प्रधानमन्त्रीले लिखित सहमति गरेमात्र नेकपा एसले विश्वासको मत दिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीले लिखित सहमति गरेमात्र नेकपा एसले विश्वासको मत दिने


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै विश्वासको मत दिने भएको छ ।

सोमबार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । उनले पार्टीका सर्तबारे भने केही खुलाएनन् ।

उनले भने, ‘राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै सहयोग गर्छौँ । प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी छैन ।’

उनले थपे, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौं । र, प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजेटिभ हुनसक्छौं । तर, उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

Tags :
प्रतिक्रिया दिनुहोस