पूर्वअर्थमन्त्री खतिवडाले भने-आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पूर्वअर्थमन्त्री खतिवडाले भने-आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वहरूलाई पहिलो प्राथमिकतामा राखेर १६ औँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरूलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताए ।

उनले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गरे । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जाने कुरामा ध्यान दिन आवश्यक रहेको पनि बताए ।

उनले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्य प्रणाली निर्माणको आधार तयार गर्ने कुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न गरे ।

उनले सबैको एजेन्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा विरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताए । उनले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेन्डा भएको पनि बताए ।

उनले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजना भन्दा फरक बजेट बन्ने बताए ।

उनले संविधानले आत्मसाथ गरेका विषयहरू, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरूलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताए ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको तर भ्रष्टाचार नै निर्मूल गर्ने कुरा योजनाको पहिलो प्राथमिकतामा राख्नुले विश्वमा गलत सन्देश जाने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस