वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध मिलाउँछौँ : शिक्षा सचिव अधिकारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध मिलाउँछौँ : शिक्षा सचिव अधिकारी


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।

अनुगमन शैक्षिक फाउन्डेसनले सोमबार आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उनले वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरू अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको बताए ।

कक्षा नौ देखि १२ कक्षामा ४३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर हुन पुगेको, उच्च शिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थितिप्रति आफूहरू चिन्तित भएकाले नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक भएको शिक्षा सचिव अधिकारीको भनाई थियो ।

उनले भने, ‘राम्रो पठनपाठन हुने उच्च शिक्षाका कलेज पनि नेपालमा नभएका होइनन् । तर, नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै लागि भन्दा आफ्नो भविष्य र स्मार्ट जबका लागि विदेश गएका छन् । यस सवाललाई हाम्रो नीतिले सम्बोधन गर्नुपर्छ । विश्वविद्यालय पढ्ने र पढाउने संस्था मात्र नभई अनुसन्धान र उत्पादन गर्ने संस्थाका रूपमा विकसित हुनुपर्छ । विश्वविद्यालयलाई सरकारले सधैँ पैसा दिँदैन । उनीहरू आत्मनिर्भर हुनुपर्छ ।’

नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. लेखनाथ शर्माले पुस्तान्तरणबीचको खाडललाई मेट्न सक्ने गरी सूचना र प्रविधि सापेक्ष शिक्षा नीति र प्रयोगयताको अभ्यासमा ध्यान दिन आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस