अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास 


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । अब सिंहदरवार प्रवेशका लागि कसैलाई भनसुन गर्नु नपर्ने भएको छ । आफैँले अनलाइनबाट आवेदन दिएर सिंहदरवार प्रवेश पासको व्यवस्था गर्न सकिने भएको हो ।

सिंहदरवार प्रवेश गर्न सर्वसाधारणका लागि सहज बनाउन क्युआर कोड सहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिंहदरवार प्रवेश पासका लागि मोबाइल-वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लगइन गरेर प्रवेश पास प्राप्त गर्न सकिन्छ । 

अनलाइन प्रणालीबाट दिएको आवेदन सम्बन्धित मन्त्रालयले स्वीकृत गरेपछि सोही प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने छ । सोही क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । आगन्तुकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास अनुरोध गर्न सक्नेछन् ।

रजिस्टर गर्ने क्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको फोटोसँगै नम्बर पनि अट्याच गर्नु पर्छ । यो व्यवस्था लागू भएपछि सर्वसाधारण नागरिकले सिंहदरवार प्रवेश गर्नका लागि सिंहदरवार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र ठेगाना टिपाएर भित्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्राप्त गर्ने तरिका:
१. सिंहदरवार प्रवेश पासका लागि स्मार्ट मोबाइल/वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गर्नुहोस् वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी मा लिंक ब्राउज गर्नुहोस् र त्यसपछि तपाई लगइन पेजमा जानु हुनेछ ।

२. यदि तपाईँले पहिले रजिस्टर गर्नु भएको छैन भने, रजिस्टर बटनमा थिच्नुहोस्

३. आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुहोस् र रजिस्टर बटन थिच्नुहोस् ।

४. त्यसपछि डिफल्ट ओपिटी राख्नुहोस् र भेरिफाइ ओपिटी बटनमा थिच्नुहोस् ।

५. त्यसपछि तपाईँ फारम दर्ता गर्ने पृष्ठमा पुग्नुहुने छ । फारमका अनिवार्य क्षेत्रमा विवरणहरू प्रविष्ट गर्नुहोस् र रजिस्टर बटनमा क्लिक गर्नुहोस् ।

६. दर्ता पछि, लगइन पृष्ठमा जानुहोस् र आफ्नो सही प्रयोगकर्ता नाम र पासवर्ड प्रविष्ट गर्नुहोस् । आगन्तुकले १ दिन पास वा ३ महिना/अस्थायी पास अनुरोध गर्न सक्नेछन्, पास अनुरोध गर्न, बाँयापट्टी अनुरोध फारम मेनुमा क्लिक गर्नुहोस् । सबै अनिवार्य क्षेत्रहरू प्रविष्ट गर्नुहोस् र सबमिट बटनमा क्लिक गर्नुहोस् ।

७. सम्बन्धित मन्त्रालयले तपाईँको अनुरोध स्वीकृत गरेपछि यही प्रणालीमा तपाईँले क्युआर कोड पाउनु हुनेछ, र सोही क्युआर कोड सिंहदरवार गेटमा प्रवेशको लागि देखाउनुपर्ने छ ।

८. यो प्रणाली प्रयोग गर्न नसक्ने महानुभावहरूले सिंहदरवारको दक्षिण तर्फको मूल प्रवेशद्वारमा आफ्नो परिचयपत्र लिएर जानुहोस् र कर्मचारी/सुरक्षाकर्मीहरूको सहायता लिनुहोस् ।

गृहमन्त्री रवि लामिछाने तथा गृह सचिव एकनारायण अर्यालले प्रविधिको प्रयोगबाट सेवामा सहजीकरण बनाउने भन्दा अनलाइन प्रणालीमा जोड दिँदै आएका छन् । गृह सचिव अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव हुँदा वैदेशिक रोजगारका धेरै प्रक्रियाहरूलाई अनलाइनमा लगेका थिए । जसले गर्दा लामो समयदेखि चलाइँदै आएको सेटिङ मात्रै भत्किएको थिएन, नागरिकले सहज ढङ्गले सेवासमेत लिन पाएका थिए । तर उनी सरुवा भएको केही समयमै पुनः पुरानै लयमा फर्किएको थियो ।

सुधारवादी सोचका सचिव अर्यालले गृह प्रशासनलाईसमेत पारदर्शी र सहज बनाउन विभिन्न योजनाहरू एकपछि अर्को गरी सुरुवात गर्दैछन् । जसले गृह प्रशासनलाई प्रविधिसँग त जोड्ने छ नै, गृह प्रशासनका हरेक सेवाहरूसमेत नागरिकले सहज ढङ्गले प्राप्त गर्नेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस