नेपाली साहित्य कम पढ्न थालिएको छः डा. बराल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपाली साहित्य कम पढ्न थालिएको छः डा. बराल


१५ बैशाख २०७४, शुक्रबार


काठमाडौँ। समालोचक डा. ऋषिराज बरालले नेपाली साहित्य कम पढिन थालेको बताएका छन् ।

कथाकार डा. भगवानचन्द्र ज्ञवालीको कथासङ्ग्रह ‘सङ्घर्षको बाटो’को समीक्षा कार्यक्रममा डा. बरालले पुराना स्रष्टाले पनि साहित्य सिर्जना कम पढ्न थालेको टिप्पणी गर्दै भने, “अहिले सामाजिक सञ्जालमा सतही सिर्जना राखेर वाहीवाही बटुल्ने प्रवृत्ति हाबी भएको छ । गम्भीर साहित्य लेखनमा पनि कमी आएको छ । सामाजिक सञ्जालको होहल्लाले साहित्यलाई सस्तो लोकप्रियतामा सीमित बनाएको छ ।”

उपप्राध्यापक रजनी ढकालले ज्ञवालीका कथाका विषयवस्तु उच्च कोटिको भए पनि महिलालाई हेर्ने दृष्टिकोण तथा महिला र पुरुषबीचको परम्परागत धारणा कथामा देखाइएको टिप्पणी गरिन् ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले साहित्यमा गम्भीर अध्ययन हुन बाँकी रहेकाले समय समयमा विभिन्न विचारधाराका साहित्यबीचमा अन्योलको स्थिति आउने गरेको बताए । उनले भने, “नेपाली र अङ्ग्रेजी भाषाका अध्येता कथाकार ज्ञवालीले सशस्त्र द्वन्द्वको समयलाई लिएर लेखिएकाले पढ्नु आवश्यक छ ।”

साहित्यकार खेम थपलियाले प्रगतिवादी साहित्यिक धारणाले समाजमा सशक्त प्रभाव पार्ने भए पनि नेपालका कम्युनिस्ट नेताले त्यसलाई प्रतिकूल बनाएको आरोप लगाए । “साहित्य कसका लागि लेखिएको हो भन्ने स्पष्ट भएर मात्र साहित्यकारले कलम चलाउनुपर्छ । त्यसो भएमा मात्र लेखनको उद्देश्य प्राप्ति हुन्छ”, उनले भने ।

साहित्यकार पूर्ण विरामले नयाँ पुस्ताले साहित्य कम पढ्न र लेख्न थालेको भन्दै चिन्ता व्यक्त गरे । कथाकार डा. ज्ञवालीले आफ्ना पुराना रचनालाई समेटेर सङ्ग्रहका रुपमा ल्याइएको बताए । केही दिनअघि बजारमा आएको उक्त सङ्ग्रहमा १७ कथा समाविष्ट छन् । रासस

प्रतिक्रिया दिनुहोस