बालेनलाई आक्रोशित बनाउने मन्त्रालयको पत्र र विज्ञप्ति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालेनलाई आक्रोशित बनाउने मन्त्रालयको पत्र र विज्ञप्ति


२२ माघ २०८०, सोमबार


काठमाडौँ । सहरी विकास मन्त्रालयले धरहराको निर्माण सम्पन्न नभइसकेकाले निःशुल्क पार्किङ रोक्न माघ १४ मा काठमाडौँ महानगरपालिकालाई पत्र लेख्यो । मन्त्रालयले महानगरलाई पठाएको पत्रमा निर्माण कार्य सम्पन्न नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा थप सुरक्षा चुनौती हुन सक्ने जनाएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईको पत्रमा निर्माण सम्पन्न नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा निसास्सिएर मानवीय क्षति समेत हुने सम्भावना देखिएको उल्लेख छ । इकाईका अनुसार बाँकी रहेका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधान समेत उत्पन्न हुने र निर्माण व्यवसायीबाट इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माण स्थलमा अनगिन्ती र अनधिकृत व्यक्तिहरू र सवारी साधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्न गई निर्माण सामाग्रीहरूको टुटफुट एवं बनिसकेका संरचनाहरूमा क्षति हुन सक्ने र त्यसको जिम्मेवारी कसले लिने ? भन्ने विषय अन्योल रहेको छ । 

माघ १४ को पत्र कार्यान्वयन नभएपछि मन्त्रालयले माघ १९ मा विज्ञप्ति निकालेर पार्किङ गर्ने कार्य हाललाई स्थगित गर्न भनेको छ । मन्त्रालयका प्रवक्ता बिनु बज्राचार्य कुँवरले जारी गरेको विज्ञप्तिमा निर्माणाधीन धरहराको भूमिगत पार्किङमा काठमाडौँ महानगरपालिकाले निर्माण व्यवसायी, मन्त्रालय, विभाग र आयोजनासँग कुनै समन्वय नै नगरी निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

मन्त्रालयको परिपत्र र विज्ञप्तिपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बनेका छन् । ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?’ बालेनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

तत्कालीन प्रधानमन्त्री ओलीबाट ‘सेतो टावर’ उद्घाटन भएको स्मरण गराउँदै उनले भने, ‘सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु ।’

Tags :
प्रतिक्रिया दिनुहोस