खराब ब्याटिङका कारण नेपाल ‘ए’ टिम आयरल्यान्डसँग पराजित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

खराब ब्याटिङका कारण नेपाल ‘ए’ टिम आयरल्यान्डसँग पराजित


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । पहिलो एक दिवसीय खेलमा आयरल्यान्ड वुल्भ्ससँग नेपालको ‘ए’ क्रिकेट टिमले २१ रनको नमिठो हार बेहोरेको छ। १५८ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपाल त्रिवि मैदानमा २५.३ ओभरमा १३६ रनमै अलआउट भयो।

लगातार विकेट गुमाएको नेपालका लागि ओपनर देव खनालले २६ रन, बसिर अहमदले २० रन, सहाब अलामले ३७ र रिजन ढकालले नटआउट १२ रन जोडे। बाँकी सात ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

छैटौँ ‌ओभरमा ३५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले १० ओभर भित्रमा ६ विकेट गुमाउँदा ५६ रन मात्र जोड्न सकेको थियो। त्यसपछि बसिर र सहाब केही बेर टिके पनि नेपाललाई लक्ष्यसम्म पुर्‍याउन सकेनन्।

नेपाललाई सस्तैमा अलआउट गर्न आयरल्यान्डका म्याथ्यु मर्फीले ५ विकेट लिए। उनले १० ओभरमा ३ मेडन राख्दा ३२ रन दिए। लियाम म्याकार्थीले ४ विकेट लिन सफल भए।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डलाई नेपालले कमलसिंह ऐरीको ह्याट्रिकको मद्दतमा १५७ रनमै अलआउट गरेको हो।

कमलले अन्तिम तीन विकेट लगातार लिएर ह्याट्रिक गरेका छन्। उनले ३८.१ ओभरमा लियाम म्याकार्थीलाई २ रनमा साहब अलामबाट क्याच गराए। दोस्रो बलमा म्याथ्यु हमफ्रीलाई बोल्ड गर्दा कमलले तेस्रो बलमा पनि बेन ह्वाइटलाई बोल्ड गरे।

कमलले ६.३ ओभरमा १ मेडन राख्दा ४ विकेट लिए भने २१ रन खर्चिए। नेपालका लागि साहब अलाम र मौसम ढकालले पनि २-२ विकेट लिए।

आयरल्यान्डका लागि कारमाइकलले ५१ रन र निल रकले ३९ रन जोड्दा अरू ब्याटर सस्तैमा आउट भए।

यसअघि तीन खेलको टी-२० सिरिज आयरल्यान्डले २-१ जितेको थियो। बुधबारदेखि दुई टिमबीच तीन खेलको एक दिवसीय सिरिज सुरु भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस