स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग


१८ माघ २०८०, बिहिबार


काठमाडौँ। प्रतिनिधि सभा सदस्यहरूले स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग गरेका छन् । संविधानले आवश्यक कानुन बनाउने, योजना तर्जुमा गर्ने, बजेट छुट्याउने, विकास आयोजनाहरूको अनुगमन गर्ने लगायतका अधिकार स्थानीय तहलाई दिएको छ ।

स्थानीय तहले पाएको यो संवैधानिक अधिकारको प्रयोगको दुरुपयोग भएको र स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो आएको भन्दै प्रतिनिधि सभा सदस्यहरूले निगरानी गर्ने संयन्त्र आवश्यक रहेको बताएका हुन् ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा रहेको ‘अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले भने, ‘कयौँ आयोजना बषौंदेखि अलपत्र छ । अधिकार खोज्ने तर, कार्यान्वयनमा गएपछि त्यसको जिम्मा नलिने, दायित्व बोध नगर्ने प्रवृत्ति छ ।’

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्र नाथ सुक्लले संघ र प्रदेशमा चेक एण्ड ब्यालेन्स (नियन्त्रण र सन्तुलन) का विभिन्न संयन्त्रहरू रहेको तर, स्थानीय तहमा नरहेको बताए ।

विकास आयोजना छनोटमा स्थानीय तहमा सर्वाधिकार रहेको उनको बुझाइ छ ।

साथै, स्थानीय तहको प्रमुखलाई जिम्मेवारी दिने र जिम्मेवारी खोस्ने दुवै अधिकार रहेको भन्दै उनले अनुगमनका लागि छुट्टै संयन्त्र आवश्यक रहेको दोहोर्‍याए ।

एमालेका सांसद बलराम अधिकारीले विकास आयोजना छनोट गर्दा आवश्यकता भन्दा ज्यादा प्रभाव र पहुँच हुने गरेकाले यसलाई रोक्नुपर्ने बताए ।

काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले स्थानीय तहमा काम हुँदै नभएको भन्न नमिल्ने बताए । स्थानीय तहका विकास आयोजना छनोट गर्दा स्थानीयसँग छलफल हुने गरेको आफ्नो अनुभव रहेको पनि उनले बताए । यद्यपि सुधार गर्नुपर्ने ठाउँ रहेको पनि उनको भनाइ छ ।

स्थानीय तहमा भन्दा ज्यादा समस्या प्रदेश सरकारमा आफूले देखेको उनले बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरू स्थानीय तहको अधिकार संविधानमै प्रष्ट भएकाले त्यस अनुसार संघीय कानुन बनाउने विषय सोचनीय रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस