बालुवाटारमा सहमति नभएपछि दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा सहमति नभएपछि दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा भएको छलफलमा दलहरुबीच सहमति हुन नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्रसरतामा बैठक बोलाइएको थियो । सो बैठकमा सहमति नभएपछि सभामुखले प्रमुख सचेतकहरुको बैठक बोलाएको उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

बालुवाटारको बैठकमा सभामुख घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थिति थियो ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी काँग्रेसले सदनको कारबाही अवरोध गर्ने बताउँदै आएको छ । दलहरुबीच सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।

सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिएपनि सहमति हुन नसकेको उनको सचिवालयले जनाएको छ । सभामुखले सोमबार पनि प्रमुख दलका नेताहरुसँग सिंहदरवारमा छलफल गरेका थिए। सो छलफलमा समेत दलहरुबीच सहमति हुन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस