मृगतृष्णा सँगै बन्धक बनेको यो मनको भाग दौड,
मृत्युवरण सँगै बन्द हुने यो तनको अनवरतता,
मनसँगको यो कस्तो युद्ध ?
हतियार बिनाको लाचार योद्धा !
सृष्टिको व्यूहचक्रमा अभिमन्यु बनेको यो सोच
अकन्चन मनोवृत्तिबिच,
निकृष्ट नियतहरू विरुद्धको एक प्रखर अधिवक्ता !
हवा-हुन्डरी-चट्याङ सहतको यात्रामा
कुहिरो छिचोल्नुपर्ने त्यो निस्पट्टता,
ढुङ्गा चुचुरोमा पुग्न नपाई तल झर्नुपर्ने
त्यो ढुङ्गोको कि व्यक्तिको अकर्मण्यता।
नखाएको अङ्गुर कस्तो अमिलो !
नदिएको परीक्षा धेरै सजिलो !
तिर कमानबाट छुटिसकेपछि
निशान नभेटे सरी,
जीवन भोगाईको दलिनबाट
इच्छा-चाहनाहरुको निस्फिक्रता,
कल्पना कसको आफ्नो बसमा हुन्छ ?
यो त पग्लन्छ-फक्रन्छ-यथार्थसँग झर्कन्छ
नीति, नियम र अपेक्षाहरू बिच
खुसी खोज्नै पर्ने मानवीय मनको यो कस्तो विवशता।
जीवन धान्ने एक मुठी श्वास
जीवन्त रहन भने एउटा झिनो आस !
निक्खरको अन्धकारमा जुनकिरी रमाउँदा
बाटो पहिल्याउन नसक्ने मनको कस्तो बाध्यता,
प्रत्येक कालरात्रिलरे विजयोत्सव ल्याए जसरी
रात पछि सधैँ बिहान आउने
प्राकृतिक न्यायको मिठो नियमितता।