भोलिदेखि ‘घटना दर्ता विशेष अभियान’ शुरु, सहभागी हुन विभागको अनुरोध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भोलिदेखि ‘घटना दर्ता विशेष अभियान’ शुरु, सहभागी हुन विभागको अनुरोध


३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । सरकारले बुधवार(भोलि)देखि ‘घटना दर्ता विशेष अभियान’ शुरु गर्दै छ । सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले व्यक्तिगत घटना दर्तालाई उच्च महत्त्व दिँदै देशव्यापीरुपमा सञ्चालन गर्न लागेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

प्रत्येक वर्ष वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवसको रूपमा र वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएकोमा यस वर्षको घटना दर्तालाई विशेष अभियानका रूपमा वैशाख १ देखि १६ गतेसम्म सबै स्थानीय तहमा सञ्चालन गर्न लागेको सिंहदरवारस्थित विभागमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

विभागले सबै स्थानीय तहलाई वैशाख १ देखि १६ गतेसम्म आ आफ्नो वडा तथा नागरिकलाई लक्षित गरी पायक पर्ने स्थानमा शिविर सञ्चालनमार्फत व्यक्तिगत घटना दर्तालाई अभियानका रूपमा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहयोग गरेको विभागका निर्देशक शिवराज जोशीले पत्रकारहरूलाई जानकारी गराए ।

शिविरमा व्यक्तिगत घटना दर्ता गर्नेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको निवेदन सङ्कलन र व्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो दर्ता गर्न सकिने पनि निर्देशक जोशीको भनाई छ ।

देशभरका ६ हजार सात सय ४३ वटै वडा कार्यालय तथा स्थानीय तहले तोकेको स्थानमा अभियान सञ्चालन हुने विभागका निर्देशक युवराज कटेलले बताए । ‘स्थानीय तहले नागरिकलाई पायक पर्ने वडाभन्दा कम्तीमा तीन वटा फरक स्थानमा सञ्चालन गर्नुपर्नेछ’ निर्देशक कटेलले भने ।

विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सरकारले सञ्चालन गर्न गइरहेको अभियान सफल बनाउन सञ्चारमाध्यमको ठुलो भूमिका रहेको बताउँदै आम नागरिकले सही समयमा सूचना प्राप्त गरेको अवस्थामा मात्रै उल्लेख्य सहभागिता रहने र सरकारको अभियान सफल हुने बताए ।

घटना दर्ताले जनसङ्ख्याको गतिशीलता र स्ट्याटस परिवर्तनलाईसमेत बुझाउने भएकोले यसलाई महत्त्वका साथ हेरेको महानिर्देशक बस्नेतले बताए । ‘नागरिक र राज्य दुबैका लागि घटना दर्ता महत्त्वपूर्ण छ, महानिर्देशक बस्नेतले भने, ‘नागरिकलाई घटना दर्ता गर्दा राज्यबाट उपलब्ध हुने सेवा सुविधा लिन सहज हुन्छ र राज्यलाई नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन र विकास योजनाहरू तय गर्न मद्दत गर्छ ।’

२०७२ साल चैत्र १३ गतेदेखि काठमाडौँ महानगरपालिकाको वडा नं. १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुचारु गरेको विभागले हाल देशभरका ६ हजार सात सय ४३ वडामध्ये ४ हजार दुई सय ९६ वडामा अनलाइनमार्फत घटना दर्ता गरिरहेको छ ।

स्थानीय तहमार्फत अनलाइन व्यक्तिगत घटना दर्तालाई तीव्रता दिन प्राविधिक तथा सफ्टवेयर प्रणाली सञ्चालन गर्दै आएको विभागले २०७६/०७७ मा तीन हजार तीन सय वडाहरूमा अनलाइन प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, स्क्यानर, प्रिन्टर सफ्टवेयरलगायतका सामाग्री खरिदका लागि स्रोत उपलब्ध गराउँदै आएको विभागले जनाएको छ ।

नागरिकको व्यक्तिगत घटना दर्ताका अभिलेख प्रत्यक्ष रूपमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित रहेकोले यो आवश्यक र अनिवार्य विषयका रूपमा नागरिकलाई सूचित गरिएको छ । सरकारले जैविक विवरणसहित जारी गर्ने राष्ट्रिय परिचयपत्रका लागि जन्म दर्ता अनिवार्य रहेको छ ।

पञ्जीकरण(व्यक्तिगत घटना दर्ता) कार्यक्रमको व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता कार्यक्रमको व्यवस्थापन तथा राष्ट्रिय परिचय पत्रको व्यवस्थापन जस्ता महत्त्वपूर्ण जिम्मेवारी विभागले सम्हाल्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस