गाउँ आउन सकिन आमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गाउँ आउन सकिन आमा


२७ बैशाख २०७७, शनिबार


बिहान झिसमिसेमै
सपनै सपनाको भारी बोकेर
गाउँ छोडेको म,
परिवारलाई एकसरो कपडा
वर्षौंपछि फेरौं भनेर
ऋण काँढेर हिंडेको म,
धन कमाई फर्कौंला
रोगी आमालाई उपचार गरी
परिवार स्वस्थ बनाउँला भनेर हिंडेको म,
अदृश्य माखेसाङ्लोमा फसें
सपना त सारा डुबे नै
आफ्नै जीवन कठिन उल्झनमा पर्‍यो आमा
श्रमको उचित मूल्य रहेनछ
सोंचे जस्तो सहज रहेनछ धन कमाउन
कठोर श्रम गर्दा पनि
श्रमको सही मूल्य नपाउँदा
ऋण तिर्ने पैसा कमिएन आमा
एकसरो कपडा फेर्ने सपना त के
आमा तिमीलाई औषधि किन्ने पैसा समेत
पठाउन सकिन,
तिमी मृत्युसँग लड्दै गर्दा
श्‍वास फेर्न गाह्रो भई छटपटिदा पनि
म विवश छु आउन सकिन आमा
त्यैमाथि पनि
कोरोना महामारीले
आवागमनसँगै काम बन्द भो
काम न दामको अवस्थामा
खाने र बाँच्ने टुङ्गो भएन
खाली हातै पनि गाउँ आउन मन थियो आमा
तर सकिन,

आफ्नै देशमा आज
टुहुरो, निम्छरो र अपराधी जस्तै
लाचार महसुस गरें आफूलाई आमा
सोंच्दैछु आज
दु:खसुखमा गाउँ नै रहेछ साथी
बन्दाबन्दीका कारण
तिम्रो जीवनको अन्तिम पलमा पनि
आउन सकिन आमा
माफ गर,

तिम्रो दशधारा दूधको पाप नलागोस्
मैले श्रम मजदुरी गरेर
तिम्रो दु:ख हर्न सकिन
अर्को जन्ममा तिमीसँगै गाउँमा बसेर
फाटेकै कमिज र पुरानो सुरुवाल लगाएरै पनि
म तिम्रो हर सुखदु:खमा साथ दिउँला
तिम्रो असल छोरा हुन सकिन यसपाला
म आउन सकिन आमा आफ्नै घर ।।

Tags :
प्रतिक्रिया दिनुहोस