संघीय निजामती सेवा विधेयकबारे सचेतकहरूसँग छलफल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संघीय निजामती सेवा विधेयकबारे सचेतकहरूसँग छलफल


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् । मन्त्री जोशीले संसदमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूसँग संघीय निजामती सेवा ऐनको मस्यौदाबारे छलफल गरेका हुन् । 

छलफलमा मन्त्रालयबाट मस्यौदामा प्रस्तावित मुख्य मुख्य प्रावधान र विशेषताको बारेमा प्रस्तुतीकरण गरिएको थियो भने सचेतकहरूले संशोधनका विषयहरूमा छलफल गरेका थिए । निजामती सेवा ऐन २०४९ मा भएका भन्दा पृथक् र नवीन विषयवस्तुहरूसहित संविधान र संघीयता कार्यान्वयन गर्न विधेयकमा समावेश भएका विषयवस्तु, भर्ना, पदपूर्ति, सरुवा, बढुवा, अवकाशको उमेर, तीनै तहको अन्तरसम्बन्ध, समायोजित कर्मचारीको वृत्ति विकास तथा ट्रेड युनियनलगायत विषयहरूमा छलफल भएको छ । 

सो क्रममा मन्त्री जोशीले संशोधनका विषयहरूबारे पार्टीमा छलफल गरेर दर्ता गराउन आग्रह गरेका छन् । संशोधन प्रस्तावहरू एकीकृत रूपमा आउँदा छिटो छलफल भई मस्यौदा पास गर्न सजिलो हुने धारणा मन्त्री जोशीले राखेका थिए । 

छलफलमा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल, नेपाली काँग्रेसको सचेतक सुशीला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालालगायतको सहभागी रहेको मन्त्रालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस