गृहको गति : स्पीड कति ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृहको गति : स्पीड कति ?


४ चैत्र २०८०, आइतबार


‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैर कानुनी काम गरेको छ, गैर कानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन । ऐन पल्टाउनुस् र देखाइ दिनुस् कानुनी राज्य भनेको के हो ? तपाईँले मलाई होइन, मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टी वाला होइन, देश वाला) !!’ दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व सम्हालेका रवि लामिछानेले २९ फागुनमा सामाजिक सञ्जाल एक्स र फेसबुकमा पोस्ट गरिएको स्ट्याटस हो यो । 

र, त्यसको दुई दिनपछि सुनको अवैध पैठारी(तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उनै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझायो र गोप्य राखिएको उक्त प्रतिवेदनमा कारवाहीका लागि सिफारिस केही व्यक्तिहरूको संलग्नताबारेका समाचारहरूले यति बेला राजनीतिक र प्रशासनिक मात्रै होइन, प्रहरी प्रशासनसमेत तरङ्गित छ । 

हाई प्रोफाइल राजनीतिज्ञहरूसमेत संलग्न रहेको प्रतिवेदन कार्यान्वयनको पक्षलाई यस अर्थमा पनि विशेष चासोका साथ हेरिएको छ कि यसअघिको सुनको प्रतिवेदन नै ‘गायब’ छ भने कैयन सरकारी प्रतिवेदनहरू ‘थान’का रूपमा मात्रै सीमित छन् । यद्यपि प्रतिवेदन कार्यान्वयनमा कुनै कम्परमाइज नहुनेसमेत गृहमन्त्री लामिछानेले बताएका छन् । 

‘मेरो हात पर्ने बित्तिकै त्यसलाई अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाइसकेपछि प्रधानमन्त्रीले गो अ हेड, जे छ त्यही भनिसके पछि अगाडी बढेको छ, कहीँ, कतै, कसैसँग कुनै कम्परमाईज हुँदैन, केही पनि हुँदैन । प्रतिवेदनमा भएका विषयवस्तुमा टेकेर रिइन्भेष्टिकेसन हुन्छ, ज–जसलाई उन्मुक्ति दिन खोजिएको छ, उन्मुक्ति दिनेलाई कारबाही हुन्छ, उन्मुक्ति पाएकाहरू केही समय रमाए होलान्, कोही रमाउन पाउँदैनन् । कोही छुट्दैन । काहीँ, कतै, कसैले प्रभावित पारेको छ भने यसलाई निर्ममतापूर्वक हेरिने छ ।’उनले आयोगको प्रतिवेदन अध्ययन पछि थप प्रष्ट्याउँदै आम नागरिकलाई आवाश्त पारेका छन् । 

शान्ति सुव्यवस्था र सुरक्षा काम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने मूलभूत उद्देश्य रहेको गृह मन्त्रालयप्रति आम नागरिकको विश्वास क्रमशः कम हुँदै गएको अवस्थामा गृहमन्त्री लामिछानेको यो अभिव्यक्तिले केही आश गर्ने ठाउँ त अवश्य जगाएको छ तर उनले भनेका के कति कुराहरू कसरी कार्यान्वयन कसरी हुन्छन् ? भन्नेबारे भने ढुक्क हुन सकिरहेको अवस्था छैन । यो परीक्षालाई रविले कसरी पास गर्छन्, त्यसले उनको आगामी भविष्य थप स्पष्ट र निर्धारण गर्नेछ । 

स्वतन्त्र, निष्पक्ष र शक्तिशाली हुनुपर्ने गृह मन्त्रालय पछिल्लो समय सबैभन्दा कमजोर मन्त्रालयका रूपमा देखिँदै आएको छ । राजनीतिक उतारचढावसँगै प्रशासनिक नेतृत्वलेसमेत कमाण्ड लिन नसक्दा थप कमजोर बन्न पुगेको गृहमा नव नियुक्त गृह सचिव एकनारायण अर्यालको उपस्थितिलाई अझ बढी महत्वका साथ हेरिएको छ । गृह प्रशासनका अनुभवी सचिव अर्यालको उपस्थितिसँगै प्रहरी तथा कर्मचारीहरूमा नयाँ उत्साह देखिएको छ । 

गृह प्रशासनलाई बिचौलियामुक्त बनाउँदै गाउँसम्म रहेको उपस्थितिलाई गर्विलो बनाउने सचिव अर्यालको उद्घोषसँगै कर्मचारीहरूमा पलाएको आशालाई निराशामा परिणत हुन नदिन सचिव अर्यालका सामू पनि उत्तिकै ठूलो चुनौती छ । तर यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयको काम गराइबाट पनि अर्याल गृह प्रशासनलाई नयाँ उचाइ दिनेमा विश्वस्त हुन सक्ने प्रशस्त आधारहरू भने अवश्य छन् । 

पछिल्लो समय सिङ्गो सरकारी संयन्त्रलाई नै ढाक्दै लगेको दलाली र बिचौलिया तन्त्रलाई निरुत्साहित गर्दै पद अनुसारको भूमिका रहनुपर्ने र सो गराई छोड्ने गृह सचिवको अठोटबाट पनि अबको गृह मन्त्रालयबाट अवश्य पनि नागरिकहरूले फरक अनुभूति गर्न पाउनेछन् भन्न सकिन्छ ।  

राजनीतिक खिचातानी र भागबन्डाले थलिँदै गएका सरकारी संयन्त्रहरूप्रति आम नागरिकको विश्वास र भरोसा जगाउन उपप्रधान एवं गृहमन्त्री लामिछाने र गृह सचिव अर्यालले हरेक दिन आफ्नो उपस्थिति रहेको अनुभूत गराउनै पर्नेछ । त्यसका लागि विशेष गरी मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास र खटनपटनलाई निष्पक्ष बनाउन सक्नुपर्नेछ । जिल्लाको प्रशासनिक कमान्डका रूपमा रहने प्रमुख जिल्ला अधिकारी होस् या प्रहरी प्रमुख, उपयुक्त पात्रको छनौट तथा निरन्तरता नै मापनको पहिलो आधार हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस