लगानी सम्मेलन : बोर्डका प्रवक्ता भन्छन्- लगानीमैत्री वातावरण बनाउन कर्मचारीतन्त्रमा पनि सुधारको खाँचो छ « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

लगानी सम्मेलन : बोर्डका प्रवक्ता भन्छन्- लगानीमैत्री वातावरण बनाउन कर्मचारीतन्त्रमा पनि सुधारको खाँचो छ


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आइतबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । आइतबार र सोमबार काठमाडौँमा हुने लगानी सम्मेलनमा एक सय ५० परियोजना प्रस्तुत गरिने भएको छ । सम्मेलनमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका परियोजनाहरू समावेश गरिएका छन् ।

यसैगरी पर्यटन, कृषि, सञ्चार तथा सूचना प्रविधि, यातायात, खानी तथा खनिज जन्य, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी लगायतका परियोजना छन् । २० वटा परियोजना ‘रेडि टु गो’ भनेर आसयपत्र आह्वान गर्ने गरी तयारी गरिएको छ । लगानी सम्मेलनमा ५५ भन्दा बढी मुलुकका लगानीकर्ता सहभागी हुनेछन् । मुख्य रूपमा भारत र चीनका लगानीकर्ता सम्मेलनमा सहभागी हुने लगानी बोर्डले जनाएको छ । ‘५५ भन्दा बढी देशबाट सहभागिता जनाउँदै हुनुहुन्छ । नेपाल र विदेशबाट लगानीकर्ता, वक्ता, सहभागी, सरकारी अधिकारीहरू गरेर करिब एक हजार छ सय जना सहभागी हुँदै हुनुहुन्छ’, लगानी बोर्डका प्रवक्ता एवं नेपाल सरकारका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले भने, ‘हामीले करिब दुई हजार चार सय जनालाई निम्तो पठाएका थियौँ, १६ सय जनाको कन्फर्मेसन भइसकेको छ । अधिकांश सहभागी आइसक्नु भएको छ ।’

सहभागी मुलुकका हिसाबले यसअघि आयोजित दुई लगानी सम्मेलनको तुलनामा यो बृहत् हुनेछ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे लगानी बोर्डका प्रवक्ता एवं नेपाल सरकारका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंश ।

आइतबार(आज)देखि हुन लागेको तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलनमा कुन कुन देशबाट कति जना सहभागी हुँदै हुनुहुन्छ ?
मुख्य रूपमा भारत र चीनका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । ५५ भन्दा बढी देशबाट सहभागिता जनाउँदै हुनुहुन्छ ।सम्मेलनमा नेपाल र विदेशबाट लगानीकर्ता, वक्ता, प्रतिनिधिहरू, सरकारी अधिकारीहरू गरेर करिब एक हजार छ सय जना सहभागी हुँदै हुनुहुन्छ ।

हामीले करिब दुई हजार चार सय जनालाई निम्तो पठाएकोमा १६ सय जनाको कन्र्फमेशन भइसकेको छ । सम्मेलनमा सहभागी हुनका लागि विदेशबाट अधिकांश आइसक्नु भएको छ ।

विगतको लगानी सम्मेलन र अहिलेको लगानी सम्मेलनमा भिन्नता के छ ?
सन् २०१७ मा पहिलो पटक लगानी सम्मेलन गरेका थियौँ । सुरुवाती भएर हामीसँग धेरै अनुभव थिएन । दुई वर्षपछि भएको दोस्रो लगानी सम्मेलनमा हामीले केही नीतिगत सुधार गर्‍यौँ । केही योजनाहरू पहिचान भए । लगानीकर्ता पनि त्यतिबेला आकर्षित हुनु भएको थियो ।

पाँच वर्षको अन्तरालमा तेस्रो लगानी सम्मेलन गर्दै छौँ । यो बिचमा धेरै परिवर्तन भएका छन् । लगानीका सम्भावनाहरू पहिचान भएका छन् । उदाहरणका रूपमा जलविद्युत् सम्भाव्य क्षेत्रका रूपमा विकसित भएर आएको छ । भारतले पनि १० हजार मेगावाट बिजुली १० वर्षभित्र किन्छु भनेर सम्झौता गरिसकेको अवस्था छ । यसले सकारात्मक सन्देश दिएको छ ।

कोभिड महामारीबाट प्रभावित पर्यटन क्षेत्र तङ्ग्रिएको छ । पर्यटकलाई धान्न सक्ने पूर्वाधार तथा भौतिक संरचनाहरू बनाउनुपर्ने छ । यो क्षेत्रमा पनि लगानी आवश्यक देखिएको छ । विमानस्थल, होटेल बनाउनुपर्ने छ ।

यसैगरी सूचना प्रविधिको क्षेत्रमा पनि प्रशस्त सम्भावना देखिएको छ । युवाहरू सूचना प्रविधि (आइटी) क्षेत्रमा उत्सुक छन् । आइटीमा विदेश पलायन भएको जनशक्तिलाई नियन्त्रण गर्नुपर्ने छ । यो क्षेत्रमा लगानी कसरी आकर्षित गर्न सकिन्छ भनेर आइटी पार्क बनाउने, आइटी ट्रेनिङ सेन्टर, आइटी डेभ्लपमेन्ट सेन्टर स्थापना गर्न यो पनि सम्भाव्य क्षेत्र देखिएको छ ।

कृषि उत्पादनको क्षेत्र पनि हो । एग्रो प्रोसेसिङका युनिटहरू स्थापना गर्ने, भ्यालु एडिसन गरेर निर्यात गर्न सक्यौ भने यसले पनि परिवर्तन ल्याउन सक्छ । कृषि क्षेत्रमा पनि लगानीको सम्भावना देखिएको छ । सम्मेलनमा यिनैसँग सम्बन्धित रहेर एक सय ५० वटा परियोजना प्रस्तुत गरिँदै छ ।

विगतका सम्मेलनहरूमा पनि लगानी गर्न प्रतिबद्धता देखाउने र आशय पत्र समेत बुझाउने, तर निकै कम मात्र परियोजना कार्यान्वयनमा जाने गरेको लगानी बोर्डकै तथ्यांकले देखाउँछ । यस्तो अवस्थामा अहिलेको सम्मेलन कसरी सार्थक होला भन्न सकिन्छ ?
लगानी सम्मेलनमा पस्किएका सबै आयोजनाहरूमा आशय आउँछ, सबैमा रियलाइजेशन हुन्छ भन्ने होइन । लगानी सम्मेलन भनेको एउटा माहोल क्रिएट गर्ने प्लेटफर्म हो । यो एउटा निरन्तर यात्रा हो । लगानी सम्मेलन माइल स्टोन जस्तो हो । यसले लगानी आकर्षित गर्नका वातावरण सिर्जना गर्ने हो ।

दुई दिनको सम्मेलनबाट सबै बुझिन्छ र लगानी भइ हाल्छ भन्ने भन्दा पनि बाहिरबाट आएका लगानीकर्ताले यहाँका मानिस कस्ता छन् ? लगानी प्रक्रिया कस्तो छ ? हामीप्रतिको व्यवहार कस्तो छ ? लगानीको जोखिम कस्तो छ ? परियोजनाहरू कुन तहका छन् ? परियोजनामा कति अध्ययन भएको छ ? जस्ता विषय हेर्छन् । छलफल गर्ने, नेटवर्क स्थापना गर्ने, प्रतिक्रिया लिने हो ।

यस अघिका सम्मेलनमा पनि हामीले प्रस्तुत गरेका परियोजनाहरूमा प्रक्रिया, फिल्ड स्टडी लगायतका कारण विस लिस्ट (इच्छा पत्र) जस्तो मात्र भएको थियो होला । तर, यस पटक एक सय ५० वटा आयोजनाहरू प्रडक्टका रूपमा सोकेस गर्न खोजी रहेका छौँ । प्रवर्धनका डकुमेन्ट तयार गरेका छौँ । अहिले अघि सारिएका आयोजनामा राम्रो अध्ययन भएको छ भनेर लगानीकर्तालाई सन्तुष्ट पार्ने प्रयास गरेका छौँ । पहिला विस्तृत रूपमा अध्ययन नगरिएका योजनाहरू पनि सोकेस गरिएको थियो ।

२० वटा आयोजना ‘रेडि टु गो’ भनेर आसयपत्र आह्वान गर्ने तयारीमा छौँ । यी परियोजनामा डिपिआर, डिएफएसआर, इआइए, वित्तीय विश्लेषण, आर्थिक विश्लेषण, जोखिम विश्लेषण लगायतका सबै विषयको अध्ययन भइसकेको छ ।

यी सरकारको प्राथमिकतामा परेका आयोजनाहरू हुन् । लगानीकर्तालाई पहिले नै जानकारी दिनका लागि वेबसाइटमा आज राति १२ बजेपछि परियोजनाहरूको आसयपत्र आह्वानका लागि खुला गरिन्छ । पहिला सोकेस गरिएका परियोजनाहरूमा प्रतिबद्धता गरिए पनि लगानी आउन सकेको थिएन । किन आउन सकेन ? भनेर विश्लेषण गरिएको छ । पहिलेको लगानी सम्मेलनमा राखिएका परियोजनाहरूलाई थप परिमार्जित गरेर यस पटक पनि समावेश गरेका छौँ । उदाहरणका रूपमा निजगढ विमानस्थललाई लिन सक्छौँ ।

हामीले आशा गर्ने हो, लगानीकर्ताले के चाहेको छ ? लगानीकर्ताले खोजेको कुरा र हामीले दिएको कुरा मिल्यो भने सहमति हुने हो, काम अघि बढ्ने हो ।

विगतमा जस्तै प्रतिबद्धता आउने पैसा नआउने जस्ता विषय यस पटक पनि दोहोरिने त होइन नि, के भन्नुहुन्छ ?
यो पक्कै दोहोरिन्छ । लगानी सम्मेलनमा धेरै मान्छे आउँछन् । परियोजनाहरूको अध्ययन गर्दछन् । लगानीकर्तालाई सुरुवातीमा ठिक लाग्छ । अनि प्रतिबद्धता गरी हाल्ने गर्नु हुन्छ । यस पटक पनि त्यही खालकै प्रतिबद्धता व्यक्त हुन्छ । १०० जनाले प्रतिबद्धता गरेर २० जनाले त्यसमा रियलाइज गरे भने त्यो पनि ठूलो कुरो मान्नु पर्छ लगानी सम्मेलनको । किन कि माहोल त बन्यो नि ।

अस्थिर राजनीति, झन्झटिलो कानुन र त्यसैको आडमा दुःख दिएर कमिसन खोज्ने कर्मचारीतन्त्रका बिच नेपालमा विदेशी लगानीकर्ता कसरी आकर्षित हुन्छन् त ?
यो चुनौतीको विषय हो । यसको जवाफ सहज छैन । नेपालमा धेरै बाधाहरू छन् । नीतिगत अप्ठ्यारा, प्रक्रियागत झन्झटिला विषय छन् । सानो उद्योग स्थापना गर्नका लागि पनि वनको स्वीकृति लिनुपर्ने, भूमिको व्यवस्थापन मिलाउनुपर्ने, उद्योगमा दर्ता गर्नुपर्ने, ट्याक्स व्यवस्थापन, लगानी स्वीकृत गराउनुपर्ने, कमाएको पैसा लैजाने जस्ता विषयहरूमा बाधाहरू छन् ।

यी बाधाहरूका बाबजुद पनि लगानीकर्ताहरुले सम्भावना देखेर आउनुहुन्छ । यदि यी बाधा तथा चुनौतीहरू हटाउने हो भने सम्भावना धेरै छ । कर्मचारीतन्त्र पनि लगानी मैत्री छैन । लगानी मैत्री भएको भए धेरै लगानी आउँथ्यो । कर्मचारीतन्त्रमा पनि सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ ।

राजनीतिक अस्थिरता जुन दिन हट्छ, जुन दिन स्थिर हुन्छ, विकासका सम्भावनाहरू छिटो अगाडि बढ्छ । विकासमा राजनीतिक दलहरूको चासो पनि छ । त्यो चासोलाई एकैस्थानमा कसरी ल्याउने ? त्यसका लागि नीतिगत सुधारका कुन कुन पाटाहरूलाई ध्यान दिने ? भन्ने कुरा महत्त्वपूर्ण छ ।

प्रक्रियागत झन्झटहरू थोरै थोरै गरेर क्रमशः हटाउँदै जानु पर्छ । अहिलेको लगानी सम्मेलनका क्रममा हामीले १२ वटा ऐन र २ वटा नियमावली संशोधनको लागि प्रस्ताव गरिएकोमा सम्मेलन अगाडि नै अध्यादेश आउने भएको छ । यो मात्रै सुधार भयो भने पनि बाधाहरू तोड्ने क्रम सुरु हुन्छ । फेरि समस्या देखिए भने तिनलाई फेरि हटाउनु पर्छ । यो भयो भने लगानीलाई आकर्षित गर्न सक्छौँ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
लगानी सम्मेलन भनेको एउटा इभेन्टमात्र नभएर यसलाई एउटा यात्राको रूपमा लिनु पर्छ । यसले माहोल सिर्जना गर्छ ।स्वदेशीले सरकारले विदेशीलाई प्राथमिकता दियो भन्ने महसुस गर्नु भएन । नेपालमा लगानीको सम्भावना हुँदाहुँदै जोखिम पनि रहेछ, लगानी नगरौँ कि कि भन्ने विदेशीको सोच चिर्नका लागि हाम्रो तर्फबाट प्रयास गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस