उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा


२२ बैशाख २०८१, शनिबार


काठमाडौँ । इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरू छलफलमा जुटेका छन् । एक वर्षअघि भएको प्रतिनिधि सभा उपनिर्वाचनमा दुई जित हासिल गरेको रास्वपा यस पटक कमजोर साबित भएपछि समीक्षा गर्नुपर्ने अवस्थामा छ ।

माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका भएपछि रास्वपाले नयाँ रणनीति तय गर्न देशभरबाट सुझाव लिने बताएको छ ।

चितवनमा रास्वपा सभापति रवि लामिछाने र तनहुँमा रास्वपाकै स्वर्णिम वाग्ले निर्वाचित भएजस्तै सोचेका नेताहरुले इलामको परिणामबाट नयाँ मिसनमा अघि बढ्नुपर्ने निचोडमा छन् ।

चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिङ्गो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ । यद्यपि, इलामका जनताले घण्टी नबजाईकन सांकेतिक घण्टीको आवाज बजाएको निष्कर्ष पार्टीको छ । 

उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । बैठकले २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने तयारी थालेको छ ।

उपनिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा.मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए । उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए । 

महामन्त्री ढकालले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताए । उनले सरकारमा पार्टीले गरेका कामहरूको मूल्याङ्कन गर्न टिम बनाउने निर्णय भएको बताए । पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गर्ने पनि रास्वपाको तयारी छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ र ०८० मा रास्वपाका उम्मेदवारले शहरी क्षेत्रमा राम्रो मत ल्याएर विजयी भएका थिए । सोही परिणामबाट उत्साहित भएको पार्टीले इलाममा घण्टी बजाएर छाड्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिए पनि परिणाम खराब आएपछि गाउँमा संगठन बढाउनुपर्ने निष्कर्षमा रास्वपा लागेको छ ।

रास्वपाका सभापति रवि लामिछानेलगायतका नेताहरू सहकारी ठगी प्रकरणमा मुछिएपछि जनलहर घटेको भन्ने विषयमा पार्टीले आन्तरिक छलफल गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस