बालिका जबरजस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बालिका जबरजस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला


२१ चैत्र २०८०, बुधबार


दमौली (तनहुँ) । तनहुँ जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।

साथै अभियुक्तबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो । परिवर्तित नाम २०७९ ९१० लाई जबरजस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।

प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो । प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस