धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै पर्वहरू मनाउन अनुरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै पर्वहरू मनाउन अनुरोध


२७ चैत्र २०८०, मंगलबार


बाँके । धार्मिक एवं सांस्कृतिक मूल्यमान्यता र आस्थाको सम्मान गर्दै पूर्ण सामाजिक सद्भावका साथ पर्वहरू मनाउन सद्भाव समिति र बाँके प्रशासनले अनुरोध गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा जिल्लाका विभिन्न धार्मिक गुरुहरू, सामाजिक सद्भाव समितिका पदाधिकारीहरूसहित मङ्गलवार बसेको बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन अनुरोध गरेको हो ।

बुधवार र बिहीबार मुस्लिम समुदायले इद पर्व मनाउँदै छन् भने हिन्दु समुदायको चैते दसैँ, राम नवमी, हनुमान जयन्ती र सिख समुदायको वैशाखी पर्व पनि नजिकिँदै छन् । विभिन्न समुदायका विभिन्न पर्व नजिकिँदै गर्दा धार्मिक समुदाय, धार्मिक गुरु एवं सामाजिक सद्भाव समितिहरू शान्त वातावरणमा आपसी सद्भाव कायम गर्दै पर्व मनाउन जुटेका हुन् ।

विभिन्न धार्मिक गुरुहरू, सामाजिक सद्भाव समितिका पदाधिकारीहरू सहितको बैठकले सामाजिक सद्भावका साथ पर्वहरू मनाउन सार्वजनिक रूपमा आव्हान गरेको प्रजिअ पोखरेलले बताए । उनका अनुसार चाडपर्व लक्षित विशेष एकीकृत सुरक्षा योजना मार्फत शान्ति सुरक्षाको व्यवस्था मिलाइएको छ । शान्त र मर्यादित वातावरणमा ढुक्क भएर हर्षोल्लासका साथ पर्वहरू मनाउन पोखरेलले आव्हान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस