काठमाडौँ । ‘प्रशासनिक ल्याकिङ’ भएको भन्दै दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) साँटफेर गरिएको छ ।
औद्योगिक कोरिडोर शिलान्यास गर्न मोतीपुर पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटेको विषयमा प्रशासनिक ल्याकिङ भएको ठहर पछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई पर्सा सरुवा गरिएको छ भने उनको ठाउँमा पर्साका प्रजिअ अस्मान तामाङलाई जिम्मेवारी दिइएको छ ।
‘कारवाही नै त नभनौ तर, घटनाबारे पूर्वानुमान गर्न नसकेर ‘प्रशासनिक ल्याकिङ’ भएको देखिएपछि साँटफेर गरिएको हो’ गृह उच्च स्रोतले प्रशासनलाई भन्यो ।
अर्थमन्त्री पौडेलकै जोडबलमा रुपन्देहीको सिडिओ बन्न पुगेका घिमिरेले स्थानीयको आक्रोसको पूर्वानुमान गर्न नसकेपछि आखिर उनकै कारण कारवाही स्वरुप साँटफेर हुनु परेको सिंहदरवार स्रोतको भनाई छ ।
गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल स्थानीयको विरोधपछि दुई मिनेट पनि बोल्न नपाई कार्यक्रम छाडेर भागेका थिए ।
यद्यपी स्थानीय प्रशासनको संयमितताकै कारण त्यहाँ कुनै अप्रिय घटना घटेन । स्थानीय जनताको चर्को विरोधका बिच अर्थमन्त्री पौडेल जवर्जस्ती शिलान्यास गर्न पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा प्रमुखहरु पनि काठमाडाैँ तानिएका छन् । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रविण पोखरेल र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको जनाइएको छ ।
कर्मचारी वृत्तमा गल्ति गरे या कसैलाई मन नपरेको अवस्थामा सबैभन्दा सजिलो कारवाही सरुवा हो । कर्मचारीको सरुवा कारवाही नभई नियमित प्रक्रिया भएपनि उच्च पदस्थहरुले यसैलाई कारवाही ठानी दिँदा सरुवा एउटा बिकृतीकै रुपमा मौलाउँदै आएको छ ।
कर्मचारीबाट गल्ति भएको पुष्टि भए कारवाही नै गर्नु पर्ने तर सरुवालाई कारवाही स्वरुप लिने चलन बन्द नगरुन्जेल कर्मचारीतन्त्र नसुध्रिने प्रशासकहरुको भनाई छ ।