दुई राज्यमन्त्रीको पद रिक्त हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई राज्यमन्त्रीको पद रिक्त हुँदै


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । दुई राज्यमन्त्रीको पद आइतबार राती १२ बजेदेखि रिक्त हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो ।

उनीहरू आइतबार राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदाइ हुँदै छन् । सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो । नेपाल सरकारको मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ७७ मा सङ्घीय संसद्को सदस्य नभएको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ । तर, संविधानको धारा ७८ मा सङ्घीय संसद्को सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था छ । धारा ७८ को उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को सदस्य नभएको व्यक्तिलाई पनि मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ । उपधारा २ र ३ अनुसार मन्त्रीमा नियुक्त व्यक्ति ६ महिनाभित्र सङ्घीय संसद्को सदस्य हुन नसकेमा सो व्यक्ति पुन मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार बिदा हुन लागेका राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पुनः राष्ट्रपतिलाई सिफारिस गरेमा ६ महिनासम्म राज्यमन्त्री बन्न सक्छन् । तर, यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।

चपाई २०८० वैशाख ३ मा र प्रमीला २०८० जेठ ९ मा राज्यमन्त्रीमा नियुक्त भएका थिए । चपाई नेकपा एकीकृत समाजवादी र प्रमीला जनता समाजवादी पार्टीकी सांसद हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस