पूर्वसभामुख महरा : गिर्दो छवि, विवादित रेकर्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वसभामुख महरा : गिर्दो छवि, विवादित रेकर्ड


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । पूर्व सभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा यति बेला प्रहरी हिरासतमा छन् । सुन तस्करी प्रकरणमा सोमबार(आज) पक्राउ परेका उनीमाथि केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले अनुसन्धान गरिरहेको छ । 

सुनको अवैध पैठारी(तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान सुरु भएको हो । 

महरालाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालतले सोमबार अनुमति दिएको छ । प्रहरीले उनलाई बिहान कपिलवस्तुबाट काठमाडौँ फिर्ता गदै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।

भेप मार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग महराको निकट सम्बन्ध देखिएको थियो । सुन तस्कर वाङलाई महराले गाडी खोजिदिएको तथ्य भेटिएको छ । यसअघि सीआइबीले महराको बयान कागज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

विवादित रेकर्ड
तत्कालीन एकीकृत नेकपा माओवादीको हेटौँडामा २०६९ माघमा भएको सातौँ महाधिवेशनबाट महरालाई नेतृत्वको उत्तराधिकारीको रूपमा अघि बढाउन चर्को आवाज उठेको थियो । उनलाई धेरै नेताले महासचिव बनाउन चाहन्थे । महरा पार्टीभित्र शक्तिशाली बन्दै गए । तर, छोटो समयमै धेरैलाई पछि पार्दै प्रभावशाली बनेका महराको सम्भावित उदयलाई लिएर प्रचण्ड खेमाभित्रकै एउटा समूह झस्किएको थियो ।

केही वर्षअघि एउटा फोन वार्ताको गम्भीर विवादमा उनी परेका थिए । चिनियाँ भनिएका नागरिकसँग ५० करोड रुपैयाँ माग गरेको उक्त फोन वार्ताबारे छानबिनको माग भएको थियो । तर, यसबारेको अनुसन्धान बाहिर आएन । 

यसैगरी सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहँदा टेलिकम कम्पनी र ठुला व्यापारिक साझेदारसँगको हिमचिमलाई लिएर उनको आर्थिक छविमाथि प्रश्न उठ्यो । माओवादी अस्थायी शिविरमा भएको भनिएको ठूलो आर्थिक अनियमिततालाई लिएर प्रश्नहरू उठाइए । अख्तियारमा उजुरी प¥यो । यसमा पनि उनले संरक्षण पाए ।

इसाई धर्मगुरुबाट आशीर्वाद लिएको तस्बिरलाई लिएर पनि महरा विवादमा तानिएका थिए । 

सशस्त्र द्वन्द्वकालमा अनौठो लाग्ने गरी माओवादीभित्र राजनीतिक छलाङ लगाएका महरा देशकै पाँचौँ उच्च मर्यादाक्रमको ओहदामा पनि पुगे । तत्कालीन अवस्थामा सभामुख रहेकै बेला ‘नैतिक पतन हुने फौजदारी’ आरोप लागेपछि उनीलाई राजनीतिक उचाइबाट तल झारिदियो । 

यौन दुर्व्यवहारको आरोपमा सभामुख पदबाट राजीनामा दिनु पर्‍यो । २०७६ असोज १९ मा बलात्कार आरोपमा उनी पक्राउ परे र थुमामा पनि बसे ।

राजनीतिमा तीव्र छलाङ 
कृष्णबहादुर महरा करिब साढे चार दशकदेखि कम्युनिस्ट राजनीतिमा छन् । रोल्पाको लिवाङमा जन्मिएका महरा राजनीतिमा आउनुअघि शिक्षक थिए । माओवादीको केन्द्रीय राजनीतिमा उनको छलाङ तुलनात्मक रूपमा अन्य नेताको भन्दा छिटो भएको देखिन्छ ।

२०४८ सालमा नेकपा (मशाल)को रोल्पा जिल्ला सेक्रेटरी भएका उनी त्यही वर्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा ३२ वर्षका थिए । २०५० सालमा महरा संयुक्त जनमोर्चाको संसदीय दलको नेता बने । 

जनमोर्चा विभाजनपछि तत्कालीन माओवादीले सशस्त्र विद्रोहको घोषणा गर्दा उनी केन्द्रीय सदस्य पनि थिएनन् । महराले २०५३ सालमा केन्द्रीय समितिमा प्रवेश पाए । हरिबोल गजुरेल, हरिभक्त कँडेल, पम्फा भुसाल, देव गुरुङ, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, लोकेन्द्र विष्ट, मातृका यादवलगायतका महराअघि नै केन्द्रीय सदस्य बनेका नेताहरूलाई उछिन्दै राजनीतिमा छलाङ मार्दै गए । 

सरकारसँगको पहिलो वार्ता टोलीको संयोजक, पार्टी प्रवक्ता हुँदै उनले महत्त्वपूर्ण जिम्मेवारी पाए । शान्ति वार्तामा माओवादीको नेतृत्व गरेका उनी माओवादीभित्र संसदीय मर्यादा र अभ्यास बुझेका नेता मानिन्थे । पार्टी शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम व्यवस्थापिका संसद्मा पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पाए । 

अन्तरिम सरकारको प्रवक्ता बने । त्यसपछि पटक-पटक बनेका सरकारमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बन्ने अवसर पाए । महरा देशकै पाँचौँ उच्च मर्यादाक्रमको ओहदामा पनि पुगे । 

२०६३ सालको अन्तरिम सरकारमा सूचना तथा सञ्चार मन्त्री, २०६५ सालमा सूचना तथा सञ्चार मन्त्री, २०७६ सालमा उपप्रधानसहित गृहमन्त्री, २०७३ सालमा उपप्रधानसहित अर्थमन्त्री, २०७४ सालमा उपप्रधानसहित परराष्ट्र मन्त्री, २०७४ सालमा प्रतिनिधि सभाको सभामुख बनेका थिए । 

छ पटक मन्त्री बनेका महरा चार पटक सांसद बनेका महराले पावरको दुरुपयोग गरेर अनुसन्धान प्रभावित पार्ने गरेको जानकारहरू बताउँछन् ।

अहिले महराका बाबु-छोरा नै प्रहरी हिरासतमा छन् । सुन तस्करी प्रकरणमा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि महरा पक्राउ परेका हुन् । यसअघि महराका छोरा राहुल गत भदौ १३ मा पक्राउ परेका थिए । उनीमाथि पनि अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस