मानव अधिकार आयोगद्वारा फुटपाथ व्यापारीमाथिको आक्रमणबारे अनुगमन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मानव अधिकार आयोगद्वारा फुटपाथ व्यापारीमाथिको आक्रमणबारे अनुगमन


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको कुटपिटको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ ।

१६ फागुनको राति ८ बजेतिर सुन्धारामा नगर प्रहरीले फुटपाथ व्यापारीको समूहमाथि लाठी प्रहार गर्दा भएको झडपका क्रममा दुबैतर्फ गरी ११ जना घाइते भएका थिए । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी यो घटनालाई गम्भीर रूपमा लिएको बताएको छ ।

आयोगले घटनाको सत्य तथ्य विवरण एवं फुटपाथ व्यवसायीहरूसँग यसअघि गरिएको सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको छ । त्यस्तै फुटपाथ व्यवसायीहरू र सरोकारवालासँग पनि घटनाको विषयमा जानकारी लिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताएका छन् ।

‘काठमाडौँ महानगरपालिकाका प्रहरीहरूले फुटपाथ व्यवसायीहरूलाई रातको ८ बजेको समयमा कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको, कुटपिटबाट घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीहरूको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको लगायतका सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएको छ’, आयोगले विज्ञप्तिमा भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस