँ बिरामी देखा परेका छन् । अर्कोतर्फ पहिले सुगर भएका बिरामीको सुगर बिगारेको पाइएको छ ।

यसैगरी कोभिड भएका बेला दुखाइ कम गर्ने औषधि र मल्टी भिटामिनहरू लामो समयसम्म सेवन गरेकामा खाना खान मन नलाग्ने, वाकवाक लाग्ने लगायतका समस्या देखा परेका छन् ।

औषधिको आवश्यक डोजले काम गर्न छाड्यो

दुखाइ कम गर्न ब्रुफिन र प्यारा सिटामोल एकै पटक सेवन गरेको पाइएको छ । यी दुईको मात्रा मिलाउँदा ९ सय एमजी हुन्छ । यो भनेको धेरै डोज ९मात्रा० हो ।

१० ग्राम प्यारा सिटामोल खायो भने कलेजोमा असर गर्छ । मानिसहरूले दिनमा ३/४ वटा ब्रुफिन र ८/९ वटासम्म सिटामोल खाएको पाइएको छ । यसले बिरामीहरूको कलेजो र मिर्गौलामा असर गरेको रिपोर्टहरू आएका छन् ।

होम आइसोलेसनमा बसेर औषधि खाएकाहरूमा अहिले सामान्य डोज औषधिले काम गर्न छाडेको छ । अर्कोतर्फ कतिपय कोभिडका बिरामीले मानसिक रोगको औषधि सेवन गरेको पनि पाइएको छ । अहिले उनीहरूलाई ती औषधिबाट छुटकारा दिलाउन खोज्दा पनि नसकिएको अवस्था छ ।

१७ प्रतिशत केसहरू अनियन्त्रित औषधि सेवनका
अस्पतालको ओपिडीमा उपचार गराउन आउने मध्ये ११ देखि १७ प्रतिशत केसहरू अनियन्त्रित रूपमा औषधि प्रयोग भएर समस्या बल्झिएका रहेका छन् । उनीहरूले विभिन्न एन्टिबाइटिक, भिटामिन, डिकोल्ड, सिटामोल, ब्रुफिन जस्ता औषधि धेरै मात्रामा सेवन गरेका छन् ।

एन्टिबाइटिक एक महिनासम्म नियमित सेवन गरेको पाइएको छ । ज्वरोको औषधि ज्वरो निको नहुँदासम्म सेवन गरेको पाइएको छ । खोकीको औषधि ६ महिनासम्म खाएको पाइएको छ । लामो समयसम्म कपसिरफको सेवनले मुटुको धड्कन बढ्ने समस्या भएको पाइएको छ ।

दोस्रो लहरका बिरामीमा बढी समस्या
धेरैले कोभिड सामान्य रोग हो र यो ठिक हुन्छ भन्ने मानसिकताका कारण चिकित्सकको परामर्श विना नै होम आइसोलेसनमा बसे । खास गरी कोभिडको दोस्रो लहरमा होम आइसोलेसनमा बस्नेहरूमा ठुलो सङ्ख्यमा स्वास्थ्यमा समस्या देखिएको छ ।

दोस्रो लहरका बेला अक्सिजनको अभाव भयो । होम आइसोलेसनमा बस्नेहरूले पनि शरीरमा अक्सिजनको मात्रालाई बढी प्राथमिकता दिए । उनीहरूले अक्सिजन नापे । अक्सिजनको मात्रा ९३ प्रतिशत भन्दा माथि छ भने म ठिक छु भन्ने ठाने । तर, हामीले अक्सिजन ९३ प्रतिशत वा त्यो भन्दा माथि भएकाहरूमा पनि फोक्सोमा समस्या आएका पाएका छौँ । आधा भन्दा धेरै फोक्सो सेतो भएको र निमोनिया भएको पाएका छौँ ।

अहिले उनीहरू नै पोस्ट कोभिडका बिरामीका रूपमा अस्पतालमा उपचारका लागि आउने गरेका छन् । भरतपुर अस्पतालको कोभिड बेडहरू अहिले पनि भरिएका छन् । उपचार गराइरहेका बिरामीहरू गम्भीर अवस्थाकै छन् । उनीहरूलाई दोस्रो लहरका गम्भीर सङ्क्रमितहरूलाई जस्तै अक्सिजनको आवश्यकता परेको छ ।

तुरुन्तै स्वास्थ्य जाँच गरौँ
ज्वरो आयो, खोकी लाग्यो, श्वासप्रश्वासमा समस्या भयो, पहिलेको तुलनामा त्यत्तिकै परिश्रम गर्दा सास फुल्यो वा गाह्रो भयो, इच्छा शक्तिमा कमी आयो भने तुरुन्त चिकित्सकको परामर्श लिनु पर्छ ।

कोभिड परीक्षण नै नगरी कतिपय होम आइसोलेसनमा बसेका थिए । उनीहरूमा गम्भीर समस्या नदेखिए पनि फोक्सोको सङ्क्रमण र निमोनिया भएको पाइएको छ । यस कारण पनि उनीहरूले एक पटक आफ्नो स्वास्थ्य जाँच गराउन आवश्यक छ ।

कोभिड महामारीका बेला चिकित्सकको सल्लाह र परामर्श विना औषधि सेवन गरेकाहरूले पनि एक पटक स्वास्थ्य जाँच गर्न आवश्यक छ । र चिकित्सकको परामर्श र प्रेस्क्रिप्सनमा मात्र औषधिको सेवन गर्नु पर्छ ।

चितवनको भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीसँगको कुराकानीमा आधारित ।

Tags :
प्रतिक्रिया दिनुहोस