कास्कीमा १७ हजार बढी भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कास्कीमा १७ हजार बढी भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा


२९ फाल्गुन २०८०, मंगलबार


कास्की । कास्कीमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी १७ हजार बढीलाई निस्सा वितरण गरिएको छ । 

भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नका लागि सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगको कास्की जिल्ला समितिले दुई वर्षको अवधिमा लगत संकलन गरी उनीहरूलाई निस्सा प्रदान गरेको हो ।

जिल्लामा पाँच पालिकामा रहेकामा पोखरा महानगरपालिकामा १६ हजार चार सय र अन्नपूर्ण गाउँपालिकामा छ सय ७८ गरी १७ हजार ७८ जना भूमिहीन दलित/सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई निस्सा प्रदान गरिएको आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार रुपा, मादी र माछापुच्छ्रे निस्सा वितरणको काम बाँकी छ ।

जिल्लामा भूमिहीन दलित/सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनमा  २० हजार छ सय ३५ जनाको निवेदन दर्ता भएको छ । पोखरामा १८ हजार चार सय ६०, अन्नपूर्णमा छ सय ७८, रुपामा छ सय १३, मादीमा एक सय ९० र माछापुच्छ्रे छ सय ९४ जनाको निवेदन आयोगको जिल्ला कार्यालयमा परेको छ । 

निस्सा वितरण बाँकी रहेका पालिकाहरूमा समेत सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण तथा नाप नक्साको काम भइरहेकाले छिट्टै वितरण गरिने पोखरेलले बताए । 

“जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने गरी काम गरिरहेका छौँ । कार्यविधि ऐन, कानुन नबाझिने गरी सरोकारवाला निकायसँग छलफल र राय सल्लाहबाट अघि बढेका छौँ । भूमिहीनको समस्या समाधानका लागि स्थानीय पालिकाको महत्त्वपूर्ण भूमिका रहन्छ । पालिकाको अग्रसरता बढेमा छिटो काम सम्पन्न हुन्छ”, पोखरेलले भने । 

आयोगले हालसम्म जिल्लामा अन्नपूर्णमा दुई र पोखरामा एक सय ३६ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । अन्नपूर्णका दुई भूमिहीन दलित र सुकुम्वासी तथा पोखरामा विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधिअनुसार लालपुर्जा प्रदान गरिएको समितिका प्रवक्ता आशबहादुर गुरुङले जानकारी दिए । 

सोही कार्यविधि अनुसार हालसम्म एक सय १२ रोपनी जमिन अव्यवस्थित बसोबासी तर्फ र भूमिहीन दलित÷सुकुम्वासीलाई सात रोपनी क्षेत्रफल जमिन वितरण गरिएको छ । तीन सय २० जनाको जमिन भोगसम्बन्धी पुष्टिका लागि स्थलगत सर्जमिन गरिएको समितिले जनाएको छ । 

भूमिहीन र व्यवस्थित बसोबासीलाई जमिन प्रदान गरेबापत जिल्लामा हालसम्म रु पाँच करोड ८० लाख ६८ हजार ५५ जम्मा भएको सो रकम राष्ट्रिय भूमि आयोगलाई पठाइएको अध्यक्ष पोखरेलले बर्ताए । 

Tags :
प्रतिक्रिया दिनुहोस