त्रिविमा पढ्ने र पढाउने वातावरण बन्यो भने मेरो योजना सफल हुन्छ : उपकुलपति बराल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिविमा पढ्ने र पढाउने वातावरण बन्यो भने मेरो योजना सफल हुन्छ : उपकुलपति बराल


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले त्रिवि सुधारका लागि केही योजनाहरू अघि सारेका छन् । त्रिविको खस्किँदै गएको साख जोगाउने चुनौतीका बिच कार्यभार सम्हालेका उनले त्रिवि सुधार्ने उपाय र योजनाबारे जानकारी गराए । 

वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन, परीक्षाफल समयमा नै प्रकाशन र पाठ्यक्रमलाई अद्यावधिक गर्ने विषय उनका प्राथमिकतामा छन् । अन्य सबै काम छोडेर भए पनि समयमै परीक्षाफल प्रकाशन गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् । उपकुलपति एक्लैले चामत्कारीक परिवर्तन गर्न नसक्ने भन्दै उनले त्रिविको समग्र सुधारका लागि सबैको सहयोग आवश्यक रहेको बताए । 

‘सबैभन्दा बढी सहयोग विद्यार्थीबाट हुनु पर्छ’, उनले भने, ‘विद्यार्थीसँग मैले धेरै ठुलो सहयोग मागेको छैन । विद्यार्थीले पढ्ने, प्राध्यापकले पढाउने र प्रशासनले पढ्ने र पढाउने वातावरण बनायो भने मेरो योजना सफल हुन्छ ।’ त्रिविको भौतिक सम्पत्ति फिर्ता ल्याउनका लागि केही अध्ययन गर्नुपर्ने उनको भनाई छ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

विश्वविद्यालय सुधारको योजना- त्रिभुवन विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन गरेर विश्वविद्यालयलाई ट्र्याकमा ल्याउने छु । परीक्षाफल समयमा नै प्रकाशन गर्ने र पाठ्यक्रमलाई अद्यावधिक गर्ने विषय प्राथमिकता रहने छ । यी तीन वटा कुरामा काम गर्न सकियो भने विद्यार्थीले धेरै राहत पाउँछन् । र विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्ने छ, मेरो विश्वास छ ।अन्य सबै काम छोडेर भए पनि समयमा नै परीक्षाफल प्रकाशन गर्ने विषय मेरो प्राथमिकतामा छ । यो विषयमा केही दिनमै अध्ययन सुरु हुन्छ । वार्षिक शैक्षिक क्यालेन्डर तयार गर्छौ । र सुरु हुने शैक्षिकसत्रबाट लागू गर्छौ ।   

अब तीन वर्षे स्नातक तह- स्नातक तहको चार वर्षे कार्यक्रमलाई पुनः तीन वर्षे बनाउने योजना छ । किन भने चार वर्षे कार्यक्रम सकिन पाँच वर्ष लाग्न सक्छ । परीक्षाफल प्रकाशन हुन पनि समय लाग्ने गरेको छ । यसले विद्यार्थीहरूले अनावश्यक रूपमा समय खर्चिनुपर्ने अवस्था छ । यो तीन वर्षे भयो भने विद्यार्थीको समय बचत हुन्छ । बाँकी समयमा उनीहरूले अर्को पढेर अवसर प्राप्त गर्न सक्छन् । विद्यार्थीको मात्र होइन विश्वविद्यालयको पनि खर्च बच्छ । विद्यार्थीलाई स्वदेशमै स्तरीय शिक्षा दिन सक्छौँ । बिदेसिने विद्यार्थीलाई केही हदसम्म रोक्न सक्छौँ ।

तीन वर्षे कार्यक्रम तत्कालै लागू हुँदैन । यही वर्षदेखि लागू हुन सक्दैन । यसमा धेरै काम गर्नु पर्छ । पाठ्यक्रम त्यही अनुसार तीन वर्षमा रूपान्तरण गर्नु पर्छ । पाठ्यक्रमलाई त्यही अनुसार पुनर्संरचना गर्नु पर्‍यो । कोर्स बनाउने लामो प्रक्रिया छ । तुरुन्तै गर्न गाह्रो छ । चार वर्षे पनि राख्छौँ भनेका छौँ । कुनै कुनै देशमा चार वर्षे कार्यक्रम पनि छ । त्यस्ता देशमा जानका लागि यो आवश्यक पनि छ ।   

अध्ययनसँगै रोजगार- विद्यार्थीलाई उत्पादनसँग जोड्ने कार्यक्रम छ । पढ्दै काम गर्दै कमाउने अवसर पनि दिन सक्छौँ । सीपमूलक कोर्स राख्ने, जस्तो कृषिमा र व्यवस्थापनमा यो गर्न सकिन्छ । होटेल म्यानेजमेन्टमा सिजनमा होटेल चलाउने र अफ सिजनमा पढाउने कार्यक्रम बनाउन सक्छौँ । यसले गरिब विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्‍याउन मद्दत गर्दछ । तर, पढ्ने र कमाउने भनेर बिदेसिने विद्यार्थीलाई रोक्न सकिँदैन । यो समग्र देशको अर्थतन्त्र र विकास स्तरको कुरा हो, त्रिविको मात्रै होइन ।

त्रिवि राजनीतिबाट मुक्त- मैले त्रिविलाई राजनीतिबाट मुक्त विश्वविद्यालय नै बनाउन खोजेको छु । अहिले विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकको राजनीति आवश्यक देख्दिन । किन कि हिजो पञ्चायतकालमा खुला थिएन, त्यसकारण विश्वविद्यालयका प्राध्यापक, शिक्षकहरूले व्यवस्थाको विरुद्धमा लाग्न राजनीति गर्न आवश्यक थियो । तर, अहिले राजनीति गर्न आवश्यक छैन ।

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त एउटा उपकुलपतिले मात्र गर्न सक्दैन । यसको विकास र सुधार पनि उपकुलपतिले चमत्कारकै रूपमा गर्न सक्ने कुरा होइन । यो सबैले बुझ्नु पर्छ । 

त्रिवि बिग्रियो भने देशको उच्च शिक्षा नै बिग्रन्छ र यसले दीर्घकालमा देशको विकासलाई असर पार्छ भन्ने राजनीतिक दले बुझ्नु पर्छ । यदि बुझ्नु भएको छैन भने अब तपाईँको भातृ सङ्गठनलाई जबरजस्ती राजनीति गर्नबाट रोक्नुस् । भातृ सङ्गठनका विद्यार्थी शिक्षकलाई कारबाही गर्दा पार्टीले सपोर्ट गरेर कारबाही गर्न नसक्ने अवस्था नबनाउनुस् । देशको उच्च शिक्षा बिग्रिएको महसुस सरकार र दलहरूले गर्नु पर्‍यो र अब विश्वविद्यालयलाई राजनीति मुक्त बनाउनु पर्‍यो भन्ने महसुस हुनु पर्‍यो ।

राजनीतिबाट टाढा रहेको टीम- प्रधानमन्त्रीलाई मेरो टीम मलाई बनाउन दिनु पर्छ भनेर आएको छु । अब फेरि एक पटक उहाँसहित राजनीतिक दलहरूसँग छलफल गर्छु । कुलपतिज्यूले तपाईँले आफ्नो टीम बनाउन सक्नु हुन्छ नै भन्नु भएको छ । सरकारले पूर्णरुपमा सहयोग गर्छ भन्ने आश्वासन पनि पाएको छु ।

हरेक मान्छेलाई राजनीतिक दलमा आस्था र विश्वास राख्ने अधिकार छ । तर, जुनसुकै आस्था राख्ने साथी भए पनि विश्वविद्यालयमा प्रवेश गरेपछि विश्वविद्यालयको हितमा काम गर्नु पर्छ । उहाँहरूले विश्वविद्यालयकै ऐन, नियम अनुसार काम गर्नु हुन्छ भन्ने मलाई विश्वास छ । बौद्धिक जगतबाट असहयोगको व्यवहार हुन्न भन्ने लाग्छ ।

तत्कालै गर्नुपर्ने काम धेरै भएकोले टीम बनाउन केही समय लाग्न सक्छ । तर, राजनीतिक भागबन्डामा टीम बन्दैन । एउटा सिस्टम बनाएपछि डीन, क्याम्पस प्रमुख, विभागीय प्रमुख नियुक्तिमा धेरै टाउको दुखाउनु पर्दैन । 

गुणस्तर खस्किएको छैन- बाहिर हावा चले जस्तो त्रिवि खस्केको छैन । तर, समस्या के हो भने वेस्टेज (बर्बादी) धेरै भयो । विगत पाँच/छ वर्षदेखि त्रिविको वेस्टेज ७० प्रतिशत छ । तर, हामीले कसी लगाएको विद्यार्थी बाहिर गएर पनि प्रतिस्पर्धा गर्न सकेकै हुन्छ । हरेक क्षेत्रमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ । गुणस्तर खस्किएको छैन ।

त्रिविलाई पुनर्संरचना गर्न सरकारको नीति पनि छ । र त्रिविको आफ्नै पनि स्टाटेजी प्लान (रणनीतिक योजना) छ । सरकार र पूर्वपदाधिकारीका कामलाई संस्थागत गर्ने मेरो दायित्व हो । शिक्षा नीति २०७६ र भिजन २०-३० अनुसार विश्वविद्यालयलाई पुनर्संरचना गर्नु पर्छ ।

सहयोगको अपेक्षा- सबैभन्दा बढी सहयोग विद्यार्थीबाट हुनु पर्छ । विद्यार्थीसँग मैले धेरै ठुलो सहयोग मागेको छैन । विद्यार्थीले पढ्ने, प्राध्यापकले पढाउने र प्रशासनले पढ्ने र पढाउने वातावरण बनायो भने मेरो योजना सफल हुन्छ ।

विद्यार्थीले पढ्न चाहन्छ कि चाहँदैन, उसलाई हामीले पढ्ने वातावरण सिर्जना गर्न सक्छौँ कि सक्दैनौँ ? यो महत्त्वपूर्ण कुरा हो । राजनीतिक नेतृत्वले पनि पढ्ने वातावरण सिर्जना गर्नका लागि सहयोग गर्नु पर्छ । आफ्ना भातृ सङ्गठनहरूलाई पढ्ने वातावरण नबिगार भन्नु पर्छ । सरकारले पनि त्रिविलाई क्षति पुर्‍याउनेलाई कारबाही गर्नु पर्छ । 

प्राज्ञिक संस्कृत नभएर नै त्रिविमा समस्या आएको हो । बौद्धिक जगतले त्रिविलाई प्राज्ञिक थलो बनाउन सहयोग गर्नु पर्छ ।

उपकुलपतिसम्मको यात्रा- पाल्पाको रम्भा गाउँपालिकामा जन्मिएको हुँ । गाउँमै जन्मिएर आमाले बुनेका कपडा लगाएर हाइस्कुलसम्म पढेँ । हाइस्कुलसम्म मलाई नेपाली भाषा पनि राम्रोसँग आउँदैनथ्यो । पाल्पाको तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा २०३१ सालमा भर्ना भएको थिए । ३५ सालमा ब्याचलर (स्नातक तह) गरेर कीर्तिपुरमा भर्ना भए । २०४९ सालमा महेन्द्र मोरङ क्याम्पसमा सहायक प्राध्यापकको रूपमा जागिर सुरु भयो । त्यसपछि ४१ सालमा पृथ्वीनारायण क्याम्पसमा सरुवा भयो । 

विश्वविद्यालयले वृत्ति विकास कार्यक्रममा छनोट गर्‍यो र दिल्ली युनिभर्सिटीमा गए । त्यहाँ मैले पिएचडी गरेँ । पिएचडी गरेपछि नेपाल फर्किए । एसियन डेभ्लपमेन्ट बैंकको एउटा प्रोजेक्टमा फाइनान्सियल एड्भाइजर भएर काम गरेँ । २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति भए । २०६८ सालमा कार्यकाल सकिएपछि केही समय क्याम्पसमा पढाए । सन् २०१२ मा अमेरिकामा पढाउनका लागि गए । अमेरिकामा फाइनान्सको प्रोफेसर थिए । 

फेरी नेपाल फर्किएर करिब पाँच वर्ष पढाए । त्यसपछि सन् २०१७ मा चीनमा एक वर्ष फाइनान्सको प्रोफेसर भएर काम गरे । त्यसपछि नेपाल फर्किएर दुई वर्ष त्रिविमा पढाए । २०७७ सालमा अवकाश भए । अवकाशपछि पनि सिकाउने काम जारी छ, पिएचडीका विद्यार्थी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस