उपसचिवलाई सङ्घीयता तथा वित्तीय सङ्घीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपसचिवलाई सङ्घीयता तथा वित्तीय सङ्घीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले १६ जना अधिकृत कर्मचारी तथा उप–सचिवहरूलाई ५ दिने सङ्घीयता तथा वित्तीय सङ्घीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । भाद्र २५ गते शुक्रवारदेखि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कर्मचारीका लागि प्रशिक्षण सुरु भएको हो ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले यस कार्यक्रमले प्रशिक्षणमा सहभागी आयोगका कर्मचारीहरूको क्षमता अभिवृद्धि मार्फत आयोगको भूमिकालाई समेत प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरेको बताएका छन् ।

साथै यसले प्रशिक्षार्थीहरूको कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पार्ने र कार्यसम्पादनलाई अझ बढी प्रभावकारीरुपमा सम्पन्न गर्न सहयोगी हुने विश्वास सचिव दुवाडीले लिएका छन् ।

उद्घाटन मन्तव्यका क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले वित्त आयोग र प्रतिष्ठानबिचको यो सहकार्यले क्षमता विकास र अनुभव आदान प्रदानमा महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने विश्वास व्यक्त गर्नुका साथै यस्ता कार्यक्रमहरूले सङ्घीयता र वित्तीय सङ्घीयता सम्बन्धी आयोग, प्रतिष्ठान र विज्ञहरूको बुझाइमा एकरूपता ल्याउन सहयोग पुर्‍याउने बताए ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका बिचमा आयोगका कर्मचारीहरूको क्षमता अभिवृद्धि, अनुभव आदान प्रदान र आयोगले गरेका निर्णय तथा सिफारिसको प्रकाशन तथा प्रसार गर्ने उद्देश्य अनुरूप भएको समझदारी पत्रको कार्यान्वयनका क्रममा यस प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सञ्चालनमा आएको र आगामी दिनमा थप कार्यक्रमहरू उत्साहका साथ सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस