सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान


५ बैशाख २०८१, बुधबार


बेदकोट (कञ्चनपुर) । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको हो । 

सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत हाल पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

“हामी अतिक्रमण हटाउने अभियानमा छौँ, अतिक्रमणको तथ्याङ्क सङ्कलन गरिएको छ, कसैले यदि अतिक्रमणको सूचना उपलब्ध गराउनुभयो भने हामी त्यसमा पनि लाग्छौँ”, उनले भने, “यस अभियानमा राजनीतिक दल, प्रदेशसभा सदस्य तथा निर्वाचित जनप्रतिनिधिको महत्त्वपूर्ण साथ छ ।”

अभियानअन्तर्गत पहिलो चरणमा राजमार्ग छेउ र सरकारी कार्यालय अगाडि जमिन अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित नापी, मालपोत र यातायात कार्यालय भएर जाने सडक दुवैतिर छेउमा रहेका ३२ वटा अनधिकृत खोकाछाप्रा, टहरा र सटर हटाइएको छ । 

यस्तै आन्तरिक राजस्व कार्यालय अगाडि र ट्राफिक चोकबाट दक्षिण आउने सडकका चार÷चार अनधिकृत संरचना पनि खाली गराइएको छ । “महेन्द्रनगरस्थित सरकार कार्यालय अगाडिका ४० मध्ये ३८ संरचना हटाइएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “दुई वटा पक्की संरचना भीमदत्त नगर विकासको स्वामित्व भएकाले ताल्चा लगाएर नियन्त्रणमा लिएको अवस्था छ ।” 

वैशाख ३ गते कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अगाडिका तीन संरचना पनि हटाइएको उनले बताए । बेलडाँडी गाउँपालिकाले बसपार्क, अस्पताललगायतका लागि छुट्याएको सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाएको छ । 

दोस्रो चरणमा महेन्द्रनगर बजार क्षेत्रमै रहेको बालसङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाइनेछ । बालउद्यान निर्माणका लागि छुट्याइएको उक्त जमिन अहिले घरटहरा निर्माण गरिएका छन् । 

यसैगरी महेन्द्रनगर बजारमै रहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा पनि पक्की संरचना निर्माण गरिएका छन् । बालसङ्गठन र खाद्यव्यवस्था तथा व्यापार कम्पनीको जमिन यही वैशाख १५ गतेसम्म खाली गराउन सूचना जारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस