भन्न नहुने एउटा कथा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भन्न नहुने एउटा कथा


१० माघ २०७६, शुक्रबार


वि सं २०७६ साल कार्तिकको २६ गते काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज करिब पौने बाह्र बजे विमानस्थलमा अवतरण गर्‍यो । टोलीमा रहेका पाँचैजनालाइ निर्धारित स्थानसम्म लैजानका लागि जिल्लाकै कुनै सरकारी कार्यालयको गाडी गेटनिरै पर्खिरहेको थियो । छिनभर पनि ढिला नगरी गाडी हुँइकियो र तोकिएको होटेलमा लगी टोलीलाई ‘ड्रप’ गर्‍यो ।

अनजान ठाउँमा आउने टोलीका सदस्यहरूको बसोबासका लागि समस्या नहोस् र होटेल खोज्दै हिँड्ने झन्झट नपरोस् भनी जिल्लाका केही उदारमना कर्मचारी साथीहरू पहिल्यै अलिक शान्त ठाउँमा रहेको होटेलमा एसी जडित कोठाहरूको व्यवस्था गरिसकेका थिए । सानो सहरमा अवस्थित थोरै सङ्ख्याका सानै होटेलअनुसार टोली प्रमुख र एक महिला सदस्यलाई फरक फरक कोठा र बाँकी तीनजनालाइ तीन वटा डबल बेडयुक्त ठुलो कोठा व्यवस्था गरी त्यसैअनुरुप टोलीलाई उक्त कोठाहरू देखाइयो । तर त्यसमध्येकै एक जना सदस्य आफूलाई अलग्गै एउटा कोठा चाहिने भन्दै यसरी गर्जिए कि ती कर्मचारीहरू अनजान ठाउँमा उनको सहयोगका लागि आएका सहयोगी हैनन्, उनको स्याहार गर्न आएका सुसारे हुन्, टोलीको सेवासुश्रुषा गर्नु यिनको परम कर्तव्य हो । आगन्तुकका पहिलो व्यवहारले नै खिस्रिक्क बनायो ।

औपचारिकताका लागि चिया खाजा र सामान्य चिनापर्चीपछि भोलिपल्ट भेट गर्ने वाचासहित टोलीलाई होटेलमा छाडेर कर्मचारीहरू आ-आफ्ना बाटो लागे । तर भेट भोलिपल्ट भएन, पर्सिपल्ट भयो, त्यो पनि नयाँ गुनासोसहित । होटेलका कोठा धेरै महँगो भएकाले त्यसको विकल्प खोज्नुपर्ने भयो । धन्य, स्थानीय कर्मचारीको सहयोगमा ठुलो परिश्रमबिनै अलिक ‘सस्तो’ कोठाहरू भेटियो ।

त्यसपछि सुरु भयो टोलीको ‘काम’ । काम पनि भन्नु मात्रै । कार्यालयको स्वीकृत बजेटको परिमाणअनुसार बार्गेनिङ । स्रेस्ता जाँच सुरु हुँदाहुँदै यसपालि कति रकम छुट्टाइएको छ भन्ने प्रश्न आयो । जवाफमा चित्त नबुझेपछि सुरु भयो व्यक्तिगत लाञ्छना । भुक्तानीमा कागज नमिलेको, स्रेस्ता राख्न नजानेको, भद्रगोल फाइलका कारण आफूले केही कुरा नबुझेको भनी पटक-पटक गुनासो । यसैबिच टोली प्रमुखले खुसुक्क बोलाइ अन्तै लिई गए ।

-कति छ साँच्चै भन्नुस् ।

-पोहोर यति दिएको रैछ, अहिले योभन्दा सकिँदैन ।

-हुँदैन, यति त पुर्‍याउनैपर्छ । यति भयो भने रिपोर्ट तपाइले भनेअनुसार आउँछ । तपाईँका स्रेस्तामा धेरै समस्या छ , लेख्नुपर्ने कुरो धेरै छ ।

प्रमुखसँगको यस्तो संवादपछि गाँठी कुरो बुझियो । धेरै बोल्नु बजेट र समय दुवै दृष्टिले उचित लागेन । अन्तमा आफूले ‘म्यानेज’ गर्न सक्ने रकम बताएपछि उनले भने- म हाकिमसँग अलग्गै ढङ्गले कुरा गर्छु । तपाईँले यो कुरा नभन्नु होला ।

म ट्वाल्ल परेर उनलाई हेरिरहेँ । उनी फटाफट हिँडे ।

त्यसपछि काम अर्कै ढङ्गले हुन थाल्यो । प्रमुखसँगको यो संवादबारे अरू सदस्य अनभिज्ञ नै भएर होला, उनीहरूको शैली पहिलेकै जस्तो थियो । टोलीकै एक महिला सदस्यले साह्रै गनगन गर्न थालिन् । अति भएपछि मुख फोर्नै पर्ने भयो– स्रेस्ता परीक्षण व्यक्तिले गर्ने काम हैन, संस्थाले गर्ने हो । त्यसैले जे बुझिन्छ लेखौँ, व्यक्तिगत लाञ्छना नलगाऔँ । उनले ठुला आँखा तरेर एक पटक हेरिन् र तेज गतिमा फाइल पल्टाएर छिनभरमै काम सकिन् । मलाइ पनि जवाफले काम गरेछ जस्तो लाग्यो ।

स्रेस्ता परीक्षणको काम सकिएपछि सुरु भयो बार्गेनिङको अर्को चरण । प्रतिवेदन लिन भनी बोलावट आयो । काम छिटै भएछ भन्ठानेर ‘कबोल रकम’ सहित निर्धारित स्थान पुगियो । तर प्रतिवेदनको खेस्रासम्म तयार भएको रहेनछ । बोलावट भएको रकमका लागि मात्र रहेछ । आफूले प्रतिवेदन हेरेपछिमात्र रकम दिन सक्ने भनेपछि उनले भने- थोरै तन्काउन सकिँदैन ? त्यो आफूले गर्न नसक्ने भनेपछि उनले फेरि भने- हाकिमसँग मैले कुरा गरेको छु, उहाँले हुन्छ भन्नुभएछ, हाम्रो कुरो उहाँलाई नभन्नु होला ।

-हामीलाई प्रतिवेदनमा के सहुलियत हुन्छ त ?

-त्यो त हामीले सक्दैनौँ । भएका कुरा प्रतिवेदनमा लेख्नै पर्छ ।

म फेरि ट्वाल्ल परेँ । उनी फटाफट आफ्नो बाटो लागे ।

यसको करिब दुई हप्तापछि प्रतिवेदनको खेस्रा हेर्नका लागि फेरि बोलावट भयो । खेस्रामा बेरुजुका अङ्कको बिस्कुन थियो । स्रेस्ता परीक्षणका क्रममा देखिएको काम र जिम्मेवारीप्रतिको लापरबाही यसमा प्रस्ट देखियो । नलेखिनुपर्ने रकमका अङ्कहरू कहाँबाट कपि पेस्ट भई आएका थिए, उनैलाई थाहा थिएन । हाम्रो हैन भन्दा पनि नभएपछि त्यसलाई प्रमाणसहित टुङ्गो लगाउनुपर्ने भयो । वाचामा पहिल्यै हारिसकेको हुनाले ‘कबोल रकम’ बुझाएर प्रमाणका कागजात लिन हिँडियो ।

करिब एक हप्तापछि प्रतिवेदन लिन बोलावट आयो । हाकिमसँग कुरा भएबमोजिम रकम लिई आउनुपर्ने निर्देशनसहित । सोहीअनुसार गरियो पनि । प्रतिवेदनको फाइनल कपि हेर्दा अनावश्यक बेरुजु अङ्कमा आँखा पुग्यो ।

-यो किन त?

-प्रतिवेदनमा केही न केही बेरुजु लेख्नै पर्ने हुन्छ । नत्र हाम्रो काममाथि शङ्का हुन्छ ।

म फेरि ट्वाल्ल परेँ । उनले हतार हतार प्रतिवेदनमा दस्तखत गरी मेरो हातमा थमाइदिए । अनि ङिच्च दाँत देखाउँदै भने- हाम्रो काममा सहयोग गर्नुभयो, धन्यवाद ।

म केही नबोली हिँडे । आखिर लाजशरम, इज्जत, प्रतिष्ठा, व्यावसायिक आचरण, अनुशासन तथा पदीय जिम्मेवारीसमेतलाइ बेचेर खाइसकेकालाई भन्नु नै के छ र ?

अहिले मसँग महालेखा परीक्षकको कार्यालयबाट भएको आ. व. ०७५।७६ को लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन छ । यसलाई गोजीमा राखेर म एउटा होटेलतिर जाँदै छु, जहाँ यो टोली करिब एक महिना बस्दा भएको कूल खर्चमध्ये मेरो (कार्यालयको) भागमा परेको रु बीस हजारका लागि मलाइ केही दिनदेखि बोलावट भइरहेको छ । टोलीको जिम्मामा झन्डै दुई दर्जन कार्यालय रहेका थिए ।

-लेखकको नाम सुरक्षित गरिएको छ

Tags :
प्रतिक्रिया दिनुहोस