गौतम बुद्ध क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता 


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् ।

बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ’, उनले भने, ‘निर्माण द्रूत अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने ब्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।’

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोर्टस् हब’ का रूपमा विकास हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । उनले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिता सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस